मेडेलिन अल्ब्राइट युद्धउन्मादी थिइन्

बुसको कार्यकालभन्दा पहिले नै अमेरिकाले औसत सातामा तीनपटक इराकमा बमबारी गरिरहेको थियो । यसको श्रेय युद्धउन्मादी अल्ब्राइटमा जान्छ ।

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

८४ वर्षको उमेरमा गत बुधबार निधन भएकी मेडेलिन अल्ब्राइट अमेरिकाको पहिलो महिला विदेशमन्त्री थिइन् । उनका सम्बन्धमा आएका असंख्य समाचार हेडलाइनले उनको काम–कारबाहीलाई लैंगिकताको साँघुरो दायरामा कैद गर्ने जोखिम बढाइदिएको छ । यो उचित होइन, अर्थात् उनको पहिचान पहिलो महिला विदेशमन्त्रीमा मात्रै सीमित छैन । 

अमेरिकी वैश्विक प्रभुत्व कायम राख्नका लागि अन्य पुरुषले झैँ उनले पनि साम्राज्यवादी युद्धोन्मादीको भूमिका खेलेकी थिइन् । उनले महादेशहरूमा विनाश निम्त्याएको शीतयुद्धपछिको नीति निर्माण गर्नमा केन्द्रीय भूमिका निर्वाह गरेकी थिइन् । उनको जीवनी निकै पीडादायी थियो, अर्थात् बाल्यकालमा उनको परिवार नाजी हलोकस्टबाट प्रताडित भएको थियो, जहाँ तीन हजुरबा–हजुरआमासहित उनका २६ आफन्त मारिएका थिए । यो त भयो, उनको कहालीलाग्दो जीवन भोगाइ । तर, उनी आफैँ कैयौँको यातना र मृत्युको कारक बन्न पुगिन् । सन् १९९३ देखि १९९७ सम्म अल्ब्राइटले राष्ट्रसंघकी राजदूतका रूपमा काम गरेकी थिइन् ।

राजदूत रहँदा उनले सद्दाम हुसेनलाई अपदस्थ गर्न इराकी जनताका दुःख–पीडा बढाउने गरी इराकमा खाडीयुद्धपश्चात्का क्रूर प्रतिबन्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । सन् १९९६ मा लेस्ले स्टाहलसँगको अन्तर्वार्तामा अल्ब्राइटले बालबालिकाको मृत्यु अमेरिकी साम्राज्यको मूल्यमा भएको बताएकी थिइन् । ‘हामीले पाँच लाख बालबालिकाको मृत्यु भएको छ भन्ने सुनेका छौँ, अर्थात् यो संख्या हिरोसिमामा मरेका बालबालिकाभन्दा धेरै हो, के यो क्षति व्यहोर्नलायक छ ?’ भन्दै स्टाहलले प्रश्न गरेकी थिइन् । जवाफमा अल्ब्राइटले ‘मलाई लाग्छ यो क्षति बहुत अप्ठ्यारो विकल्प हो, तर क्षति आवश्यक थियो,’ भनेकी थिइन् । उसो त स्टाहलले प्रस्तुत गरेको मृत्युदरको प्रामाणिकतामा प्रश्न उठेका थिए, यद्यपि अल्ब्राइटले सो स्तरको मृत्युलाई पनि सहजै लिन सकिने देखाएकी थिइन् । 

राष्ट्रपति क्लिन्टनका तत्कालीन सेना प्रमुख कोलिन पावेलले अगाडि बढाएको शीतयुद्धपछिको विदेश नीति अर्थात् पावेल डक्ट्रिनअनुसार अमेरिकाले आफ्नो सैन्य हस्तक्षेपलाई राष्ट्रिय स्वार्थलाई खतरामा पारेको परिस्थितिमा मात्रै लागू गर्नुपर्छ भन्ने थियो । अल्ब्राइट यो डक्ट्रिनमा सहमत भइनन् र बोस्नियाजस्ता संकटमा अमेरिकाको भूमिका कस्तो हुनुपर्छ भन्नेमा पावेल र उनीबीच मनमुटाव भएको थियो । पावेलले आफ्नो संस्मरणमा जब अल्ब्राइटले उनलाई ‘यदि हामीले हाम्रा सेनालाई प्रयोग गर्न सक्दैनौँ भने हामीले भनिरहने यो उत्कृष्ट सेना हुनुको अर्थ के हो ?’ भनेर प्रश्न गरेकी थिइन्, तब आफूलाई ‘नसा नै चुँडिएको भान भएको’ उल्लेख गरेका छन् । 

राष्ट्रसंघकी राजदूतका रूपमा अल्ब्राइटले अथक अभियानपछि राष्ट्रसंघका तत्कालीन महासचिव बुत्रोस बुत्रोस घालीलाई पदबाट हटाएकी थिइन् । र, यो दुःखान्त घटनाले शताब्दी अन्त्यको राजनीतिलाई डो¥यायो । अमेरिकाबाहेक अरू सबै मुलुकबाट समर्थित घालीले इजरायलले लेबनानको शरणार्थी शिविरमा गरेको हमला, जसले एक सयजनाको मृत्यु निम्त्याएको थियो, सो हमला नियोजित रहेको भनेर राष्ट्रसंघको प्रतिवेदनमा खुलाएका थिए । नतिजा उनी पदच्युत भए ।

अमेरिकी अधिकारीले रुवान्डा, क्रोएसिया र बोस्नियाको विवादलाई उद्धृत गर्दै प्रतिवेदनको कारणलाई अस्वीकार गरेका थिए । उनले बोस्नियालाई ‘धनीहरूको युद्ध’ भनेर केही पश्चिमा शासक वर्गलाई क्रूद्ध बनाएका थिए । त्यसबाहेक क्याम्प डेभिड सम्झौताका एक निर्माता घालीले अल्ब्राइटको अभियानलाई राष्ट्रसंघविरोधी रिपब्लिकनहरूलाई तुष्टि गर्ने नश्लभेदी र क्षेत्रविभेदी कार्यका रूपमा हेरेका थिए । यी रिपब्लिकन सोमालियामा राष्ट्रसंघीय शान्ति सेनाको त्रुटिगत आक्रमणमा १५ अमेरिकी सैनिकको मृत्युपछि राष्ट्रसंघविरुद्ध लागेका थिए । महासचिव पदच्युत गर्न अल्ब्राइटले घालीलाई भ्रष्टाचारको झुटो आरोप लगाएकी थिइन् । वरिष्ठ पत्रकार एरिक रौल्युले ले मोन्डे डिप्लोम्याटिकमा घालीलाई पदच्युत गराउनुका पछाडि अल्ब्राइटको प्रतिशोध रहेको जनाएका थिए । उनका अनुसार बर्लिनको पर्खाल भत्किएपछि अमेरिकालाई मनलाग्दी ढंगले खाडीयुद्ध गराउने बाटो दिएको थियो र शीतयुद्धको अन्त्य यसरी हुनुमा घालीको असहमति थियो । 

सन् १९९७ देखि २००१ सम्म अल्ब्राइट राष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा विदेशमन्त्री रहिन् । सो चर्चित भूमिकामा रहँदै गर्दा उनले इराकी जनतालाई अकल्पनीय पीडा दिएकी थिइन् । राष्ट्रसंघका सहायक महासचिव डेनिस हलिडेले सन् १९९९ मा प्रतिबन्धविरुद्ध बोल्नका लागि आफ्नो पदबाट राजीनामा दिएका थिए र अमेरिकाले ‘जानीजानी प्रत्येक महिना हजारौँ इराकीलाई मारिरहेको’ बताएका थिए र उनले यो अमेरिकी नीतिलाई ‘नरसंहार’को संज्ञा दिएका थिए । जर्ज डब्लू बुस प्रशासनले इराकमा आक्रमण गर्दा धेरै अमेरिकी चकित भए पनि बुसको कार्यकालभन्दा पहिले नै अमेरिकाले औसतमा सातामा तीनपटक इराकमा बमबारी गरिरहेको थियो । यसको श्रेय युद्धउन्मादी अल्ब्राइटमा जान्छ ।

अल्ब्राइटले पूर्वी युरोपका पूर्वसोभियत मुलुकमा नेटोको विस्तारलाई पनि प्रवद्र्धन गरेकी थिइन् र यो मूर्खतापूर्ण बाटोले रुसलाई शत्रु बनाउँछ भनेर धेरै उच्चस्तरीय कूटनीतिज्ञले चेतावनी दिएका थिए । यही नीतिले गर्दा हालको सम्भावित भयावह आणविक द्वन्द्व र युक्रेनी नागरिकको भयानक नरसंहार निम्त्याएको छ ।

अल्ब्राइट कहिल्यै सेवानिवृत्त भइनन् । जसलाई उनका प्रशंसक उमेरवादलाई अस्वीकार गर्ने व्यक्तिका रूपमा लिन्छन् । तर, यदि उनी चाँडै सेवानिवृत्त भइदिएको भए यो संसारका लागि धेरै राम्रो हुने थियो । उनको परामर्शदाता कम्पनीले फाइजरलाई अन्तर्राष्ट्रिय सम्पत्ति साझा गर्न रोकेको थियो । यदि सम्पत्ति साझा गरिएको भए हालको कोभिड–१९ महामारीको समयमा विश्वभरका धेरैको जीवन बचाउन सकिन्थ्यो । तर, यसले उनलाई मृत्युशड्ढयामा सताएन, किनभने गरिब, गैर–अमेरिकीको मृत्यु अल्ब्राइटका लागि सधैँ यी ‘क्षति’ आवश्यक थियो । ज्याकोबिनबाट 
 

सुझावित समाचार