मन्त्रालयपिच्छे विश्वविद्यालय !

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

खेलकुद मन्त्रालय खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्दै, रक्षा मन्त्रालयले अघि बढायो प्रतिरक्षा विश्वविद्यालय, पर्यटन मन्त्रालयले बनाएको पर्यटन अध्ययन प्रतिष्ठान विधेयक विचाराधीन, स्वास्थ्य मन्त्रालयद्वारा आधा दर्जन प्रतिष्ठान सञ्चालित

सरकारको कार्यविभाजन नियमावलीले शिक्षाको जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिए पनि अन्य विषयगत मन्त्रालय पनि शैक्षिक संस्थादेखि विश्वविद्यालयसम्म स्थापना गर्न कस्सिएका छन् । स्वास्थ्य, रक्षा हुँदै पर्यटन र खेलकुद मन्त्रालयसम्मले विश्वविद्यालय स्थापनाको पहल थालेका छन् । 

रक्षा मन्त्रालयले प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । पर्यटन मन्त्रालयले होटेल व्यवस्थापन तथा पर्यटनसम्बन्धी प्रतिष्ठान (डिम विश्वविद्यालय) स्थापना गर्न प्रक्रिया अघि बढाएको थियो, तर विरोधपछि अहिले सुस्ताएको छ । पछिल्लो समय युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विश्वविद्यालय स्थापनाको तयारी गरेको छ । यसका लागि खेलकुद मन्त्रालयले सम्भाव्यता अध्ययन गरिरहेको छ । यद्यपि, विश्वविद्यालय शिक्षा कि खेलकुद मन्त्रालयमातहत रहने भन्नेमा विवाद छ । 

नियम र अन्तर्राष्ट्रिय अभ्यासविपरीत विभागीय मन्त्री सहकुलपति रहने गरी विषयगत मन्त्रालयहरू विश्वविद्यालय स्थापनाको दौडमा लागेका हुन् । विभागीय मन्त्रालय भएका देशमा प्रायः शिक्षाका काम अन्य मन्त्रालयबाट हुँदैनन् । 

विश्वविद्यालय सञ्चालनका लागि अहिले युवा तथा खेलकुद मन्त्रालयले बजेट विनियोजन गरेर त्रिभुवन विश्वविद्यालयको सिनासमार्फत सम्भाव्यता अध्ययन गरिरहेको छ । ‘खेलकुद विश्वविद्यालयको आदर्श, सञ्चालनको सम्भावना, मोडालिटीलगायत विषय समेटेर चैत मसान्तसम्म प्रतिवेदन आउँछ र त्यसका आधारमा काम अघि बढ्छ,’ खेलकुुद मन्त्रालयका सचिव दामोदर रेग्मीले भने । 

पर्यटन मन्त्रालयले एक वर्षअघि नै पर्यटनमन्त्री सहकुलपति रहने व्यवस्थासहित होटेल व्यवस्थापन तथा पर्यटनसम्बन्धी प्रतिष्ठान (डिम विश्वविद्यालय) खोल्न विधेयक तयार गरी मन्त्रिपरिषद्मा पठाएको थियो । शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, तर सम्बन्धन दिन नपाउने गरी विधेयक तयार गरिएको थियो । तर, तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको असहमतिपछि विधेयक अगाडि बढ्न सकेन, मन्त्रिपरिषद्मै विचाराधीन छ ।

रक्षा मन्त्रालयले सेनाको समन्वयमा शैक्षिक सत्र ०८०/८१ देखि कक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडियू)को भौतिक र प्राज्ञिक तयारी गरिरहेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली, रामराजाप्रसाद सिंह प्रतिष्ठान सञ्चालन गरिरहेको छ । सबै प्रतिष्ठानको सहकुलपति स्वास्थ्यमन्त्री हुने व्यवस्था छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विस्तृत अध्ययनविना नै मन्त्रालयपिच्छे विश्वविद्यालय स्थापना गर्नु ठीक नभएको बताए । ‘उच्च शिक्षामा अब गहन अध्ययन आवश्यक छ । मन्त्रालयअनुसार विश्वविद्यालय चलाउनु ठीक होइन । बरु, उच्च शिक्षा समन्वयका लागि शक्तिशाली आयोग चाहिन्छ । दुई–चारजनाले दबाब दिएर युनिभर्सिटी खोल्नुहुँदैन, विस्तृत अध्ययन जरुरी छ,’ उनले भने । 

शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले सरकारको कार्यविभाजन नियमावलीमा विश्वविद्यालय कार्यक्षेत्र शिक्षा मन्त्रालयभित्र रहेको बताए । ‘शिक्षा मन्त्रालयको कार्यक्षेत्रमा विश्वविद्यालय पर्दछ, यसको समन्वय शिक्षा मन्त्रालयले गर्नुपर्छ,’ उनले भने, ‘स्थापना भइसकेका र अब स्थापना हुने विश्वविद्यालय पनि शिक्षा मन्त्रालयअन्तर्गत हुनुपर्छ ।’ सरकारले कार्यविभाजन गर्नुको कारण रहेको उनले बताए । 

खेलकुद मन्त्रालयका अधिकारीहरू भने खेलकुदको आवश्यकता पूरा गर्न विश्वविद्यालय जरुरी रहेको बताउँछन् । रुचिअनुसार पढ्न, स्वस्थ्य रहन र खेलकुदमार्फत देशकै गौरव बढाउन पनि खेलकुद विश्वविद्यालयको तयारी भएको उनीहरूको भनाइ छ । 

शिक्षा मन्त्रालयको विरोधपछि सुस्तायो पर्यटन अध्ययन प्रतिष्ठान
पर्यटन मन्त्रालयले एक वर्षअघि पर्यटनमन्त्री सहकुलपति रहने गरी होटेल व्यवस्थापन तथा पर्यटनसम्बन्धी प्रतिष्ठान (डिम विश्वविद्यालय) खोल्न विधेयक तयार गरी मन्त्रिपरिषद्मा पठाएको थियो । शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, तर सम्बन्धन दिन नपाउने गरी विधेयक तयार गरिएको थियो । तर, तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको असहमतिपछि विधेयक अगाडि बढ्न सकेन, मन्त्रिपरिषद्मै विचाराधीन छ । अहिले प्रतिष्ठान स्थापनाको विषय ओझेलमा परेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले विश्वविद्यालय मन्त्रालयले नचलाउने बताए । ‘मन्त्रालयले पर्यटन विश्वविद्यालय चलाउने होइन, फेसिलिएसन गर्ने हो,’ उनले भने । 

सेनाको प्रतिरक्षा विश्वविद्यालयका भौतिक र प्राज्ञिक काममा प्रगति
सेनाको समन्वयमा शैक्षिक सत्र ०८०/८१ देखि कक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडियू)को भौतिक र प्राज्ञिक तयारी भइरहेको छ । सरकारले ०७६/७७ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी काम अघि बढाएको हो । विश्वविद्यालयमा पहिलो चरणमा स्नातकोत्तर तहबराबरको नेसनल डिफेन्स कोर्स (एनडिसी) सञ्चालन हुनेछ । विश्वविद्यालयमा रक्षा, गृह र अर्थ मन्त्रालयका सहसचिव तहका अधिकृत पनि अध्ययनमा सहभागी हुन सक्ने गरी पाठ्यक्रमको तयारी भइरहेको छ । 

प्रतिरक्षा विश्वविद्यालयका लागि सरकारले साँगा क्षेत्रमा पर्ने काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ र १४ स्थित पेरुंगे सामुदायिक वन क्षेत्रमा सात सय ५० रोपनी जग्गा उपलब्ध गराएको छ । विश्वविद्यालयमा प्रतिरक्षा अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, रणनीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान र सामाजिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठान रहनेछन् । एनडिसी कोर्स प्रतिष्ठानअन्तर्गत अध्ययन हुनेछ । 

तीन वर्षपछि सेनाको वार कलेज, स्टाफ कलेज एवं तालिम केन्द्रहरू पनि प्रतिष्ठानअन्तर्गत रहनेछन् । यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदेशी सैनिकले पनि अध्ययन गर्न पाउनेछन् । यसमा सैन्य विज्ञान, हतियार, लडाइँ, सुरक्षा, प्रतिरक्षालगायत विषय अध्ययन हुनेछन् । विश्वविद्यालयको सामाजिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानअन्तर्गत भने सेनासहित सर्वसाधारण सबै नागरिकले अध्ययन गर्न पाउने गरी काम अघि बढेको छ । 

स्वास्थ्यमन्त्री सहकुलपति रहने गरी सुरु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान बढेको–बढ्यै
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्री सहकुलपति हुने गरी प्रतिष्ठान (डिम युनिभर्सिटी) स्थापना गरेको छ । चिकित्सा विज्ञान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामराजाप्रसाद सिंह प्रतिष्ठान स्वास्थ्य मन्त्रालयअन्तर्गत छन् । सामान्य कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानमा पनि कुलपति, सहकुलपति, उपकुलपति, रेक्टर, रजिस्ट्रारलगायत पद सिर्जना गरी ठूला विश्वविद्यालयसरह सुविधा लिइरहेका छन् ।

खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन हुँदै, प्रतिवेदन आएपछि अघि बढ्ने
खेलकुद विश्वविद्यालयका स्थापनाका लागि युवा तथा खेलकुद मन्त्रालयले बजेट विनियोजन गरेर त्रिभुवन विश्वविद्यालयको सिनासमार्फत सम्भाव्यता अध्ययन गरिरहेको छ । खेलकुद विश्वविद्यालयको आदर्श, सञ्चालनको सम्भावना, मोडालिटीलगायत विषय समेटेर चैत मसान्तसम्म प्रतिवेदन तयार हुने मन्त्रालयका सचिव दामोदर रेग्मीले बताए । ‘त्यसकै आधारमा काम अघि बढ्छ । खेलकुद विश्वविद्यालय विभिन्न खेलको विषयमा केन्द्रित हुन्छ । जसलाई जे खेलमा रुचि छ त्यो पढ्न पाउनुपर्छ भन्ने यसको उद्देश्य हो,’ उनले भने, ‘प्रतिवेदन आइसकेपछि धेरै विषयमा स्पष्ट हुन्छ । विश्वविद्यालय शिक्षा मन्त्रालय वा खेलकुद कसको मातहतमा रहँदा ठीक हुन्छ त्यो पनि प्रतिवेदनमा आउला ।’ 

सञ्चालित ११ विश्वविद्यालयमा चार लाख ६६ हजार आठ सय २८ विद्यार्थी
अहिले देशभरमा ११ विश्वविद्यालय सञ्चालनमा छन् । विश्वविद्यालय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । विश्वविद्यालय अनुदान आयोगले प्रकाशन गरेको सन २०२१मा प्रकाशन गरेको एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इमिस) रिपोर्ट अनुसार ०७६/७७ अनुसार आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी देशभरमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या चार लाख ६६ हजार आठ सय २८ छ । तीमध्ये झन्डै ८० प्रतिशत अर्थात् तीन लाख ५६ हजार ६ सय ५४ विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन् । देशभरमा आंगिक र सम्बन्धन प्राप्त गरी एक हजार चार सय ३७ क्याम्पस सञ्चालनमा छन् । 

इमिस रिपोर्टअनुसार नेपाल संस्कृत विश्वविद्यालयमा दुई हजार आठ सय २८, काठमाडौं विश्वविद्यालयमा १८ हजार, पूर्वाञ्चलमा २७ हजार पाँच सय २७, पोखरामा ३२ हजार पाँच सय ८४, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ६ सय ६५ विद्यार्थी छन् । त्यस्तै, कृषि तथा वन विज्ञानमा चार हजार चार सय २८, सुदूरपश्चिमाञ्चलमा १० हजार ९७, मध्यपश्चिमाञ्चलमा नौ हजार सात सय ५४, नेपाल खुला विश्वविद्यालयमा एक हजार एक सय ६४, राजर्षि जनक विश्वविद्यालयमा एक सय ८६ विद्यार्थी छन् । यसबाहेक स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गरेका छन् ।

मन्त्रालयपिच्छे विश्वविद्यालय खोल्नु ठीक होइन : केदारभक्त माथेमा पूर्वउपकुलपति, त्रिवि

नेपालमा १६/१७ प्रतिशत विद्यार्थी मात्रै विश्वविद्यालय जान्छन् । यो संख्या धेरै कम हो । विद्यार्थीको पहुँच बढाउने हिसाबले विश्वविद्यालयको संख्या बढ्नु राम्रो हो । उच्च शिक्षामा धेरै परिवर्तन आएको छ, थप अध्ययन गर्नुपर्छ । अध्ययनपछि मात्रै नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्छ । आवश्यक हो–होइन अध्ययन गर्नुपर्छ । नक्सा नकोरी घर बनाउनुभएन । जसले प्रेसर दिन सक्यो उनको काम अघि बढ्ने हुनुहुँदैन । मेडिकल एजुकेसनमा अध्ययनपछि गरेका कामले धेरै परिवर्तन ल्याएको छ ।  मन्त्रालयअनुसार विश्वविद्यालय चलाउनु ठीक होइन । उच्च शिक्षा समन्वयका लागि शक्तिशाली आयोग चाहिन्छ । दुई–चारजनाले दबाब दिएर युनिभर्सिटी खोल्नुहुँदैन । 

सुझावित समाचार