आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा गठबन्धन बनाउने वा एक्लै लड्ने भन्ने विषयमा कांग्रेसभित्र मतभेद देखिएको छ । स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूको गठबन्धनलाई लिएर मत बाझिएको छ ।
सभापति देउवाले भने– एक्लै चुनाव जितिन्छ ?
स्थानीय चुनाव जित्ने भए गठबन्धन नगरौँ । तपाईंहरू जित्न पनि नजित्ने अनि गठबन्धन पनि नगरौँ भन्ने हो भने त गाह्रो हुन्छ । त्यसो हो भने गठबन्धन नगरी चितवनमा एक्लै चुनाव जितेर देखाउनुस् ।
संस्थापन पक्षका नेताहरूले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्ने मत राखेका छन् भने इतर समूहका नेताहरू एक्लै चुनाव लड्नुपर्ने पक्षमा उभिएका छन् । शुक्रबारको बैठकमा २१ केन्द्रीय सदस्य र ६ प्रदेशका सभापतिले धारणा राखेकामा अधिकांशले आवश्यकताअनुसार गठबन्धनमा जोड दिएका छन् ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनबारे केन्द्रीय समिति बैठकले निर्णय लिने जानकारी दिए । ‘केन्द्रीय सदस्यले निर्वाचनमा कांग्रेसको अवस्था र चुनावी अभियानबारे रिपोर्टिङ गरिरहनुभएको छ । धारणा राख्ने केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ,’ उनले भने, ‘गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धनविना जित्ने ठाउँमा गठबन्धन नगर्ने उहाँहरूको मत छ ।’
प्रवक्ता महतले उनले केन्द्रबाट जबर्जस्त निर्णय लाद्न खोजेको भनी गलत प्रचार भएको बताए । उनले स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई हेरेर नै निर्णय लिइने बताए । ‘निर्वाचनमा जाने भनेको बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने हो । त्यो गठबन्धन गरेर जितिन्छ, गठबन्धन हुन्छ । गठबन्धन नगर्दा हुन्छ, गठबन्धन हुँदैन,’ उनले भने, ‘ठाउँपिच्छे फरक–फरक परिवेश छ । सबै ठाउँमा एउटै सिद्धान्त लागू हुँदैन । त्यसैका लागि केन्द्रीय समिति बैठक बसिरहेको छ । त्यहाँबाट निर्णय हुन्छ ।’
कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । अर्को बैठक आइतबारका लागि बोलाइएको छ । स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत २९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।
बैठकमा कसले के भने ?
कृष्णचन्द्र नेपाली पोखरेल– गठबन्धन गर्ने–नगर्ने निर्णय केन्द्रबाट गरेर हुँदैन । स्थानीय आवश्यकताका आधारमा हुनुपर्छ, केन्द्रबाट तोकेर हुँदैन ।
प्रदीप पौडेल– पार्टीलाई बढी लाभ कसरी हुन्छ त्यसअनुसार सोच्नुपर्छ । केन्द्रले गठबन्धनबारे निर्णय लिएर हुँदैन । तल्लो तहलाई नै जिम्मेवारी दिनुपर्छ ।
मोहनबहादुर बस्नेत– गठबन्धन आवश्यकता हो । कांग्रेसको पक्षमा नै छ ।
कर्णबहादुर बुढा– गठबन्धन कांग्रेसकै हितमा छ ।
रमा कोइराला (पौडेल)– स्थानीय आवश्यकता हेरेर पार्टीले निर्णय लिनुपर्छ । भूगोलमा गठबन्धनका नाममा आफ्ना साथीहरूलाई पनि पाखा लगाउन हुँदैन ।
कृष्णकिशोर घिमिरे– समग्र कर्णाली प्रदेशमा हाम्रो आवश्यकता भएका कारण गठबन्धन गर्नुपर्छ । तर, भूगोललाई ध्यान दिनुपर्छ ।
टेकप्रसाद गुरुङ– चितवनको केसमा हामीले धोका पाएका छौँ । केन्द्रबाट गठबन्धन गर्दा मत नआउने अवस्थाबारे सचेत हुनुपर्छ ।
नैनसिंह महर– केन्द्रबाट निश्चित मापदण्ड बनाएर स्थानीय आवश्यकतालाई आधार बनाउनुपर्छ । गठबन्धन बनाउनै परे सरकारमा सम्मिलित दलसँग मात्र गरिनुपर्छ । चुनावमा गठबन्धनको स्थिति निर्माण गर्दा आफ्नै साथी रिसाएर भुइँको टिप्दा खल्तीको फुत्किने अवस्था सिर्जना हुन हुँदैन ।
गोविन्दबहादुर शाह– गठबन्धन गरेरै अगाडि जानु कांग्रेसको हितमा छ ।
दिलमान पाख्रिन– गठबन्धन गरेरै जानु उपयुक्त हुन्छ ।
रामहरि खतिवडा– एक्लै लड्न गाह्रो अवस्था पनि छ । गठबन्धन गरेर जानुपर्छ ।
मुक्ताकुमारी यादव– गठबन्धनबारे केन्द्रले निर्णय गरेर हुँदैन । स्थानीय तहले आवश्यकताका आधारमा निर्णय गर्न पाउनुपर्छ ।
सरस्वती अर्याल तिवारी– गठबन्धनबाट कांग्रेसलाई थप उपलब्धि नै हुन्छ । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा छ ।
हरिशरण नेपाली– गठबन्धन पहिला पनि गरिएको हो । तर, पहिलाको अभ्यास गठबन्धन गरेर पनि भोट नहालेको अवस्था छ ।
जानकी सिंह– स्थानीय अवस्थाका आधारमा गठबन्धनबारेको अधिकार हुनुपर्छ ।
प्रा.डा. गोविन्दराज पोखरेल– कम्युनिस्टहरू कमजोर भएको अवस्थामा पनि कांग्रेस एक्लै निर्वाचन नलडे कहिले लड्ने ? कम्युनिस्टहरूले जितेर पनि केही गर्न सकेनन् भन्ने आमजनमानसमा परेको अवस्थामा पनि कांग्रेस एक्लै लड्न डराउनु कांग्रेसमाथि नैतिक प्रश्न पनि हो । गठबन्धनबारे केन्द्रले निर्णय नगरौँ ।
अजयबाबु सिवाकोटी– मैले मुस्ताङ जिल्लाको रिपोटिङका आधारमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने रिर्पोटिङ गरेको छु। त्यहाँ माओवादी केन्द्र र एकिकृत समाजवादीको उपस्थिति अत्यन्तै कमजोर छ। मुख्य प्रतिस्पर्धा एमालेसँग हुने देखिन्छ। मुस्ताङमा गठबन्धन आवश्यक नभएको स्थानीय तहको म्यासेज केन्द्रलाई दिएको छु।
मदनकृष्ण श्रेष्ठ– पार्टीले हितअनुकूल निर्णय लिनुपर्छ ।
दिनेश कोइराला– नेकपा एक हुँदा धरान उपमहानगरपालिकाको उपचुनाव जितेका थियौँ । चितवनमा तालमेल हुँदैन । केन्द्रबाट यसबारे निर्णय हुन सक्दैन । हामी तालमेलको पक्षमा छैनौँ । विगतमा पनि केन्द्रबाट तालमेल गर्दा कांग्रेसलाई मत नआउने अवस्था आयो ।
सीताकुमारी राना– स्थानीय आवश्यकतालाई आधार मान्नुपर्छ ।
शान्ति परियार– पार्टीले वस्तुस्थिति हेरेर उपयुक्त निर्णय लिनुपर्छ ।
चार प्रदेश सभापति गठबन्धनको पक्षमा, दुई विपक्षमा
आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर कांग्रेस प्रदेश सभापतिहरूले मिश्रित रिपोर्टिङ गरेका छन् । शुक्रबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा बोलेका ६ प्रदेशका सभापतिमध्ये चारले गठबन्धनको पक्षमा र दुईले विपक्षमा मत राखेका छन् । शुक्रबारको बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यको रुपमा बैठकमा बोल्ने समय दिइएको थियो। प्रदेश सभापतिहरुले गठबन्धन किन गर्ने? गर्दा नगर्दाको अबस्था र केन्द्रबाटै गठबन्धनबारे निर्णय गर्ने या स्थानीय आवश्यकताअनुसार गर्ने भन्नेबारे नेतृत्वले सोचेर निर्णय लिनुपर्ने सुझाव दिएका थिए। त्यस्तै कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादी केन्द्रको प्रस्तावअनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस निल हुने धारणा राखे। माओवादी केन्द्रले निर्वाचनमा गठबन्धन गर्दा आफूले जितेका स्थानीय तह आफूसँगै राखेर एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नुपर्ने प्रश्ताव गरेको भन्दै त्यसो गरे कर्णालीका धेरै जिल्लामा कांग्रेसको अबस्था शून्य हुने बताएका थिए। ‘माओवादीले निर्वाचनमा गठबन्धन गर्दा आफूले जितेका स्थानीय तह आफूसँगै राखेर एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नुपर्ने प्रश्ताव गरेको छ। त्यसो गरे कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने अबस्था छ,’बैठकमा कांग्रेस कर्णाली प्रदेशका सभापति शाहीले भनेका थिए। शुक्रबार सुदुरपश्चिम प्रदेश बाहेकका सभापतिहरुले आफ्नो धारणा राखेका थिए। कांग्रेस सुदुरपश्चिम सभापति बिरबहादुर बलायर भने बैठकमा सहभागि भएका थिएनन। बैठकमा सहभागी प्रदेश १ का सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव,बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले भने निर्वाचनमा केन्द्रबाट गठबन्धन गर्न नहुने पक्षमा जोड दिँर्दै स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए।
रामचन्द्र पौडेलले देखाए इतर समूहको नेतृत्व लिने चाहना
कांग्रेस नेता रामचन्द्र पौडेलले आफूलाई संस्थापनइतर समूहको नेताका रूपमा उभ्याउने प्रयास थालेका छन् । अहिले इतर समूहको नेतृत्व १४औँ महाधिवेशनमा सभापतिमा पराजय भोगेका डा. शेखर कोइरालाले गरेका छन् । महाधिवेशनपछि पहिलोपटक जिल्ला सभापति र केन्द्रीय सदस्यहरूको बैठक राखेर पौडेलले आफू इतर पक्षमै रहेको र मूल नेता आफैँ नै भएको सन्देश दिन खोजेका छन् ।
भ्रातृ संस्थामा भएका पछिल्ला नियुक्तिमा शेखरको असन्तुष्टि
इतर समूहका नेता डा. शशांक कोइरालाले भ्रातृ संस्थामा भएका पछिल्ला नियुक्तिलाई लिएर सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि राखेका छन् । सभापति देउवालाई भेटेका कोइरालाले इतर समूहमा समानान्तर समिति बनाउन दबाब रहेको जनाउ दिएका छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार जवाफमा सभापति देउवाले आफूले बाँकी रहेका नियुक्तिमा असन्तुष्टिलाई समेटेर लैजाने बताएका थिए । बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।
स्थानीय चुनाव जित्ने भए गठबन्धन नगरौँ । तपाईंहरू जित्न पनि नजित्ने अनि गठबन्धन पनि नगरौँ भन्ने हो भने त गाह्रो हुन्छ । त्यसो हो भने गठबन्धन नगरी चितवनमा एक्लै चुनाव जितेर देखाउनुस् ।