देउवा गठबन्धनका लागि प्रस्ट : तीनै तहको निर्वाचनमा गठबन्धन बनाउने मार्गचित्र तयार

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

निर्णायक चरणमा पार्टीभित्र सर्वसम्मत निर्णय गराउने देउवाकाे तयारी

चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र मत देखिए पनि सभापति शेरबहादुर देउवा भने स्पष्ट मार्गचित्रसहित अगाडि बढेका छन् । कांग्रेस सभापति देउवाले आसन्न तीनै तहको निर्वाचनमा गठबन्धन बनाउने मार्गचित्र तयार पारेका छन् । प्रधानमन्त्री देउवाले साझेदार दललाई आश्वस्त पार्ने, सार्वजनिक अभिव्यक्ति दिएर त्यसको माहोल बनाउने र निर्णायक चरणमा पार्टीभित्र सर्वसम्मत निर्णय गराउने तयारी गरेका छन् ।

एमसिसी अनुमोदन भएपछि १९ फागुनमा बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले साझेदार दलहरूलाई तीनै तहको निर्वाचनमा मिलेर जानेमा आश्वस्त पारेका थिए । देउवाले सार्वजनिक रूपमै गठबन्धन चुनावसम्मै कायम रहने अभिव्यक्ति दिएका छन् ।

२६ फागुनमा वीरगन्जमा आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरणमा देउवाले भनेका थिए, ‘हामीले अहिले गठबन्धनको सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि गठबन्धनको सरकार बनाएर रहिरहन सक्छौँ । अहिलेको संविधानअनुसार कुनै पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन । कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ ।’

साझेदार दललाई आश्वस्त र सार्वजनिक अभिव्यक्तिमार्फत गठबन्धनको औचित्य पुष्टि गर्दै प्रधानमन्त्री देउवा पार्टीभित्र सबै मतको मन्थन सकाएर सर्वसम्मत निर्णय जुटाउने पक्षमा छन् । देउवालाई पार्टीनिकट नेताहरूले ‘एमालेले जितेका ठाउँमा कांग्रेसले गठबन्धनको सहयोगले जित्छ, कांग्रेसले जितेका ठाउँ फेरि कांग्रेसले नै जित्छ । समग्रमा गठबन्धन कांग्रेसकै पक्षमा हुन्छ, त्यसैले यसमा अगाडि जान’ सुझाएका छन् ।

See More On

सुझावित समाचार