मुसिकोट सबस्टेसन सञ्चालनमा

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत् रहेकोले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् ।

उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन्। उनले भनिन्, ‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौँ, वर्षाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत् भारत निर्यात गर्न थालेका छौँ, थप विद्युत् निर्यातका लागि भइरहेका पहल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।’

अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्वऊर्जामन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।

सल्यान शीतलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत् लगेर सबस्टेसन सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३ एमभिए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ ।

सुझावित समाचार