उज्यालो संसार हेरूँला भन्ने कल्पनासम्म नगरेका रामेछाप दोरम्बाका १० जना बा–आमालाई आइतबार बिहान नसोचेको खुसी मिल्यो । दोरम्बा शैलुङ– २ स्थित काकलिङ माध्यमिक विद्यालयको प्रांगणमा जब उनीहरूको ज्योति उघ्रियो, कोही खुसीले नाच्न थाले, कसैको हर्षका आँसु बग्न थाल्यो ।
तेज कोहिल एन्ड रुइत फाउन्डेसनले दोरम्बामा बिहीबारदेखि शनिबारसम्म गरेको तीनदिने नि:शुल्क आँखा शिविरमा तीन सय ३३ जनाको मोतियाबिन्दुको सफल उपचार भएको तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेल लामाले जानकारी दिए । तिलगंगा आँखा अस्पतालकै जनशक्ति तथा प्राविधिकको सहयोगमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो ।
फाउन्डेसनका संस्थापक डा. सन्दुक रुइतको प्रत्यक्ष सहभागितामा बिरामीको उपचार भएको छ । शिविर अनुगमन गर्न फाउन्डेसनका सहसंस्थापक तेज कोहिल पनि बेलायतबाट काठमाडौं हुँदै दोरम्बा आइपुगेका थिए ।
तस्बिर सौजन्य : पंकज थापा