रुसले युक्रेनमा अतिक्रमण सुरु गरेयता सारा विश्व युक्रेनी जनताको बहादुरी र धैर्यलाई विस्मयसाथ हेरिरहेका छन् । एकजना रुसी सेना मात्रैले पनि युक्रेनी भूमिमा पाइला टेक्दा हजारौँ नागरिक आफ्नो जन्मभूमिको रक्षाका लागि भीमकाय सेनाविरुद्ध लड्न सेनामा भर्ती भए । भारी बमवर्षाले मुलुकका सैन्य एवं अन्य पूर्वाधार तथा बस्तीलाई तहसनहस बनाउँदा पनि त्यहाँका बहादुर सेना र जनताले प्रतिरोध छाडेका छैनन् ।
आत्मसम्मान र नायकत्वको प्रदर्शनलाई विश्वभरिका नेता तथा कूटनीतिज्ञले सराहना गरेका छन् । यसरी सराहना गर्नेमा इजरायलका विदेशमन्त्री यायेर लेपिड पनि छन् । धेरैले उनको सराहनामाथि खासै चासो देखाएका छैनन् र बाँकीले शान्ति एवं ऐक्यबद्धताका नाममा राजनीति गरेको भनेर खारेज गरेका छन् । तर, इजरायली अतिक्रमण र राज्यको अपर्थाइड व्यवहारमा बाँच्न अभिशप्त प्यालेस्टिनीका लागि युक्रेन मामिलामा लेपिडको सराहना नांगो पाखण्डको प्रदर्शनी हो ।
इजरायलका आफ्नै कर्तुतका बाबजुद आएको यो पाखण्ड विदेशमन्त्रीले मात्रै देखाएका छैनन् । हजारौँ इजरायली जनता तेल अभिभमा ‘युक्रेनका पक्षमा’ उभिएका छन् । प्रदर्शनकारीले युक्रेनको झन्डा फहराउँदै ‘स्वतन्त्र युक्रेन’को नारा लगाउँदा सहरमा रहेका प्यालेस्टिनी हेरेका हेर्यै रहे । किनभने इजरायली जनताले सडकमा कहिल्यै ‘स्वतन्त्र प्यालेस्टाइन’ वा कमसेकम इजरायली अपर्थाइड सत्तामा बाँच्न अभिशप्त प्यालेस्टिनीको अधिकारका पक्षमा नारा लगाएका छैनन् । वास्तवमा यदि कुनै प्यालेस्टिनीले इजरायली सहरमा आफ्नो झन्डा फहराउँदै ‘स्वतन्त्र प्यालेस्टाइन’को नारा लगाउँछ भने तुरन्तै गिरफ्तार हुन्छ र यातना भोग्छ वा थप क्रूरता झेल्न पुग्छ ।
प्यालेस्टिनीलाई इजरायली अधिकारी वा जनताको पाखण्डले मात्रै स्तब्ध बनाएको छैन । प्यालेस्टिनी जनता रुसी आक्रमणपछि वैश्विकस्तरमा आन्तरीकरण भएको पाखण्डको मुकुण्डो उघारिँदा पनि स्तब्ध भएका छन् । युक्रेन कहिल्यै वास्तविक मुलुक थिएन र त्यहाँको भूमि रुसी भूमि हो भन्दै रुसले गरेको अतिक्रमणलाई पश्चिमा नेता, मिडिया, संगठन र संस्थाले बडो खुलस्त ढंगले ‘विस्तारको अवैधानिकता’, ‘कब्जामा परेका मानिसको सशस्त्र संघर्षको अधिकार’, ‘सार्वभौमसत्ता र राष्ट्रिय स्वायत्तता’लगायत विषयमा बोलिरहेका छन्, जुन उनीहरूले कहिल्यै प्यालेस्टिनी जनाताको रक्षा र तिनका दशकौँ लामो संघर्षविरुद्ध गम्भीरतापूर्वक अगाडि सारेनन् ।
पछिल्ला साता प्यालेस्टिनी जनता सारा विश्वले स्वयं प्यालेस्टिनीलाई नै अपराधी बनाइरहेका थिए भन्ने थाहा पाएर थप स्तब्ध भएका छन् । हाम्रो भूमिमा जे–जस्तो भोगे पनि हामीले हाम्रो मुलुकमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ र काम गर्छ भन्ने थाहा पायाैँ । राज्यलाई अर्काको भूमिमा आक्रमण हुँदा हस्तक्षेप गर्ने क्षमता र इच्छा हुन्छ भन्ने थाहा पायौँ । हामीले आक्रमणकारी राज्यमाथि प्रतिबन्ध लगाउन सकिन्छ र यस्तो प्रतिबन्ध नश्लभेदी हुँदैन भन्ने पनि थाहा पायौँ । हामीले नागरिकको हताहती हुनु केवल संख्या मात्रै नभई ती जीवन्त मानिससँग सम्बन्धित घटना हुन् भन्ने थाहा पायाैँ । र, हामीले नेता, बौद्धिक, विश्लेषक र आफ्नै उत्पीडक एवं विस्तारकबाट राज्य कब्जाविरुद्धको संघर्ष ‘आतंकवाद’ नभई अधिकार हो भन्ने पनि थाहा पायौँ ।
पछिल्ला सातामा पत्रिका, वेबसाइट र सामाजिक सञ्जाल युक्रेनी जनताका ‘नायकत्व एवं प्रतिरोध’का कथाले निसंकोच भरिएका छन् । समाचार संस्थाले युक्रेनी जनताले रुसी सेनामाथि गरेको ‘मोलोटभ ककटेल’ (पेट्रोल बम) आक्रमणका प्रेरक कथा छापेका छन् । अर्कातिर बेदखल भएका प्यालेस्टिनी जनताले इजरायली अतिक्रमणकारीमाथि प्रहार गरेको मोलोटभ ककटेललाई कहिल्यै प्रशंसा गरेनन् अर्थात् त्यही काम युक्रेनीले गर्दा नायकत्व र प्यालेस्टिनीले गर्दा आतंक बनेको छ ।
पछिल्ला साता युरोपेली जनताले खुला हृदयसाथ युक्रेनी शरणार्थीलाई स्वागत गरेको देखियो । र, त्यहीँका नेताले इजरायली अवैधानिक अतिक्रमण र अपर्थाइडबाट लखेटिएका दसौँ लाख शरणार्थीलाई उपद्रवी र शान्ति व्यवस्थामा खलल पुर्याउने तत्वका रूपमा हेरे । आज यिनै नेता विस्तारवादी शक्तिबाट लखेटिएका युक्रेनी शरणार्थीलाई आश्रय दिने बताइरहेका छन् । यो प्यालेस्टिनी जनताको मात्रै नभई उपनिवेशवादी र साम्राज्यवादी हिंसा एवं उत्पीडन भोगेका थुप्रै अफगान, यमनी, इराकी, सिरियाली, लिबियाली, कास्मिरी र अन्य क्षेत्रका जनताको पनि आभास हो भन्नेमा म निश्चिन्त छु ।
केही सातायता थुप्रै मानिसले ‘प्यालेस्टाइन, यमन, लिबिया वा इराक’का मुद्दा पनि उठाउनुपर्छ भन्दै पाखण्ड उजागर गर्नेलाई तथाकथित विद्वान् रुसबाट परिचालित ‘ह्वाटएबाउटिस्ट’ अर्थात् ‘एक गलत कामलाई सामान्यीकरण गर्न अर्को गल्ती देखाउने प्रवृत्ति भएका’ भनिरहेका छन् । तर, ‘ह्वाटएबाउटिस्ट’को आरोप लगाउने तथाकथित बौद्धिकलाई पुरा आत्मविश्वाससाथ सबै किसिमका सैन्य आक्रामकता, विस्तारवाद र उत्पीडनविरुद्ध बोल्नका लागि सबैभन्दा उपयुक्त समय अहिले नै हो भन्न चाहन्छु । शक्तिशाली पश्चिमा मुलुक, अन्तर्राष्ट्रिय मिडिया र इजरायली शासकले समेत युक्रेन मामिलामा विस्तारवादविरुद्ध बोलेको र प्रतिरोधलाई जायज हो भन्ने स्विकारेको अवस्थामा प्यालेस्टाइन, यमन, लिबिया, इराक, अफगानिस्तान, कस्मिरलगायत मुद्दामा छलफल हुनु आवश्यक छ । आतंकवाद र बहादुरी पर्यायवाची शब्द बनेका छन्, किनभने हामी हाम्रा उत्पीडकविरुद्ध लड्दा आतंकवादी कहलिन्छौँ भने युक्रेनी जनताले यस्तै काम गर्दा उनीहरूको बहादुरीको महिमा गान गाइन्छ ।
हामी सबै उत्पीडितका संघर्षमा एक ठाउँमा छौँ किनभने हामी आफैँ उत्पीडित हाैँ । पछिल्ला सातामा प्यालेस्टिनी संघर्षलाई आतंक देख्ने नेता तथा मिडियाले आफ्नो जन्मभूमिका लागि लड्नु ठीक हो भनेको देखियो । वास्तवमा तपाईंहरू अतिक्रमणकर्ताको अनुहार हेरेर व्यवहार गर्नुहुन्छ । हामी यो रबैयालाई ठाडै गलत मान्छौँ । सम्भवतः हामी पनि ‘तुलनात्मक रूपमा सभ्य छौँ कि ?’ अलजजिराबाट