युक्रेनमाथिको आक्रमणलाई जायज ठहर्याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्पादन गरेका झुटमध्ये युक्रेन र त्यहाँको नेतृत्वबाट ‘नाजी उन्मूलन’ गर्ने विचित्रको दाबी पनि हो । छिमेकी मुलुकको भूमिमा बख्तरबन्द गाडी र लडाकु विमान प्रवेश गराउँदा पुटिनले यो कारबाही ‘प्रताडना एवं नरसंहारबाट पीडित जनतालाई जोगाउनु’ रहेको बताएका थिए, जहाँ उनले ‘युक्रेनको निःशस्त्रीकरण र त्यहाँबाट नाजी उन्मूलन गर्न रुसले प्रयास गर्ने’ बताएका थिए ।
पुटिनको दाबी बेतुके छ । बेतुके यसकारण छैन कि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यहुदी हुन् र उनका परिवारका सदस्य दोस्रो विश्वयुद्धमा मारिएका थिए । र, हालका दिनका युक्रेनमा आमनरसंहार वा जातीय सफाया भएको प्रमाण पनि छैन । त्यसबाहेक शत्रुलाई नाजी करार गर्नु रुसको सामान्य राजनीतिक हत्कण्डा हो । विशेषतः दुष्प्रचार अभियान चलाउने र दोस्रो विश्वयुद्धका वेलाका शत्रुविरुद्ध राष्ट्रवादी बदला भावना जगाउने नेताले यस्ता हत्कण्डा अपनाउँछन् ।
पुटिनले प्रोपोगान्डा फैलाए पनि वास्तवमा युक्रेनमा नाजी समस्या पहिले पनि थियो र अहिले पनि छ । पुटिनको झुटका बाबजुद युक्रेनको यहुदीद्वेषी इतिहास तथा हिटलरका नाजी सेनासँगको सहकार्य र अहिलेको नव–नाजी तप्काको फैलावटलाई अस्वीकार गर्नु घातक हुनेछ । दोस्रो विश्वयुद्धअगाडि युक्रेन युरोपकै सबैभन्दा बढी यहुदी समुदायको आश्रयस्थल थियो, अर्थात् करिब २७ लाख यहुदी घर थियो । युक्रेनमा वर्षौंदेखिको यहुदीद्वेष र जातीय हिंसाका बाबजुद पनि यहुदीको जनसंख्या २७ लाख हुनु असाधारण थियो । र, दोस्रो विश्वयुद्धको अन्त्यसम्म आधाभन्दा बढी यहुदीको सफाया गरियो । सन् १९४१ मा जब जर्मन सेनाले राजधानी किभलाई नियन्त्रणमा लिएपछि सेनालाई ‘हेल हिटलर’ अर्थात् ‘हिटलर विजयी रहून्’ भन्ने नारासाथ स्वागत गरिएको थियो । लगत्तै ३४ हजार यहुदी एवं रोमा र अन्य ‘अवाञ्छनीय’ तत्वलाई सहरबाहिर खेदेर हत्या गरिएको थियो, जसलाई अहिले ‘हलोकस्ट बाई बुलेट्स’ भनेर सम्झिइन्छ ।
‘बाबिन यार’ खाल्डो दुई वर्षसम्म सामूहिक चिहान बनिरह्यो । यो खाल्डो अस्विच र अन्य मृत्यु शिविरबाहिरको सबैभन्दा ठूलो नरसंहार भएको ठाउँ थियो, जहाँ करिब एक लाख मानिसको हत्या गरिएको थियो । शोधकर्ताहरूका अनुसार सो नरसंहारमा स्थानीयले नाजीलाई महत्वपूर्ण रूपमा सघाएका थिए । हाल युक्रेनमा ५६ हजारदेखि एक लाख ४० हजार यहुदी छन्, जो आफ्ना बाजे पुस्ताले कल्पना नगरेको स्वतन्त्रता र सुरक्षाको उपभोग गर्न पाउँछन् । सुरक्षा प्रबन्धमा यहुदीद्वेषलाई अपराध बनाउने गरी अघिल्लो महिना बनाइएको कानुन पनि पर्छ । दुर्भाग्य यो कानुन बढ्दो सार्वजनिक घृणाका कारण आएको हो । जसमा, यहुदी प्रार्थनास्थल र स्मृतिभवनलाई स्वस्तिकधारीका हुलहुज्जत, किभलगायत विभिन्न सहरमा तत्कालीन नाजी सेनाको गण ‘वाफेन एसएस’लाई लिएर उत्सव मनाइनु आदि पर्छन् ।
त्यसबाहेक युक्रेनले केही वर्षयता नाजी सहयोगीको छवि बनाएका युक्रेनी राष्ट्रवादीका असंख्य मूर्ति ठड्याएका छन् । फरवार्ड दैनिकले यी निन्दनीय मूर्तिलाई अभिलिखित गरेको छ । ‘युक्रेनमा नाजी साझेदार एवं समर्थकलाई देवत्वकरण गरेर यति धेरै मूर्ति र सडक निर्माण गरिएका छन्, जसका लागि दुई विकिपिडिया आवश्यक देखिन्छ’ फरवार्डमा उल्लेख गरिएको छ ।
चरम दक्षिणपन्थी समूहले पनि पछिल्लो दशकमा उल्लेखनीय राजनीतिक लोकप्रियता पाए र यो लोकप्रियतामा स्भोबोडा (पहिले सोसियल नेसनल पार्टी अफ युक्रेन) सबैभन्दा अगाडि छ । स्भोबोडाका नेताले युक्रेनलाई ‘मस्कोपरस्त यहुदी माफिया’ले चलाइरहेको बताएका थिए र पार्टीका उपाध्यक्षले युक्रेन मूलका कलाकार मिला कुनिसलाई यहुदीद्वेषी अपमानजनक शब्द प्रयोग गरेका थिए । स्भोबोडाले युक्रेनी संसद्मा थुप्रै सांसद पठाएको छ, जहाँ एक सांसदले यहुदी नरसंहार ‘हलोकस्ट’लाई मानव इतिहासकै ‘चहकिलो समय’ भनेका थिए ।
पुटिनले जसरी युक्रेनी जनतामाथि धाबा बोलेर त्यहाँको भूमिलाई आगोका लप्कामा झोसिरहेका छन्, त्यसले नाजी को हो भनेर प्रस्टै देखाउँछ
माथि उल्लेख गरिएझैँ विचलित पार्ने अर्को तथ्य के हो भने युक्रेनका केही स्वयंसेवक सैन्य गणमा बढ्दो रूपमा नवनाजी माथिल्लो ओहदामा पुगिरहेका छन् । सन् २०१४ मा पुटिनले क्रिमिया कब्जामा लिँदा यी नवनाजीलाई पूर्वी युक्रेनमा मस्को परिचालित अलगाववादीसँगको सडक भिडन्तले युद्धका लागि पोख्त बनाइदिएको छ । यी गणमध्ये एजोभ बटालियनलाई एक कट्टर श्वेत सर्वोच्चतावादीले स्थापना गरेका हुन्, जसको राष्ट्रिय उद्देश्य भनेको यहुदी र अन्य तल्लो नश्लबाट मुलुकलाई मुक्त गराउनु रहेको छ । सन् २०१८ मा अमेरिकी कांग्रेसले युक्रेनलाई दिइने अनुदान सहयोगलाई ‘एजोभ बटालियनलाई हतियार, तालिम वा अन्य सहयोग दिन’का लागि प्रयोग गर्न नसकिने बताएको थियो । यति हुँदा पनि एजोभ युक्रेनको सुरक्षा संयन्त्र नेसनल गार्डको आधिकारिक सदस्य हो ।
यी विचलित गराउने सन्दर्भले पनि युक्रेनी जनतामाथि बर्सिएको कहरलाई जायज ठहर्याउन सकिँदैन र पुटिन नवनाजी तत्वका कारण युक्रेनमाथि हमला गर्न प्रेरित भएका हुन् भन्ने कुनै आधार छैन । वास्तवमा पुटिनका कारण ओडेसा, खार्किभ र पूर्वी क्षेत्रका अन्य सहरमा बसोवास गरिरहेका नागरिक अत्यधिक भयमा बाँच्न अभिशप्त छन् । यी यहुदीमध्ये केही प्रार्थनागृहमा शरण लिइरहेका छन् भने केही विदेशी मुलुकमा शरण खोजिरहेका छन् ।
मेरा आफ्नै बाजे–बज्यै प्रताडनाबाट जोगिन पश्चिम युक्रेनबाट पलायन भएका थिए र यो दुःखद दुष्चक्र अहिले पनि चलिरहेकै छ । यदि युक्रेन अराजकता एवं गृहयुद्धमा झोसिन्छ भने यहुदी फेरि त्यहाँका नागरिकबाट असुरक्षित हुनेछन् । यो खतरालाई अस्वीकार गर्नु यहुदीको रक्षामा धेरै कम काम गरिएको हो भन्ने बुझ्नुपर्छ ।
केही तत्व इतिहासकै सबैभन्दा घृणास्पद अभियानमा लागे पनि यो परिस्थितिमा निसंकोच युक्रेनका पक्षमा हामीले उभिनुपर्छ । हाल पुटिनले जसरी युक्रेनी जनतामाथि धाबा बोलेर त्यहाँको भूमिलाई आगोका लप्कामा झोसिरहेका छन्, त्यसले नाजी को हो भनेर प्रस्टै देखाउँछ ।
एनबिसी न्युजबाट