स्थानीय तह निर्वाचनमा कांग्रेस रणनीति : गठबन्धनको ढोका खुला राख्ने, परिस्थिति हेरेर निर्णय लिने

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल कांग्रेसले स्थानीय तहमा चुनावी गठबन्धनको ढोका खुला राख्ने र परिस्थिति हेरेर निर्णय लिने रणनीति अंगीकार गरेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एकमहिने चुनावी अभियानमार्फत देशभर कार्यकर्ताको ‘मुड’ बुझ्ने र हरेक पालिकामा पार्टी शक्तिको मूल्यांकन गरेर आवश्यक ठाउँमा गठबन्धन बनाउने दाउमा छन् । प्रधानमन्त्री देउवाले गठबन्धनलाई चिढ्याउने गरी अभिव्यक्ति नदिन पार्टी नेताहरूलाई निर्देश गरिसकेका छन् । तीनै तहको निर्वाचनमा वामपन्थी धु्रवीकरण नहोस् भन्नेमा प्रधानमन्त्री देउवाको खास चासो छ । उनले सत्ता साझेदार दलबीच गठबन्धनको सम्भावना कायमै रहेको बताइरहेका छन् । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भन्छन्–

पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबारे समय आएपछि निर्णय गर्छ, उचित बाटो तय गर्छ । अहिले पार्टीका नेता या गठबन्धनसम्बद्ध दलका नेताले बाहिर राखेको धारणाको कुनै अर्थ छैन । देशको परिस्थिति, गठबन्धन सरकारको भविष्यलगायत तत्कालीन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे निर्णय लिइन्छ ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेस नेताहरूले अवस्था हेरेर तालमेलबारे निर्णय गर्ने जानकारी दिएका छन् । एकमहिने चुनावी अभियान ‘घरघर जाऊँ कांग्रेस जिताऊँ’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र प्रवक्ताले उचित समयमा गठबन्धनबारे पार्टीले संस्थागत निर्णय लिने बताए । 

चुनावी गठबन्धनबारे अहिले नै निष्कर्षमा पुग्नु हतार हुने र उचित समयमा निर्णय लिइने उपसभापति पूर्णबहादुर खड्काले बताए । २९ फागुनदेखि २९ चैतसम्म चल्ने चुनावी अभियानमा गठबन्धनबारे कुनै छलफल नहुने उपसभापति खड्काको भनाइ छ । ‘पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबारे समय आएपछि निर्णय गर्छ, उचित बाटो तय गर्छ,’ सभापति देउवानिकट मानिने उपसभापति खड्काले भने, ‘अहिले पार्टीका नेता या गठबन्धनसम्बद्ध दलका नेताले बाहिर राखेको धारणाको कुनै अर्थ छैन । देशको परिस्थिति, गठबन्धन सरकारको भविष्यलगायत तत्कालीन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे निर्णय लिइन्छ ।’ 

प्रवक्ता डा. प्रकाशशरण महतले उम्मेदवारी दिने समयमा सत्ता साझेदार दलहरूको निर्णय र कांग्रेसको आवश्यकता हेरेर गठबन्धनबारे निर्णय गरिने बताए । ‘अहिले गठबन्धनका विषयमा चर्चा–परिचर्चा गरिरहनु आवश्यक छैन । जतिवेला उम्मेदवार उठाउने वेला आउँछ, त्यसवेला गठबन्धनमा रहेका अरू दलले पनि यसबारे निर्णय गर्नेछन्,’ प्रवक्ता डा. महतले भने, ‘त्यसवेला आवश्यकता हेरेर कांग्रेसलाई बढीभन्दा बढी फाइदा हुने गरी गठबन्धनबारे निर्णय गर्नेछौँ ।’

प्रवक्ता महतले पनि केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन बैठकमार्फत गठबन्धनबारे सर्वसम्मत निर्णय लिइने बताए । ‘गठबन्धनबारे केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल हुन्छ । पार्टीको निष्कर्षभन्दा अगाडि अहिले गठबन्धन हुन्छ कि हुन्न ? तालमेल हुन्छ कि हुन्न ? हामी छलफल गर्दैनौँ,’ उनले भने, ‘त्यो अपरिपक्व हुन्छ । चुनावी तालमेल सम्बन्धमा हामी सर्वसहमतिले एउटा निर्णय गर्छौँ र जनताको बीचमा जान्छौँ । यसबाहेक कांग्रेस अल्मलिने पक्षमा छैन ।’

कांग्रेसको संस्थापनइतर समूह पनि स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्न सकिने पक्षमा छ । कांग्रेसले विधानअनुसार समिति बनाएर स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गरिने बताएको छ । यसअघि १९ फागुनमा बसेको गठबन्धनको बैठकमा चुनावी गठबन्धनका लागि पहिला आ–आफ्नो पार्टीमा छलफल गर्ने र त्यसपछि गठबन्धनभित्र गृहकार्य गर्ने सहमति बनेको थियो । 

कांग्रेसले आठ एजेन्डासहित स्थानीय तह निर्वाचनलक्षित गरी २९ फागुनदेखि २९ चैतसम्म अभियान सञ्चालन गर्दै छ । यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । आठ उद्देश्य राखेर सुरु हुन थालेको अभियानमा मतदातासँग कसरी जोडिने भन्ने राजनीतिक मुद्दा समेटिएका छन् । स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला–जिल्ला जाने केन्द्रीय सदस्यहरूले यिनै मुद्दामा केन्द्रित रहेर काम गर्नेछन् । ‘हरेक काँधलाई भारी, हरेक हातमा जिम्मेवारी’को नीतिअनुसार कांग्रेसले सबै नेता–कार्यकर्ता परिचालन गर्ने योजना बनाएको छ । अभियानका क्रममा कांग्रेस नेताहरूले ‘कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने’ तथा ‘नेकपाको सरकारको गत तीनवर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने’ रणनीति बनाएका छन् ।

यसबाहेक ‘प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानुपरेको यथार्थ जनसमक्ष राख्ने’, ‘हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसिसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसद्बाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका भ्रम बुँदागत रूपमा चिर्दै वास्तविकता प्रस्टसँग राख्ने’ कांग्रेस अभियानको उद्देश्य छ । त्यसैगरी, ‘कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवनरक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउने’ कांग्रेसको चुनावी एजेन्डा छन् । 

प्रवक्ता महतले अभियानमा सबैभन्दा बढी जिम्मेवारी पालिका र वडालाई रहने र राम्रा कामसँगै प्रचारलाई पनि प्राथमिकता दिइने जानकारी दिए । प्रवक्ता डा. महतले अभियानमा विभिन्न तहमा पूरा हुन बाँकी कार्यसमितिलाई पनि पूर्णता दिइने बताए । एमसिसी परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पूरा हुने र दातृ निकायलाई पनि सहयोगमा पुनर्विचार गर्नुपर्ने नजिर स्थापित हुनेबारे जनस्तरमा बुझाइने उनले बताए ।

महामन्त्री शर्माको प्रतिक्रिया– विभाजित कम्युनिस्ट हरियो रङ देखेर तर्सिन थाले 
चुनाव हार्ने डरले एमाले अध्यक्ष केपी ओलीमा छटपटी बढेको कांग्रेसले टिप्पणी गरेको छ । स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्न हरियो रङले छाप्ने निर्वाचन आयोगको निर्णयलाई लिएर ओलीले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै कांग्रेस नेताले प्रतिक्रिया जनाएका हुन् । ‘ओलीको अभिव्यक्तिमा कुनै टिप्पणी छैन, तर यो साँचो हो कि विभाजित कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिन थालेका छन् । यसमा तर्सिनुपर्ने कुनै कारण छैन,’ महामन्त्री विश्वप्रकाश शर्माले भने । तर, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ थियो, ‘ओलीको आपत्तिको कुनै अर्थ छैन । तर, कांग्रेसको प्रभाव बढेकोमा उहाँमा छटपटी बढेको छ, यही संकेत उनको अभिव्यक्तिमा देखिन्छ ।’ 

नेविसंघमा ३२ वर्षमाथिकालाई पनि समेट्न माग
नेविसंघसम्बद्ध नेताहरूले तदर्थ समिति बनाउँदा ३२ वर्षभन्दा तल र माथि दुवैलाई समेट्न माग गर्दै पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पार्टी कार्यालय सानेपा पुगेर विजय महतोलगायत विद्यार्थी नेताले पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा माग सम्बोधन नगरे बिहीबारबाट अनशन सुरु गर्ने चेतावनी दिइएको छ । कांग्रेसले समयावधि समाप्त भएका नेविसंघसहित १० भ्रातृ संस्था विघटन गरेर फागुन मसान्तभित्र तदर्थ समिति बनाउने निर्णय गरेको थियो । तदर्थ समिति बनाउन छलफल सुरु भएसँगै नेतृत्वलाई दबाब दिएका हुन् ।

इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा बागी उम्मेदवारलाई कारबाही 
कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूह (सिडेन)ले बागी उम्मेदवारलाई कारबाही गरेको छ । लोकतान्त्रिक प्यानलबाट अर्को समूह बनाई प्रतिस्पर्धामा उत्रिएपछि सिडेनले दिलीपकुमार झाको नेतृत्वमा आधिकारिकताको दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएको समूहलाई कारबाही गरेको हो । सिडेनले झासहित उपाध्यक्षका उम्मेदवार ऋषि कोइराला, महासचिवका उम्मेदवार कृष्णसिंह बस्नेतसहित ११ जनालाई कारबाही गरेको छ । सिडेन महासचिव रोशनराज गिरीले सूचना निकालेर संस्थाको हितविपरीत गएकाले कारबाही गरिएको बताए । 

लोकतान्त्रिक समूहबाट डा. हरि दर्लामीको नेतृत्वमा उपाध्यक्ष डा. नारायणप्रसाद अधिकारी, महासचिव रविभूषण झा, उपमहासचिवमा सरोज धिताल र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः दिनेश त्रिपाठी र दीपक अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन् । दुई समूह प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसनिकट लोकतान्त्रिक इन्जिनियर्स समूहबाट आधिकारिक उम्मेदवार र प्यानल कुन हो भन्ने प्रश्न उठेको छ । कांग्रेसले भने लोकतान्त्रिक समूह (सिडेन)ले घोषणा गरेको प्यानललाई नै आधिकारिक मान्ने जनाएको छ । कांग्रेसका एक पदाधिकारीले दर्लामी नेतृत्वको लोकतान्त्रिक समूह नै कांग्रेसको आधिकारिक प्यानल भएको दाबी गरे । ‘हामीले सिडेनले घोषणा गरेको प्यानललाई नै आधिकारिक मान्ने हो । डा. हरि दर्लामी नेतृत्वको प्यानल नै आधिकारिक हो,’ ती पदाधिकारीले नयाँ पत्रिकासँग भने । इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औँ कार्यसमितिका लागि शुक्रबार निर्वाचन हुँदै छ । चुनावमा पाँच प्यानल प्रतिस्पर्धामा उत्रेका छन् ।

सुझावित समाचार