एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

एकीकृत समाजवादीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर आन्तरिक छलफल सुरु गरेको छ। 

बुधबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित हुने गरी छलफल सुरु भएको हो। स्थानीय तह निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बैठकमा राजनीतिक प्रतिवेदन पेस गरिएको र सोहीअनुसारको कार्ययोजना, संगठन विस्तार र पुनर्गठनबारे छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

उनले एमसिसी संसदबाट पारित गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने परिस्थिति र समाधानका उपायहरूबारे पनि बैठकमा छलफल हुने बताए। 

‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हाम्रा शक्ति, सम्पूर्ण ध्यान केन्द्रित गरेर अगाडि जानेछौँ। आजको राजनीतिक परिस्थिति, विभिन्न राजनीतिक दलहरूबीच भएको शक्ति सन्तुलन, अब हामीले जानुपर्ने बाटोमा विषयमा हामी छलफल गर्नेछौँ। चुनाव प्रचारका लागि कसरी अघि बढ्छौँ ? गठबन्धन कुन ढंगले अगाडि बढ्छ ? एमसिसी संसदबाट पारित गरिसकेपश्चात् अब उत्पन्न हुने परिस्थिति र त्यसलाई कसरी हामी समाधान गर्न सक्छौँ भन्ने विषयमा पनि छलफल हुनेछ। मूलतः एजेन्डाको रूपमा आज राजनीतिक प्रतिवेदन, आगामी कार्ययोजना, संगठन विस्तार र पुनर्गठनका कार्यक्रमहरू नै मुख्य विषय बन्नेछन्,’ उनले भने।

प्रवक्ता खतिवडाले बैठकले स्थानीय तह निर्वाचन प्रचारका लागि आवश्यक संयन्त्रको निर्माण गर्ने बताए। 
 

सुझावित समाचार