युएनको मानव अधिकार परिषदमा आपत्कालीन छलफल गर्न युक्रेनको मागमा नेपालको समर्थन
युद्धग्रस्त युरोपेली मुलुक युक्रेनबाट सोमबार साँझसम्म एक सय ८५ नेपाली बाहिरिएका छन् । जर्मनीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये अधिकांश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरीतर्फ लागेका छन् । स्वदेश फर्किन चाहने नेपालीको संख्याका आधारमा नेपाल सरकारले उनीहरूलाई ल्याउने विषयमा निर्णय गर्ने दूतावासको भनाइ छ ।
‘हाम्रो सम्पर्कमा आउनुभएका २५८जना मध्ये १८५ जनाले युक्रेनबाट चारवटा युरोपेली मुलुक प्रबेश गरिसक्नुभएको छ । युक्रेनमा रहेका नेपालीहरूको संख्या अब न्यून छ, उहाँहरू पनि सुरक्षित हुनुहुन्छ’ युक्रेनका लागि गैरआवासीय नेपाली राजदूत रामकाजी खड्काले जर्मनीको बर्लिनबाट टेलिफोनमा भने, ‘युक्रेनमा रहेकाहरू पनि बिस्तारै सीमा क्षेत्रतर्फ पुग्दै हुनुहुन्छ । अब पूर्वी युक्रेन, राजधानी किभ लगायतका ठाउँमा पनि एकदमै न्यून संख्यामा रहेका नेपालीहरू छाड्ने क्रममा हुनुहुन्छ ।’ सम्पर्कमा रहेका सबै नेपालीहरूसँग राजदुताबासले प्रत्यक्षरुपमा र गैरआबासीय नेपाली संघमार्फत् समन्वय गरिरहेको राजदूत खड्काले जानकारी दिए ।
राजदूत खड्काका अनुसार सोमवार साँझसम्म १३१ जना नेपाली नागरिक पोल्याण्डको अध्यागमन पार गरेर सुरक्षितरुपमा होल्डिङ् सेन्टरमा पुगेका छन् । त्यहाँ उनीहरूलाई बस्ने र खाने राम्रो प्रबन्ध सम्बन्धित सरकारले मिलाएको छ । युक्रेन तथा अन्य युरोपेली मुलुकका नागरिकसँगै नेपालीहरू पनि पुगेका छन् । यसैगरि, २७ जना नेपाली श्लोभाकिया प्रबेश गरेका छन् भने २३ जना रोमानिया प्रबेश गरेका छन् । सोमवार साँझसम्म चारजना नेपालीहरू हंगेरी पुगेका छन् । हंगेरी सरकारले सेन्जेन भिसा विना नै युक्रेनी नागरिक तथा युक्रेनबाट बाहिरिने विदेशी नागरिकलाई प्रबेश दिने घोषणा सोमवार गरेको छ । युक्रेन छाडेर एकजना डाक्टरको परिवार आइतवार स्वदेश आएका छन् भने थप दुई जना डाक्टरहरू मंगलवार काठमाडौं आइपुग्ने पनि राजदूत खड्काले जानकारी दिए ।
‘अब युक्रेनबाट उद्दार हुनुपर्ने नेपाली नागरिकको संख्या न्यून रहेको जानकारी आएको छ’ राजदूत खड्काले नयाँ पत्रिकासँग भने, ‘युक्रेनमै रहेका र बाहिरिएका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ । अहिलेसम्म अप्रिय घटना भएको छैन ।’ युक्रेनमा स्थायी बसोबास गरेका र त्यहीँको नागरिकता लिएका नेपाली भाषाी नागरिक पनि देश छाड्ने तयारीमा छन् । उनीहरू पनि नेपाली राजदूताबासको सम्पर्कमा छन् । उनीहरूमध्ये अधिकांश जर्मनी, टर्की वा अमेरिका जाने तयारीमा छन् ।
मानवअधिकार परिषदमा नेपाल युक्रेनको पक्षमा, भारत तटस्थ, चीन रुसी कित्तामा
युक्रेनले जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा रुसी हमलाबारे आपतकालिन छलफलको माग गरेकोमा नेपालसहित बहुमत सदस्यले समर्थन गरेका छन् । मानवअधिकार परिषद्का ४७ सदस्य मुलुकमध्ये नेपालसहित २९ मुलुकले युक्रेनको बिषयमा आपतकालिन छलफल गराउनु पर्ने पक्ष लिएका छन् । अमेरिका र युरोपेली मुलुकले युक्रेनको मागका पक्षमा अडान राखेका छन् । आपतकालिन छलफलको बिपक्षमा रुस, चीन, क्युवा, भेनेजुएला र इरिट्रियाले मत राखेका छन् । भारतसहित १३ सदस्य मुलुकले भने तटस्थ मत राखेका छन् । मानवअधिकार परिषद्को प्रक्रियामा बहुमत सदस्यले युक्रेनको माग सम्बोधन गर्दै प्रस्ताब पारित भएपछि युक्रेनबारे विहीवार परिषद्ले आपतकालिन छलफल गर्ने छ ।
युक्रेनको ओडेसामा रहेकी रोशनी गुरुङ भन्छिन्– बंकरमा बसेका छौँ
हामी दुईजना यहाँ होस्टेलमा बसेका छौँ । परिस्थिति राम्रो छैन । हामी प्रायजसो होस्टेलको बेसमेन्टको बंकरमा बस्छौँ, त्यहाँ केही न केही सुरक्षित हुन्छ भन्ने लाग्छ । गोली चल्नुभन्दा पहिला हामी बसेको होस्टेलका वार्डेन र अरू कसैलाई संकेत आएर हो वा के हो, साइरन बजाउँछन् । त्यसपछि हामी बंकरभित्र पस्छौँ । आज (सोमबार) साँझतिर साइरन बज्यो, अहिले तपाईंसँग कुरा गर्दा म बंकरमै छु । बस्ने र पानी खाने व्यवस्था बंकरभित्र छ । गोलीको आवाज नसुनेको वेलामा हामीलाई वार्डेनले संकेत गर्छन्, त्यसपछि होस्टेलको माथिल्लो तलामा गएर खाना खाने अनि फेरि बंकरमा जाने भइरहेको छ । जोखिम मोलेर कहाँ जाने ? बाहिर गएकाहरूको दुःख देख्दा सामान्य अवस्था नहुन्जेल यतै दुःख काट्ने हो कि भन्ने पनि लागेको छ । अहिलेसम्म केही निर्णय गर्न सकेका छैनौँ । युक्रेन र रुसको वार्ता सुरु भएको छ । वार्ता मिलेदेखि हुन्थ्यो भन्ने लाग्छ ।
रुस–युक्रेन वार्ता : युद्धविराम भएन, छिट्टै अर्को वार्तामा बस्ने सहमति
रुस र युक्रेनले जारी संघर्ष समाप्तिका लागि बेलारुसमा वार्ता गरेका छन् । तर, युक्रेनले युद्धविरामका लागि गरेको आग्रह रुसले अस्वीकार गरेको छ । यद्यपि, दुवै देशले वार्ता जारी राख्ने र केही दिनमै अर्को चरणको वार्ता गर्ने सहमति गरेका छन् ।
वार्ता जारी रहँदै गर्दा युक्रेनको राजधानी किभ र अर्को सहर खार्किवमा रुसले मिसाइल हमला गरेको छ । वार्ताकै बीच हमला बढेकाले रुस युद्धलाई थप चर्काउने तयारी गरिरहेको अनुमान छ । तनाव बढ्दै गएको र पाँच लाख मानिसले युक्रेन छाडेर छिमेकी देश पुगेको राष्ट्रसंघले बताएको छ ।
युक्रेनी सेनाका अनुसार वार्ता सुरु हुनुभन्दा केही समयअघि आक्रमणको गति सुस्त बनाएको रुसले वार्ता सुुरु भएसँगै भने युद्धलाई थप चर्काउँदै गएको छ । वार्ताटोलीमा युक्रेनका थुप्रै उच्चपदस्थ अधिकारी समावेश भए पनि राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की भने सरिक छैनन् । रुसी वार्ताटोलीमा को–को सहभागी छन् भन्ने खुलाइएको छैन ।
रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न चौतर्फी दबाब पर्न थालेको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँग डेढ घन्टा लामो टेलिफोन कुराकानी गरेर तत्काल युद्धविरामका लागि दबाब दिएको उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रसंघको महासभामा युक्रेनमाथिको विशेष सत्रलाई सम्बोधन गर्दै युद्ध जसरी पनि रोकिनुपर्ने भनेका छन् । ‘युक्रेनमाथि जल, थल र आकाश चारैतिरबाट भइरहेको आक्रमण अहिल्यै रोकिनुपर्छ । युक्रेनका सहरहरूमा रुसी मिसाइल एवं गोलाबारुद दिनरात बर्सिरहेका छन् । राजधानी किभलाई चारैतिरबाट घेरा हालिएको छ,’ गुटेरेसले भने । उनले रुसले आवासीय भवनका साथै अन्य महत्वपूर्ण गैरसैन्य पूर्वाधारहरूलाई पनि निसाना बनाइरहेको प्रमाण आफूसँग रहेको दाबी पनि गरेका छन् ।
संयुक्त राष्ट्रसंघकी मानव अधिकार उच्चायुक्त मिचेल बचेतेले रुसी आक्रमणबाट युक्रेनमा अहिलेसम्म एक सय दुई सर्वसाधारणको मृत्यु र तीन सय चारजना घाइते भएको बताएकी छन् । मर्नेहरूमा सात बालबालिका पनि छन् । यद्यपि, युक्रेनको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने अहिलेसम्म तीन सय ५२ सर्वसाधारण मारिएको उल्लेख छ । रुसी सेना र युक्रेनी सुरक्षाबलमा के–कति हताहती भयो भन्ने तथ्यांक भने अहिलेसम्म बाहिर आएको छैन ।
पुटिनले पनि थाले छलफल
पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार आफ्ना शीर्ष आर्थिक सल्लाहकारहरूसँग छलफल गरेको क्रेमलिनले जनाएको छ । रुसी मुद्रा रुवलको मूल्य अमेरिकी डलरको तुलनामा अप्रत्यासित रूपले ४० प्रतिशतसम्मले खस्किएपछि रुसले सोमबार मस्को स्टक एक्सचेन्ज बन्द गरेको थियो । रुसी मुद्रा अप्रत्यासित अवमूल्यन भएर बैंक सञ्चालनमै समस्या आउन सक्ने चेतावनी विज्ञहरूले दिएलगत्तै रुसले ब्याजदरलाई दोब्बरभन्दा बढीले वृद्धि गरेर २० प्रतिशत पुर्याएपछि रुबलको मूल्य केही उक्लिएर २० प्रतिशत ऋणात्मकमा स्थिर भएको थियो ।
भारी अवमूल्यन हुँदा रुसी मुद्राको क्रयशक्ति र सर्वसाधारणको बचतमा ठूलो प्रभाव परेको छ । तर, यी वित्तीय प्रभावका बाबजुद रुसले आर्थिक प्रतिबन्धलाई परास्त गर्न कठिन नभएको र त्यससँग जुध्न पर्याप्त आर्थिक सक्षमता रहेको भनेको छ । रुससँग अहिले तेल र ग्याँसको बिक्रीबाट जम्मा गरिएको ६ खर्ब ३० अर्ब अमेरिकी डलरको सञ्चिति छ । तर, सञ्चितिलाई डलर, युरो र स्टर्लिङजस्ता विदेशी मुद्रा र सुनमा बदलेर राखेकाले रुसको केन्द्रीय बैंकमाथि नगद प्रवाहमा दबाब परेको देखिएको छ ।
युक्रेनमथिको रुसी आक्रमणको बदलामा पश्चिमा मुलुकले एकपछि अर्काे आर्थिक प्रतिबन्धका साथै नेटोको सैन्य तैनाथीलाई समेत बढाउन थालेपछि रुसी राष्ट्रपति पुटिनले युक्रेनमा अन्य मुलुकले दखलअन्दाजी गरे ‘आणविक अस्त्र’ उपयोगसमेतको अप्रत्यक्ष धम्की दिएका छन् । ह्वाइट हाउसका प्रवक्ता जेन पास्कीले रुसी राष्ट्रपति पुटिनले रुसको डिटरेन्स युनिटलाई उच्च सतर्कतामा रहन दिएको आदेशलाई क्रमेलिनको ‘तनावलाई अप्रत्यासित रूपले बढाउने’ र ‘उत्पादित धम्की’को संज्ञा दिएका छन् । महासभाको एघारौँ आपत्कालीन विशेष सत्रमा बोल्ने क्रममा महासचिव गुटेरेसले पनि आणविक अस्त्र प्रयोगको धम्कीलाई कसैगरी पनि जायज ठह¥याउन नसक्ने टिप्पणी गरेका छन् ।
युक्रेनलाई तत्काल युरोपेली संघमा समावेश गर्न जेलेनेस्कीको अनुरोध
युक्रेनका राष्ट्रपति जेलेनेस्कीले युरोपेली संघलाई युक्रेनलाई तत्काल संघमा समावेश गर्न अनुरोध गरेका छन् । ‘हाम्रो उद्देश्य युरोपेलीहरू सँगसँगै र समान हैसियतमा रहने हो । मलाई यकिन छ हामी यसलायक छौँ । र, यो सम्भव छ भन्ने मलाई विश्वास छ,’ टेलिभिजनबाट प्रसारित सन्देशमा जेलेन्स्कीले भनेका छन् । बिहीबार जेलेन्स्कीले एक भिडियो सन्देश जारी गरेर आफू क्रेमलिनको पहिलो र आफ्नो परिवार दोस्रो नम्बरको निसानामा रहेको बताएका थिए । ‘उनीहरू युक्रेनलाई राज्य प्रमुखविहीन बनाएर राजनीतिक रूपमा धराशायी बनाउन चाहन्छन्,’ जेलेन्स्कीले भनेका छन् । जेलेन्स्की अहिले कहाँ छन् भन्ने गोप्य राखिएको छ ।
गत बिहीबार युरोपेली नेताहरूसँगको फोन संवादमा उनले आफू जीवित नफर्किन सक्ने बताएका थिए । जेलेन्स्कीले शुक्रबार पनि रूसी आक्रमणकारीविरुद्ध युक्रेनको निरन्तर प्रतिरोधको घोषणा गर्दै छोटो भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा युक्रेनी नेताहरू भागेको हल्ला चलेपछि उनको सो पोस्ट जारी भएको थियो ।
जेलेन्स्कीले बारम्बार देश छाडेर नभाग्ने बताइरहेका छन् । विज्ञहरू रुसी फौजले किभ कब्जा गरे भने जेलेन्स्की या त मारिने या रुसको बन्दी हुने बताउँछन् । तर, उचित सञ्चार स्थापित भयो र युद्ध मोर्चामा युक्रेनी फौजले प्रतिरोध जारी राख्न सके भने उनले पश्चिमी युक्रेनबाट सरकार चलाउन सक्ने भनाइ युरेसिया सेनटर फर एट्लान्टिक काउन्सिलका वरिष्ठ निर्देशक तथा युक्रेनका लागि पूर्वअमेरिकी राजदूत निर्देशक जोन हर्बस्टकको छ । ‘अहिलेको मुख्य आशा भनेको रुसले दबाउन नसक्ने खालको बलियो प्रतिरोध उठ्ला कि भन्ने हो,’ हर्बस्ट भन्छन् । युनिभर्सिटी अफ पेन्सिल्भेनियाका रुस तथा पूर्वी युरोपेली अध्ययनका प्राध्यापक मिचेल ओरेनस्टाइन भने जेलेन्स्की किभबाट अपदस्थ भएसँगै पुटिनले आफ्नो छनोटको सरकार गठन गर्ने बताउँछन् ।
जेलेन्स्की युक्रेनबाट भागे सम्भवतः निर्वासित राज्य प्रमुख भएर रहनेछन् । थुप्रै देशको सरकारले विदेशको भूमिबाट निर्वासित सरकार चलाएको उदाहरण छन् । दोस्रो विश्वयुद्धको समयमा, पोलिस सरकार नाजी जर्मनी र सोभियत संघको आक्रमणपछि लन्डन सरेर त्यहीँबाट सञ्चालन भएको थियो । जेलेन्स्कीले निर्वासित सरकारको नेतृत्व गरे त्यो युक्रेनको हार त हुनेछ, तर लगत्तै युद्धको अन्त्य नहुन सक्छ । आगामी केही सातामै रुसले युद्धमा सफलता पाउन सक्छ । यद्यपि, तत्कालीन सफलताले प्रभावशाली प्रतिरोधलाई अन्त्य गर्छ कि गर्दैन ? अन्तर्राष्ट्रिय शक्तिको नजर त्यसमा हुनेछ ।
एजेन्सीको सहयोगमा