विद्यार्थी, शोधकर्ता र शिक्षकका रूपमा मलाई हुर्काउने जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को संस्कृति दिनानुदिन बिग्रँदै जाँदा मेरो हृदय छियाछिया भइरहेको छ । ‘शीर्षस्थ स्थान’को ब्रान्ड बोके पनि यो विश्वविद्यालय अकल्पनीय रूपमा घाइते भएको छ । यो घाइते विश्वविद्यालयलाई कलात्मक उपचारको आवश्यकता छ र यसका लागि प्रशासन, शिक्षण समुदाय र विद्यार्थीको सक्रिय सहभागिता आवश्यक छ ।
प्रशासनलाई अधिकांश समय शक्तिको संवेदनहीन संयन्त्रका रूपमा हेरिन्छ, जहाँ यो संयन्त्र अथक रूपमा ‘काफ्केस्क्यु’ महलबाट ‘सर्कुलर’, आरोपपत्र र कारण देखाऊ आदेश जारी गरिरहन्छ । अधिकारीहरू विद्यार्थी र शिक्षकका एक प्रमुख हिस्सालाई ‘सन्दिग्ध’ वा ‘राजनीतिक रूपमा प्रेरित’ भनेर हेर्ने गर्छन् । यो बिग्रिएको संवादले डर, शंका, अविश्वास र चिन्तायुक्त विषाक्त वातावरण निम्त्याउने गर्छ । यसले सिक्ने समुदायको आत्मालाई नै अस्वीकार गरिदिएको छ । यसबाहेक उग्र–राष्ट्रवादको राजनीतिक संकथनको यो समयमा जेएनयू मूलतः नकारात्मक छविको प्रतिबिम्ब बनेको छ । जेएनयूलाई ‘वामपन्थी’, ‘अर्बन नक्सल’ र ‘राष्ट्रद्रोही’ षड्यन्त्रकारीको गढका रूपमा हेरिन्छ । प्रशासनले यी प्रोपोगान्डाको खण्डन नगरी मौन बसेर यो घाइते विश्वविद्यालयको घाउमा नुनचुक दलिरहेको छ ।
यस निर्णायक घडीमा नयाँ उपकुलपति शान्तिश्री धुलिपुडी पण्डितको आगमनसँगै हामी क्रिया–प्रतिक्रिया वा अपेक्षा एवं आशंका फैलिएको देखिरहेका छौँ । म शिक्षा क्षेत्रलाई ‘वामपन्थी र दक्षिणपन्थी’को कोणबाट हेर्दिनँ, बरु म कलात्मक सम्भावानाहरूमाथि विश्वास गर्छु । म शान्तिश्रीलाई खोजकर्ता, यायावर र शिक्षार्थीका मूल्यमान्यतालाई सम्मान र पुनर्बहाली गर्न आग्रह गर्छु, जहाँ ज्ञान मीमांसाको बहुलवाद, संवाद एवं ध्यानपूर्वक सुन्ने संस्कृति कायम रहोस् र द्वन्द्वको अहिंसात्मक समाधान तथा शिक्षक, अनुसन्धाता एवं विद्यार्थीको प्राज्ञिक स्वतन्त्रताको सम्मान होस् । यस्तो वातावरणमा मात्रै एक माक्र्सवादी र ‘इन्डोलोजिस्ट’ व्यक्तिगत वैरभावविना गहन बहस गर्न सक्छन् वा भनौँ उपकुलपति छात्रावासको चमेनागृहमा उदार, वामपन्थी, अम्बेडकरवादी, नारीवादी, आस्तिक र नास्तिक सबै विद्यार्थीसँग सहभोजनको मजा लिन सक्छन् । यो संवादात्मक भावनाले ‘वामपन्थी र दक्षिणपन्थी’को द्वैत संकथनको भाष्यको दायरा नाघ्छ ।
शान्तिश्री आफ्नो पूर्ववर्तीले झैँ नभई यदि समानुभूतिशील श्रवणशक्तिमा विश्वास गर्छिन् भने घाइते विश्वविद्यालयको घाउ निको हुन सक्छ । उग्र–राष्ट्रवादी राजनीतिको आलोचना वा उच्च शिक्षामा नवउदारवादी आक्रमण भएको भन्ने युवा विद्यार्थीसँग शान्तिश्री असहमत भए पनि उनले युवा विद्यार्थीको जिज्ञासु भावनाको कदर गर्नुपर्छ । र, यदि कुनै विद्यार्थीले चे ग्वेभाराको उद्धरणसहितको सुन्दर राजनीतिक पोस्टर बनाउँछिन भने उसलाई दण्डित गरिनु हुँदैन । युवा हुनु भनेको कल्पनाशील हुनु हो र सुन्दर संसारका लागि प्रयास गर्नु हो । के यो तथ्य होइन र ? त्यसैगरी शान्तिश्रीले प्राज्ञिक परिषद्को बैठकमा असहमतिको टिप्पणी व्यक्त गर्ने शिक्षकसँग सहज ढंगले संवाद गरेर सामूहिकताको भावनाको कदर गर्नुपर्छ । ठिकै छ, ‘वामपन्थी’ले राजनीतिको खेल रचेका हुन सक्छन्, तर म शान्तिश्रीलाई एक साहसी उपकुलपतिका रूपमा हेर्न चाहन्छु, जसले समानुभूति र संवादको स्फूर्तिदायक नवीन संस्कृति सिर्जना गर्ने साहस गर्न सकून् ।
घाइते विश्वविद्यालयको घाउ निको पार्न विद्यार्थी र शिक्षकले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ । एक प्राध्यापक माक्र्सवादी वा सावरकरवादी वा अम्बेडकरवादी वा जुनसुकै विचारलाई आदर्श मान्ने व्यक्ति हुन सक्छ । तर, कक्षामा शिक्षकले आफ्ना विद्यार्थी एवं सहकर्मीमाझ बहुलवादी ज्ञान मीमांसाको अभ्यास गर्न सक्नुपर्छ । माक्र्सवादी गान्धी वा अरोविन्दोलाई प्राज्ञिक गाम्भीर्यका साथ सिकाउन सक्षम बनून् वा सावरकरवादी आफ्नो विद्वताबाट नारीवादीसँग संवाद गर्न सक्षम बनून् वा एक अम्बेडकरवादीले शिक्षक समुदायको आत्म–धारणालाई परिवर्तन गरून् । शिक्षकले विद्यार्थीहरू ‘वामपन्थी’ वा ‘दक्षिणपन्थी’ मात्र नभई यायावर र निरन्तर सिक्न खोज्ने सिकारु हुन् भनेर बुझ्न आवश्यक छ । त्यसैगरी, युवा विद्यार्थीले बौद्धिक र राजनीतिक स्वतन्त्रताको भावनालाई संवेदनशीलता र जिम्मेवारीबोधको नैतिकतासँग एकताबद्ध गर्नुपर्छ । अर्थात्, यदि ‘माक्र्सवादी’ विद्यार्थीले एल्थुसर र ग्राम्सीलाई बारम्बार उद्धृत नगरी धर्मपाल वा आनन्द कुमारास्वामीलाई उद्धृत गरेका कारण आफ्ना शिक्षक वा विद्यार्थी सहपाठीलाई घृणा गर्छन् भने त्यस्तो अवस्था दयनीय हुनेछ । त्यसैगरी, युवा ‘राष्ट्रवादी’ले हरेक ‘वामपन्थी’लाई ‘जिहादी’ भनेर हेर्छ भने त्यो पनि बेतुके हुनेछ ।
विश्वविद्यालय युद्धको मोर्चा होइन । विश्वविद्यालयमा संवाद र बहस आवश्यक छ । र, यहाँ अहिंसाको भावनासँग असहमत हुने साहस पनि आवश्यक छ । हामी निराशा र चरम पूर्वाग्रहको युगमा बाँचिरहेका छौँ र यसका बाबजुद म अझै पनि आशाको शिक्षाशास्त्रमाथि दृढ विश्वास गर्छु । म नयाँ उपकुलपतिलाई स्वागत गर्छु र उनलाई सम्पूर्ण जेएनयू समुदायसँग काम गर्न, घाइते विश्वविद्यालयको घाउ निको पार्न र यस अद्भूत विश्वविद्यालयका सम्भावनाहरूको पुनः खोजी गर्न आग्रह गर्छु । इन्डियन एक्सप्रेसबाट