बेलायती प्रतिपक्षी नेताको खतरनाक नेटोमोह

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

युद्धविरोधी दिग्गज तथा वर्तमान लेबर नेता किर स्टारमर बदलिएका छन् । स्टारमर र म सन् २००३ मा ‘स्टप द वार’ले आयोजना गरेको इराक युद्धविरोधी प्रदर्शनमा सहभागी थियौँ । ‘माफ गर्नुहोस् मिस्टर (टोनी) ब्लेयर, तर युएन रिजोलुस १४४१ ले फौजलाई परिचालित गर्दैन’ शीर्षकमा गार्जियनमा छापिएको उनको लेख चाख दिएर पढेको मलाई याद छ । दुई वर्षअघि मात्रै लेबर नेतृत्वका लागि भएको चुनावमा उनले आफूलाई थप वापमन्थी देखाउन सैन्य हस्तक्षेप रोकथाम ऐन ल्याउने वाचा गरेका थिए । सो वाचामा म खुसी थिएँ ।

उनै स्टारमरले भर्खरै ‘स्टप द वार’ गठबन्धनविरुद्ध आक्रोश व्यक्त गरे । युक्रेनमा युद्ध रोक्न माग गर्ने हामी भ्लादिमिर पुटिनको पक्षमा रहेको आरोप लगाए । यो भनाइ उनको आफ्नै विगतप्रतिको आत्मालोचनाजस्तो देखिन्थ्यो । के स्टारमर आफ्नो विगत ‘शान्तिको निर्माणको पक्षमा’ नभई ‘आलोकाँचो वा अधिनायकवादी नेताकोे सहयोगमा बितेको’ मान्छन् ? बढी सम्भावना के छ भने विगतमा व्यक्त विचारप्रति उनमा साँच्चै विश्वास थियो । तर, अहिले उनी ती राजनीतिज्ञको श्रेणीमा सामेल भएका छन्, जो आफ्नो महत्वाकांक्षा पूरा गर्न विगतका आफ्ना कथनसँग बाझिने गरी जे बोल्न पनि तयार हुन्छन् । यो दुःखद प्रवृत्ति हो । पछाडि फर्केर हेर्दा स्टारमर र हामीले विगतमा जे सोचेका थियौँ, ती सही साबित भएका छन् । उनले हाल युद्धविरोधी आन्दोलनप्रति व्यक्त गरेका आरोप पहिलेदेखि भनिँदै आएकै कुरा हुन्, जुन समयक्रममा झुटा साबित भएका छन् । 

अफगानिस्तान युद्धको विरोध गर्नु भनेको तालिबानलाई समर्थन गर्नुबराबर भनी २० वर्षअघि हामीलाई भनिएको थियो । त्यस्तै सन् २००३ मा इराक युद्धविरुद्ध प्रदर्शन गर्दा हामीले सद्दाम हुसेनलाई सहयोग गरेको आरोप खेप्यौँ । सन् २०११ मा जब हामीले लिबियामा नेटो बमबारीको विरोध गर्यौँ, हामीलाई मुअम्मर गद्दाफीलाई समर्थन गरेको आरोप लगाइयो । युक्रेनमा हुन सक्ने युद्धप्रति हाम्रो विरोध पुटिनप्रतिको समर्थनबाट प्ररित छैन । पुटिनको विगत सैन्यवाद र युद्धले भरिएको छ । तिनलाई हामीले समर्थन गर्ने कुरै आउँदैन । खासमा युक्रेनमा हुने युद्ध विनाशकारी हुनेछ र त्यसलाई रोक्न शान्तिपूर्ण समाधान सम्भव छ । 

ब्रिटिस लेबर पार्टीका नेता किर स्टारमर ती राजनीतिज्ञको श्रेणीमा सामेल भएका छन्, जो आफ्नो महत्वाकांक्षा पूरा गर्न विगतका आफ्ना कथनसँग बाझिने गरी जे बोल्न पनि तयार हुन्छन्
 

हामीले युद्धको विरोध गर्नुको अर्थ विरोधी सरकारलाई समर्थन हुन्छ भन्ने तर्कको अर्थ हुन्छ– फरक शक्तिलाई सघाउनेबाहेक युद्धको विरोध गर्नेहरूको कुनै असल नियत हुँदैन । यो रुसभित्र र विश्वभर शान्तिका लागि अभियान चलाउने सबैको अपमान हो । रुसका युद्ध पक्षधरले युद्धविरोधीलाई नेटो वा अमेरिका समर्थकको आरोप लगाइरहेका छन् ।आफ्नो भनाइको औचित्य पुष्टि गर्न स्टारमरले नेटो विशुद्ध प्रतिरक्षात्मक संगठन भएको तर्क गरेका छन् । ‘कहिल्यै युद्ध नउचालेको एउटा रक्षात्मक गठबन्धन र अरूमाथि भयानक युद्धको त्रासदी थोपरेको शक्तिबीच तुलनै हुन सक्दैन,’ उनले लेखेका छन् । यो कुरा उनले नेटोले मच्चाएको युद्धबाट अथाह पीडा भोगिरहेका अफगानिस्तान र लिबियाका जनतालाई भनून् । संगठन रक्षात्मक गठबन्धन हो भन्दैमा त्यही साँचो हुने होइन । नेटो उसको नाममा रहेको उत्तरी एट्लान्टिक भूगोलबाट धेरै टाढा पुगिसकेको छ । नेटो शीतयुद्धको समयमा जन्मियो । सन् १९८९ मा शीतयुद्ध अन्त्यपछि यसको भूमिका विस्तारवादी र हस्तक्षेपवादी बनेको छ । अहिले नेटो पूर्वी युरोपमा युद्धाभ्यास र हतियार तैनाथीमा सक्रिय छ । यसले द्वन्द्वको नयाँ क्षेत्रका रूपमा इन्डो–प्यासिफिकमा नजर लगाउन थालेको छ । 

नेटोले सदस्य राष्ट्रहरूलाई प्रतिरक्षामा खर्च बढाउन दबाब दिने गरेको छ । उसले हरेक देशबाट कम्तीमा दुई प्रतिशत खर्च माग गरेको छ । यो खर्च वृद्धिले सैन्य प्रतिस्पर्धा र द्वन्द्वलाई प्रोत्साहित गर्छ । अनाश्यक सैन्य खर्च बढाइरहेकै समयमा बेलायतका लाखौँ मानिस कठिन जीवनस्तरसँग जुधिरहेका छन् । केही समयदेखि देशको प्रतिष्ठित स्वास्थ्य प्रणाली ‘एनएचएस’ सधैँजसो आपतकालीन अवस्थामा सञ्चालन भइरहेको छ । असमानता दरले आकाश छोएको छ । उता बोरिस जोनसन सरकारकी विदेशमन्त्री रुसको भ्रमणमा कुन भूभाग रसियामा छ र कुन युक्रेनमा छ भन्ने जानकार नरहेको देखियो । तर, भौगोलिक ज्ञानमा कमजोर विदेशमन्त्री रुससँगको वार्तामा सबैभन्दा युद्ध–पक्षधर देखिइन् । निःसन्देह, ब्रिटिस प्रधानमन्त्री जोनसन उनको घरेलु राजनीतिक संकटबाट जनताको ध्यान अन्यत्र हटाउने युक्ति गर्दै छन् । तर, यसले बेलायतका साथै युक्रेन र रुसका जनताका लागि अत्यन्त खतरनाक अवस्था सिर्जना गर्न सक्छ । 


युद्धको पक्षमा झन् चर्को ढोल पिट्नेभन्दा प्रतिपक्षी दलका नेताको हिसाबले किर स्टारमरले जोनसन सरकारको खराबीको विरोधमा ध्यान केन्द्रित गर्नुपर्छ । विगतबाट युद्ध समर्थकले पाठ सिकेको देखिएन । युक्रेनको युद्धमा आणविक शक्ति पनि संलग्न हुने भएकाले यसले झन् घातक परिणाम निम्त्याउन सक्छ । कूटनीतिले नै वर्तमान गतिरोध समाधान गर्न सक्छ । स्टारमरभन्दा फरक मार्ग लिएर फ्रेन्च र जर्मन सरकारले समाधानको प्रयास गरिरहेका छन् । लेबर राजनीतिज्ञको पनि युद्ध प्रवद्र्धनको इतिहास छ । तीप्रति सचेत हुन जरुरी छ ।
(लिन्डसे जर्मन ‘स्टप द वार’ गठबन्धनकी संयोजक हुन्) द गार्जियनबाट

सुझावित समाचार