ओटावा ट्रकचालकको प्रदर्शन र लोकतन्त्रको परीक्षा

सोमबार, २ फागुन, २०७८
डिजिटल संस्करण

दैनिक जनजीवनमा अवरोध पुर्याए पनि अहिंसात्मक प्रदर्शनले ध्रुवीकृत समाजमा सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका निभाउँछ । प्रजातान्त्रिक समाजमा प्रदर्शन अभिव्यक्तिको एउटा आवश्यक रूप हो ।


विश्वव्यापी जनविरोधको मापदण्डका आधारमा ओटावाका सडकमा अवरोध पुर्याइरहेका ‘फ्रिडम कन्भोए’का ट्रकको लस्कर उपद्रवमा दर्ज हुन्छ । प्रदर्शनकारीको संख्या उच्च हुँदा आठ हजारसम्म पुगे पनि हालसम्म झडप भएको छैन । स्थानीयवासीले अदालतको अस्थायी आदेशमार्फत ट्रकचालकको हर्न बजाउने कार्यमा रोक लगाएका छन् । अधिकांश क्यानेडेली नागरिकको न ट्रकचालकप्रति समर्थन देखिन्छ, न तिनको उद्देश्यप्रति ।

बजार अनुसन्धान फर्म लेजरले गरेको सर्वेक्षणमा ६५ प्रतिशत क्यानेडेलीले फ्रिडम कन्भोएले ‘स्वार्थी क्यानेडियनहरूको सानो अल्पसंख्यक’लाई मात्र प्रतिनिधित्व गर्ने बताएका छन् । तैपनि, क्यानडामा जे भइरहेको छ, त्यसलाई संसारले नजिकबाट ध्यान दिन आवश्यक छ । बढ्दो ध्रुवीकृत राजनीतिक वातावरणमा क्यानेडेली ट्रकचालकहरू अचानक बहसको विषय बनेका छन् । तिनको आन्दोलनलाई सघाउन अनलाइन दान संकलन गर्ने क्रम बढेपछि दान संकलन गर्ने वेबसाइट ‘गोफन्डमी’ले ‘हिंसा र उत्पीडनको प्रवद्र्धनलाई निषेध गर्ने’ नीतिअन्तर्गत अभियानलाई समर्थन जनाउन खुलेका पेजमा प्रतिबन्ध लगायो । प्रतिबन्धपछि दक्षिणपन्थी क्राउडफन्डिङ प्लेटफर्महरूमा दान संकलन सुरु भएको छ । 

क्यानेडेली आन्दोलनका समर्थक उसको दक्षिणी छिमेकी अमेरिकामा पनि देखिएका छन् । डोनाल्ड ट्रम्पले फ्रिडम कन्भोएलाई ‘बकबासपूर्ण कोभिड नियममार्फत क्यानडालाई नष्ट गरिरहेका उग्र–वामपन्थी प्रधानमन्त्री जस्टिन ट्र्युडोको कठोर नीतिविरुद्धको शान्तिपूर्ण विरोध’ बताए । रिपब्लिकन सिनेटर टेड क्रुजले क्यानेडेली ट्रकचालकलाई ‘नायक’ बताए । अमेरिकी कंग्रेसको तल्लो सदनकी सदस्य मार्जोरी टेलर ग्रिनले ‘गोफन्डमी’का ‘कर्पोरेट कम्युनिस्ट’लाई गिरफ्तार गर्नुपर्ने सुझाब दिइन् ।

शान्तिपूर्ण, सहिष्णु र तार्किकताको उदाहरण मानिने क्यानडाको अहिले जुन भद्दा छवि बाहिरिइरहेको छ, त्यसले कोभिड–१९ विस्तार रोक्न लागू गरिएका नियमन र नियमलाई उग्र दक्षिणपन्थीले ‘स्वतन्त्रता’माथि सरकारी आक्रमणका रूपमा हेरेको देखाउँछ । क्यानडा–अमेरिका सीमा पार गर्ने ट्रकचालकले खोप नलगाएको अवस्थामा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू भएपछि जनवरी सुरुमै क्यानेडेली ट्रकचालकले विरोध जनाएका थिए । तर, विरोधको त्यति बलियो आधार भने थिएन, किनकि दश प्रतिशत क्यानेडेली ट्रकचालकले मात्र खोप लगाएका छैनन् । समग्रमा ८६ प्रतिशत क्यानेडेलीले खोपको कम्तीमा एउटा डोज लगाएका छन् । 

क्यानडाको राजधानीमा ठूला ट्रकहरूले ट्राफिक अस्तव्यस्त बनाउँदै हर्न बजाएर कोलाहलको माहोल सिर्जना गरेपछि सहरवासी आक्रोशित बनेका थिए । ओटावा प्रहरी प्रमुखले यसलाई ‘घेराबन्दी’को संज्ञा दिए । ओन्टारियो राज्य प्रमुखले सहर ‘कब्जा’मा परेको भने । ओटावाका मेयरले आपत्कालीन अवस्था घोषणा गरे । सोमबार ट्र्युडोले संसद्मा आक्रोशपूर्ण भाषण गर्दै विरोध प्रदर्शन रोकिनुपर्ने बताए । उनले ट्रकचालकविरुद्ध सैन्यबल प्रयोगको अधिकार त दिएनन्, तर प्रदर्शनकारीले ‘हाम्रो अर्थतन्त्र, हाम्रो लोकतन्त्र र हाम्रा नागरिकको दैनिक जीवनलाई अवरुद्ध गर्न खोजिरहेको’ आरोप लगाए ।

हामी प्रदर्शनकारीका मागसँग असहमत छौँ, तथापि प्रदर्शन गर्न पाउनु तिनको आधिकार हो । प्रजातान्त्रिक समाजमा प्रदर्शन अभिव्यक्तिको एउटा आवश्यक रूप हो । प्रदर्शन विशेष ती समुदायलाई आवश्यक हुन्छ, जसको विचारले व्यापक जनसमर्थन पाउन सक्दैन । प्रदर्शनकारीबाट हुने हिंसा रोक्ने जिम्मेवारी सरकारको हो र समाजले आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका प्रदर्शनकारीले सिर्जना गरेको अवरोध केही हदसम्म स्वीकार गर्न तयार हुनुपर्छ । 

जर्ज फ्लोयडको हत्यापछि सन् २०२० मा भएका प्रदर्शनले मिनियापोलिस र अन्य सहरमा यस्तै चुनौती खडा गरिदिएका थिए । सरकारी अधिकारीको मुख्य जिम्मेवारी अभिव्यक्ति स्वतन्त्रताको अधिकार र सार्वजनिक स्वास्थ्य, सुरक्षा तथा सुचारु समाजबीच सन्तुलन कायम गर्ने हो । वैधानिक रूपमा आयोजना गरिएको प्रदर्शनलाई तितरबितर पार्न वा रोक्न बल प्रयोग गर्नु गलत हो । ट्र्युडो स्वयंले नयाँदिल्लीका प्रमुख राजमार्गहरू एक वर्ष अवरुद्ध गर्ने भारतका किसानको विरोध प्रदर्शनप्रति समर्थन व्यक्त गर्दै नोभेम्बर २०२० मा भनेका थिए, ‘क्यानडा सधैँ शान्तिपूर्ण विरोधको अधिकारको प्रतिरक्षा गर्ने ठाउँमा उभिन्छ ।’

ट्रकको लस्करले क्यानेडेली जनताको एक व्यापक जनसमुदायमा अन्तर्निहित निराशालाई अभिव्यक्त गरेको छ । सन् २०१८ को अन्त्य र सन् २०१९ को सुरुमा फ्रान्सको राजधानी पेरिस र अन्य सहरका सडक महिनौँसम्म अवरोध गर्ने ‘जिलेट्स जोन्स’ (पहेँलो भेस्ट) आन्दोलनजस्तै क्यानडाका ट्रकचालकका विभिन्न गुनासा वार्ताबाट मात्रै समाधान गर्न सकिँदैन । जिलेट्स जोन्सले व्यापक जनसमर्थन पाउने माग फेला पारेन । क्यानेडेली ट्रकचालकले भने कोरोना भाइरससम्बन्धी कडाइलाई प्रयोग गरेर असन्तुष्ट मानिसको समर्थन पाएको छ । यसले ओटावाको विरोधलाई थप महत्वपूर्ण बनाउँछ । ओटावाको विरोध प्रदर्शनबाट प्रेरित भएर फ्रान्स, अमेरिकामा सवारीसाधनहरूको एउटा र्याली निकाल्ने प्रयास गरिँदै छ । क्यानडाकै नक्कल गरेर अस्ट्रेलिया र न्युजिल्यान्डसम्म बाहनको लस्कर देखा परेका छन् ।

यी विरोध प्रदर्शनले प्राणघातक कोरोना भाइरसको विस्तार रोक्दै जीवनस्तर सामान्य अवस्था फिर्तीको उपाय खोजिरहेका प्रधानमन्त्री ट्र्युडो, राष्ट्रपति बाइडेन र अन्य देशका नेतासामु चुनौती खडा गरिदिएको छ । महामारीको यस चरणमा प्रभावकारी नेतृत्व ती ठहरिनेछन्, जसले थप तनाव नबढाई, कानुनी शासनमा सम्झौता नगरी वा बेतुकका माग पूरा नगरी महामारीबाट सिर्जित निराशा र वैध विरोधको सामना गर्ने उपाय पहिल्याउनेछन् ।

ट्रम्पजस्ता लोकप्रियतावादी नेताले सरकारका कुनै पनि कोभिड–१९ विरोधी कदमलाई ‘स्वतन्त्रता’माथिको आक्रमणका रूपमा विरोध जनाउने सम्भावना छ । यस्तोमा यो महामारीबाट सुरक्षित रूपमा बाहिर निस्किनु सहज मार्ग हुनेछैन । दैनिक जनजीवनमा अवरोध पुर्याए पनि अहिंसात्मक प्रदर्शनले ध्रुवीकृत समाजमा सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका निभाउँछ । न्युयोर्क टाइम्स सम्पादकीय बोर्ड (न्युयोर्क टाइम्सबाट)

सुझावित समाचार