अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्ने विषयमा कांग्रेसभित्र एकमत देखिएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले एमसिसी छिट्टै संसद्बाट पास गर्नुपर्नेमा जोड दिएका हुन् ।
३७ सदस्यीय कार्यसम्पादन समितिमा १२ सदस्यले आफ्नो धारणा प्रस्तुत गरेका थिए । डा. रामशरण महतले एमसिसी नेपालको हितमा रहेको भन्दै यसलाई स्वीकार गर्न कुनै समस्या नरहेको बताएका थिए । बैठकमा सभापति शेरबहादुर देउवाले डा. महतसँग एमसिसीका राम्रा–नराम्रा पक्षबारे आफूलाई विवरण उपलब्ध गराउनसमेत भनेका थिए ।
सभापतिले महतसँग लामो छलफल गरी यसबारे लिखित रूपमा जानकारी मागेको डा. शशांक कोइरालाले बताए । ‘सभापतिज्यूले डा. रामशरण महतसँग लामो कुरा गर्नुभयो । उहाँले स्पष्टताका साथ एमसिसी नेपालको हितमा रहेको र स्वीकार गर्नुपर्छ भन्नुभयो,’ कोइरालाले भने, ‘उहाँको तर्कपछि सभापतिले यसबारे थप कुरा आफूलाई जानकारी गराउन भन्नुभएको छ र यसबारे सभापतिले सबैसँग छलफल गर्ने भन्नुभएको छ ।
आफूले पनि एमसिसीबारे भ्रम देखिएको र जनस्तरमा यसलाई निवारण गर्नुपर्ने धारणा राखेको बताए । ‘एमसिसीबारे अनेक भ्रम छन् । यो यहाँकै नीतिअनुसार चल्ने हो भनेर जनतालाई सम्झाउनुपर्छ भनेर मेरो धारणा राखेको छु,’ उनले भने, ‘बैठकको मुख्य एजेन्डा एमसिसी पास गर्नुपर्छ भन्ने नै थियो ।’
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि एमसिसी पास गर्ने प्रक्रियालाई संसद्मार्फत अगाडि बढाउनुपर्छ भन्नेमा बैठकमा दुईमत नरहेको बताए । ‘एमसिसी संसद्मार्फत अगाडि बढाउनुपर्छ भन्नेमा दुईमत छैन,’ महतले भने । संसद्मा प्रस्तुत भएपछि एमसिसी के गर्ने भन्ने स्पष्ट हुने उनले बताए ।
बिहीबारको बैठकमा कार्यसम्पादन समिति सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए । बैठक शुक्रबार पनि निरन्तर रहने प्रवक्ता महतले जानकारी दिए ।
सभापतिको रुलिङबीच गठबन्धन कायम राख्नेमा फरक मत
बैठकको सुरुमै सभापति देउवाले गठबन्धनबारे नबोल्न रुलिङ गरेका थिए । तर, रुलिङ तोडेर नेताहरूले गठबन्धनको विषय पनि भिœयाए । आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनेबारे फरक मत देखिएको छ ।
डा. शशांक कोइरालाले कांग्रेसको अस्तित्व जोगाउन एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । ‘गठबन्धनको विषयमा मैले हाम्रो अस्तित्व जोगाउनुपर्छ । हामी अरू पार्टीसँग नभई एक्लै निर्वाचनमा जानुपर्छ भनेर स्पष्टताका साथ आफ्नो भनाइ राखेँ,’ उनले भने, ‘मेरो धारणालाई साथीहरूले पनि सकारात्मक रूपमा लिनुभएको छ र बोल्नुभएको पनि छ । तर, गठबन्धनको भविष्यबारे अहिलेसम्म केही निर्णय भएको छैन ।’
बलबहादुर केसीलगायतले पनि गठबन्धनबारे हतारोमा निर्णय लिन नहुने धारणा राखेका थिए । तर, धारणा राख्ने नेताहरूले गठबन्धन गरेर जानेबारे सोच्नुपर्ने वेला आएको बताएका थिए । ‘बैठकको सुरुमा नै सभापतिले गठबन्धनबारे नबोल्न भन्नुभएको थियो । तर, उहाँले रुलिङ गरेर पनि रोकिएन,’ केसीले भने, ‘गठबन्धनबारे समीक्षा गरेर निर्णय लिनुपर्ने धारणा मैले पनि राखेँ ।’
जिपछिरिङ लामालगायत केही नेताले भने गठबन्धनलाई निरन्तरता दिएर निर्वाचनमा जानुपर्ने बताएका थिए ।
बैठकमा नौ एजेन्डामाथि छलफल
बैठकमा नौ एजेन्डामाथि छलफल जारी छ । स्थानीय निर्वाचनको तयारी गर्ने र यसका लागि स्थानीय निर्वाचन मूल तयारी समिति र घोषणापत्र तयारी समिति गठनको प्रस्ताव गरेको छ । त्यस्तै, संगठन सुदृढीकरण एवं निर्वाचन तयारीकेन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने, भ्रातृ एवं शुभेच्छुक संस्था सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने, नयाँ भ्रातृ एवं शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्ने, महाधिवेशनपछि सम्पन्न गर्ने गरी थाती राखिएका क्रियाशील सदस्यहरूको व्यवस्थापन, नयाँ क्रियाशील सदस्यता वितरण, केन्द्रीय अनुशासन समिति गठन र अधिवेशन हुन बाँकी रहेका जिल्ला, क्षेत्र र पालिकाको अधिवेशनको मिति तय गर्ने बुँदालाई छलफलको एजेन्डा बनाएको छ ।
प्रचण्डलाई भेटेर शेखरले भने– कांग्रेस चुनावी गठबन्धनको पक्षमा छैन
नेता शेखर कोइरालाले बिहीबार बिहान माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रचण्डनिवास खुमलटार पुगेका शेखरले एमसिसी, स्थानीय तहको निर्वाचन, गठबन्धन, संसद् सञ्चालनलगायत विषयमा छलफल गरेका थिए ।
‘हामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा छैनौँ । गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा छैन,’ कोइरालाको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘निर्वाचनबाहेक सरकार सञ्चालनमा भने गठबन्धनलाई निरन्तरता दिन सकिन्छ ।’
भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता अमरेशकुमार सिंहलगायत पनि थिए । कोइरालाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग समेत भेट गरेका थिए ।