उदारवादी लोकतन्त्रको विकल्प अपरिहार्य

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

जबसम्म फासीवादको बिउ बोक्ने पश्चिमा उदारवादी लोकतन्त्रका विकल्प निर्माण हुँदैनन् तबसम्म उदारवादी लोकतन्त्र सदावहार खतराका रूपमा रहिरहन्छ  


केही वर्षयता पश्चिमा जगत्मा राजनीतिबारे विमर्श हुँदा लोकतन्त्रको पतन, अधिनायकवादी लोकप्रियतावाद, नवफासीवादी आन्दोलन, उदार लोकतन्त्रको अन्त्यजस्ता अनिष्टसूचक चेतावनी सुन्न र देख्न पाइन्छ । उल्लिखित चेतावनी अघिल्लो शताब्दीमा आफूलाई ‘स्वच्छन्द विश्व’को अग्रणी भनेर चिनाउने अमेरिकाजस्ता मुलुकको चासोको विषय बन्न पुगेको छ । अहिले विश्वमा अमेरिकाको लोकतन्त्र चरम दक्षिणपन्थी अधिनायकवादको सँघारवरपरि रुमल्लिरहेको छ ।      

उदार लोकतन्त्रको इतिहास अत्याचार, दासत्व र मतदानलगायत अधिकारबाट हुने वञ्चितीकरणको इतिहास हो । आफूलाई उदार लोकतान्त्रिक भनेर चिनाउने मुलुकहरूमा यी गुण लामो समयसम्म रहिरहे । तथाकथित पश्चिमा उदार लोकतन्त्रहरूमा अधिनायकवादी रुझान देखिनथाल्नु कुनै अनौठो परिणाम भने होइन । अन्तर्राष्ट्रिय सम्बन्धका प्रभावशाली उदार बौद्धिक माइकल डब्लु डोयल र फ्रान्सिस फुकुयामा दुवैले अमेरिका १८औँ शताब्दीको अन्त्यदेखि ‘उदार लोकतन्त्र’ भएको दाबी गर्छन् । तथापि, सन् १७९० को पहिलो अमेरिकी जनगणनाअनुसार ६ लाख ९७ हजार ६ सय २४ जना दास थिए भने सन् १८६० जनगणनामा दासको संख्या ४० लाख पुगेको थियो । महिलाहरू मतदान र अन्य नागरिक अधिकारबाट वञ्चित थिए । त्यसैगरी, डोयल र फुकुयामा १९औँ शताब्दीदेखि बेलायतलाई उदार लोकतान्त्रिक मुलुक मान्छन् जब कि बेलायत त्यसवेला साम्राज्यवादको चरम बिन्दुमा थियो । उदार लोकतन्त्र मानिने अर्को मुलुक बेल्जियममा २०औँ शताब्दीमा पनि कंगोका बालबालिकालाई नियमित रूपमा अपांग बनाएर तिनका दास आमा–बुबालाई काममा जोताइन्थ्यो ।   

आधा जनसंख्या यौनिकताकै आधारमा मतदानको अधिकार नपाएको र दशौँ लाख मानिस दास भई अपमानित र अमानवीकृत जीवन बाँचिरहेका समाज के साँचो अर्थमा ‘उदार’ वा ‘लोकतान्त्रिक’ थियो ? वास्तवमा मानवशास्त्री लिलिथ महमुदले भनेझैँ ‘हामी कहिल्यै उदार भएनौँ’ । महमुदका अनुसार उदारवादी लोकतन्त्र पश्चिमलाई सुसंगत राजनीतिक क्षेत्रका रूपमा देखाउने एक ‘अक्सिडेन्टलिस्ट (पश्चिमा) मिथक’ हो । उदार लोकतन्त्र शब्दावली लोकप्रिय भाष्यमा सन् १९३० को दशकमा आएको थियो र दोस्रो विश्वयुद्धको चरम अवस्थामा यो शब्दावली अत्यधिक प्रयोग गरिएको थियो । अवधारणागत हिसाबमा उदार लोकतन्त्र शब्दको इतिहास हेर्ने हो भने दोस्रो विश्वयुद्धका वेला ‘एलाइड’ले (अमेरिका, बेलायत र सोभियत संघ नेतृत्वको युद्ध गठबन्धन) एक्सिस (तत्कालीन जर्मनी, इटाली र जापान नेतृत्वको युद्धगठबन्धन) शत्रुमा रहेको फासीवादी चरित्र आफूमा नरहेको देखाउनका लागि उदार लोकतन्त्र शब्दको प्रयोग गरेको थियो । तर, फासीवाद (नश्लीय शुद्धतावादी चरम दक्षिणपन्थी विचारधारा) एक्सिसबाहेकका पश्चिमा मुलुकबाट त्यति पृथक् रहेन, जति उनीहरूका इतिहासकार, नेता र नागरिकहरूले मान्ने गरेका छन् ।

दोस्रो विश्वयुद्धताका अन्तर्राष्ट्रिय सम्बन्धमा गिरावट आउँदा स्वघोषित उदार लोकतन्त्रले जर्मन फासीवादसँग मिल्ने थुप्रै गतिविधि गरेका थिए । 
यी स्वघोषित उदार लोकतन्त्रहरूले उपनिवेश बनाएका समाजमा अधिनायकवादी राजनीतिक नियन्त्रणका अभ्यास गरेका थिए । मनोमानी ढंगले गिरफ्तार गर्ने र यातना दिने काम गरेका थिए । यी राज्यहरूले आफ्ना उपनिवेशमा यातना शिविर (कन्सन्ट्रेसन क्याम्प) र नरसंहारकारी हिंसा मच्चाएका थिए । यसैकारण, कवि र उपनिवेशविरोधी विचारक इमे सेजायर युरोपमा उदाएको फासीवाद, उपनिवेशमा हिंस्रक अमानवीकरण गरेर फर्किएपछिको ‘बुम¥याङ इफेक्ट’ अर्थात् पुनरावृत्ति असर हो भन्ने टिप्पणी गर्थे । अधिनायकवादी प्रवृत्ति हालका उदार लोकतान्त्रिक राज्यका संरचनागत अंश हुन् । यो प्रवृत्ति अहिलेको समयमा पनि देख्न सकिन्छ अर्थात् अश्वेत, एसियाली र अन्य अल्पसंख्यक जातीय समुदायहरूलाई नियमित रूपमा गरिने नश्लभेदी प्रहरी नियमनका रणनीति र अत्याचारका रूपमा देख्न सकिन्छ ।    

उल्लिखित उदार लोकतन्त्रलाई नाम दिने नै हो भने नारीवादी आलोचक एवं सामाजिक वैज्ञानिक बेल हुक्सले भन्ने गरेको ‘श्वेत सर्वोच्चतावादी पितृसत्ता’ नाम दिँदा उपयुक्त हुन्छ । श्वेत सर्वोच्चतावादी पितृसत्ता असमानता एवं शोषणबाट लाभान्वित त्यस्तो व्यवस्था हो जहाँ श्वेत पुरुष गैरश्वेत समुदायका मूल्यमा विशेषाधिकार प्राप्त गर्छ । पश्चिमा जगत्मा फासीवादको उदय र लोकतन्त्रको पतनको भय कुनै ‘बाहिरिया’ लोक रिझाउने नेताहरूका कारणले भएको होइन । आफैँभित्रका अन्तर्विरोधका कारण उदार लोकतन्त्र संकटपूर्ण अवस्थामा पुगेको हो ।

हालैका वर्षमा नयाँ ढंगले सक्रिय प्रगतिशील सामाजिक आन्दोलनको प्रतिक्रिया मात्रै हो नवफासीवादी शक्तिका हर्कत । ‘राजनीतिक शुद्धता’लाई खारेज गर्ने नाममा नारीवादी र नश्लवादविरोधी मूल्य–मान्यतालाई आक्रमण गरेर उपनिवेशक र दासका सालिकका प्रतिरक्षामा उभिने नयाँ चरम–दक्षिणपन्थीहरू तिनै पश्चिमा मूल्य–मान्यताको फिर्तीको माग गरिरहेका छन् जसले उदार लोकतन्त्रको जग बसालेको थियो । यहाँनेर सन् १९९४ मा बेल हुक्सले लेखेको एक टिप्पणी सान्दर्भिक देखिन्छ । हुक्सका अनुसार ‘पुराना मूल्य–मान्यतामा फर्किनुपर्छ भनेर भन्ने सार्वजनिक व्यक्तित्वहरू नश्लभेद, लिंगभेद, वर्ग शोषण र साम्राज्यवादका वर्चश्वका प्रणालीलाई कायम गर्न सबैभन्दा बढी प्रतिबद्ध छन्’ । यी ‘पुराना मूल्य–मान्यतामा फर्किनुपर्छ’ भन्ने भावना अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, इटाली र अन्य कैयौँ पश्चिमा मुलुकका चरम दक्षिणपन्थी आन्दोलनमा प्रस्टै देख्न सकिन्छ । जबसम्म फासीवादको बिउ बोक्ने पश्चिमा उदारवादी लोकतन्त्रको विकल्प निर्माण हुँदैनन् तबसम्म उदारवादी लोकतन्त्र सदावहार खतराका रूपमा रहिरहन्छ ।  द कन्भर्सेसनबाट  

सुझावित समाचार