नक्कली रिभल्वर देखाएर प्रहरी हुँ भन्दै धम्काउने व्यक्ति पक्राउ

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

नक्कली रिभल्वर बोकेर ‘प्रहरी निरीक्षक हुँ’ भन्दै धम्काउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सिराहा नगरपालिका– ७ मा रहेको युवराज डिलक्स बस काउन्टरमा धम्क्याइरहेको अवस्थामा झापा गौरादह नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका– ४ मन्डिखाटार बस्ने ३२ वर्षीय असिम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङको साथबाट नेपाल प्रहरीको नक्कली परिचयपत्र १ थान, नक्कली रिभल्वर १ थान, रिभल्वर राख्ने होलस्टर १ थान, ड्याइगन चक्कु १ थान, साइरा स्यान्गो र असिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए। यसैगरी ३९ पिस नाइट्राभेट–१०, स्पास्मो प्रोक्सिभोन प्लस २२ पिस, मोबाइल २ थान, चेकबुक १ थान, एटिएम कार्ड १ थान, नेपाली १ हजार दरको ३ थान र एनसेलको सिमकार्ड ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

उनलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको र नक्कली रिभल्वर प्रयोग गरी धाकधम्की दिएको उजुरी आएमा थप मुद्दा दर्ता गरिने बुढाथोकीले बताए। 
 

See More On

सुझावित समाचार