नेपाल विद्यार्थी संघले अनियमिततामा संलग्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार त्रिवि उपकुलपतिको कार्यालय परिसरमा नेविसंघ त्रिवि समितिले प्रदर्शन गरेको हो ।
जनकपुरस्थित युथ क्याम्पसलाई ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बिसिए) कार्यक्रमका लागि दिइएको सम्बन्धन सो क्याम्पसको अनुगमनपश्चात् प्रक्रिया पूरा नभएको भन्दै त्रिभुवन विश्वविद्यालयले खारेज गरेको थियो । त्रिविबाट अनुगमनमा खटिएका कर्मचारीले युथ क्याम्पससँग घुस मागेको र घुस रकम नदिँदा त्रिविले सम्बन्धन खारेज गरेको नेविसंघको आरोप छ ।
त्रिविको अनुगमनपश्चात् भएको सम्बन्धन खारेजीमा अनियमितता भएको र त्यसको न्यायपूर्ण छानबिन हुनुपर्ने नेविसंघको माग छ । प्रदर्शनमा बोल्दै नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले न्यायपूर्ण छानबिन गरी सत्यतथ्य बाहिर नआउँदासम्म आन्दोलन जारी रहने बताए । उनले भने, ‘न्यायपूर्ण छानबिन गरी सत्य तथ्य बाहिर नआएसम्म आन्दोलन निरन्तर अगाडि बढ्छ ।’
सम्बन्धनका लागि त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशकले घुस मागेको भन्दै नेविसंघले माघ ७ गतेदेखि त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
यसका साथै नेविसंघ त्रिवि समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अविलम्ब गर्नुपर्ने पनि माग गरेको छ ।