टेम्पु दुर्घटनामा चालकको मृत्यु

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

धनकुटा नगरपालिका– ७ जिरोप्वाइन्टस्थित कोसी लोकमार्गमा टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मंगलबार साँझ धनकुटा पचियमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे.१ह ४४७४ नम्बरको अटो टेम्पु गएराति सडकको नालीमा पल्टिएको हो ।

दुर्घटनामा टेम्पुचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका– १ हात्तीखर्कका ६० वर्षीय लालबहादुर दर्लामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले बताए । छथर जोरपाटी घर भए पनि उनी जिरोप्वाइन्टमै बसेर टेम्पु चलाउँदै आएका थिए ।

टेम्पु पल्टिँदा चालक मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइएको थियो । अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषित गरेका थिए ।

मृतक मगरको टाउकोसहित शरीरका विभिन्न भागमा चोट देखिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामै राखिएको छ । मृतक मगरले पहिले ट्रक कुदाउने गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार दीपक खड्काले बताए । 

सुझावित समाचार