दुई वर्षदेखि कोभिड– १९ भाइरससँग लडाइँ लडिरहेका हामीमा देखिएको अति आत्मविश्वास, बेवास्ता वा दिक्दारी खतराको संकेत हो
अधिकांश ऐतिहासिक अध्ययनअनुसार विश्वव्यापी रूपमा पाँच करोडभन्दा बढी मानिसको ज्यान लिएको सन् १९१८ को इन्फ्लुएन्जा महामारीको भाइरस सन् १९१९ को गर्मीयामको तेस्रो लहरपछि कमजोर भएको मानिन्छ । यद्यपि, भाइरसका कारण मृत्युक्रम जारी नै रह्यो । सन् १९२० मा भाइरसको अर्को भेरियन्ट सतहमा आएको थियो, यो भेरियन्ट पनि चौथो लहर भन्न मिल्ने गरी घातक थियो । डेट्रोइट, मिनियापोलिस, कान्सासलगायत सहरमा दोस्रो लहरमा भन्दा बढी मानिस मारिएका थिए, जुन अमेरिकाकै सबैभन्दा बढी महामारीजन्य मृत्यु हुन पुग्यो । यी मृत्यु दुई वर्षका अन्तरालपछि अर्थात् तेस्रो लहरमा भाइरसको विषाक्तता कम हुँदाको अवस्थामा अमेरिकीमा इन्फ्लुएन्जाविरुद्धको प्रतिरोधी शक्तिको विकासका बाबजुद भएका थिए ।
सन् १९१८ को शिशिरयाममा उत्कर्षमा पुगेको इन्फ्लुएन्जा महामारीको दोस्रो घातक लहरमा अमेरिकाका लगभग सबै सहरमा प्रतिबन्ध लगाइएको थियो । सोही वर्षको जाडोयाममा तुलानात्मक रूपमा कम घातक तेस्रो लहर आउँदा केही सहरले पुनः प्रतिबन्ध लगाएका थिए । तर, सन् १९२० को चौथो लहरमा सम्भवतः कुनै पनि सहरले प्रतिक्रिया जनाएनन् । आममानिस र प्रशासनका अधिकारी इन्फ्लुएन्जासँग वाक्कदिक्क भइसकेका थिए । पत्र–पत्रिकामा भाइरसबारे डरलाग्दा समाचार छापिन्थे, तर कसैले पनि वास्ता गर्दैनथे । त्यसवेलाका मानिसले मात्रै नभई इतिहासकारले पनि चौथो लहरलाई बेवास्ता गरेका थिए । सन् १९२१ मा भाइरस सामान्य मौसमी इन्फ्लुएन्जामा उत्परिवर्तित भयो, विश्व आफ्नो गतिमा चल्न थाल्यो । तर, हामीले १९२० को गल्ती दोहोर्याउनुहुन्न ।
हामीसँग सकारात्मक हुनका लागि प्रशस्त कारण भएको सत्य हो । पहिलो, ओमिक्रोन अमेरिकामा घट्दै गइरहेको छ । दोस्रो, अमेरिकाका लगभग सबै मानिस कि संक्रमित भएका छन् वा मानिसले खोप लगाएका छन्, जसले भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । तेस्रो, ओमिक्रोनले अपर रेस्पिरेटरी ट्र्याक्ट (श्वास–प्रश्वास प्रणालीको माथिल्लो हिस्सा) लाई मजैले संक्रमित गर्छ, तसर्थ बढी संक्रामक हुन्छ । यद्यपि फोक्सोलाई कम असर गर्ने भएकाले यो भेरियन्ट कम घातक छ । प्रतिरोधी प्रणाली बलियो हुँदा भाइरसको घातकपना स्वभावतः घट्ने सम्भावना बढ्दै जान्छ । हामीसँग सन् १८८९–९२ इन्फ्लुएन्जा गराउने ओसी ४३ कोरोना भाइरस अहिलेको सामान्य रुघाखोकीको कारण हो भन्ने सिद्धान्त पनि छ ।
दुई वर्षदेखि कोभिड–१९ भाइरससँग लडाइँ लडिरहेका हामीमा देखिएको अति आत्मविश्वास, बेवास्ता वा दिक्दारी खतराको संकेत हो । दिक्दारीपन वा भ्रमपूर्ण आशा सबै ठाउँमा देख्न सकिन्छ । अमेरिकामा २७ जनवरीसम्ममा ७० प्रतिशत युवा जनसंख्याले पूर्ण रूपमा खोप लगाइसक्दा लगाउनुपर्ने बुस्टर खोप भने ४४ प्रतिशत युवाले मात्रै लगाएका हुनाले प्रगति रोकिएको देखिन्छ । अमेरिकाका अधिकांश अभिभावक बालबच्चा स्कुल जाऊन् भन्ने चाहन्छन् । तर, पाँचदेखि ११ वर्षका २० प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन् । यो दिक्दारी वा बेवास्ताले सन् १९२० को बेवास्ताको झल्को दिन्छ । यसले हामी भाइरसलाई उपेक्षा गर्न थालेका छौँ भन्ने देखिन्छ । नतिजा एक औसत साताको तुलना गर्ने हो भने कम घातक भए पनि अमेरिकामा ओमिक्रोन भेरियन्टले गत सेप्टेम्बरमा डेल्टा भेरियन्टले निम्त्याएकोभन्दा बढी मृत्यु गराएको छ ।
भविष्यमा भाइरस कम घातक हुने सम्भावना रहे पनि भाइरस समाप्त नै हुने देखिँदैन । यदि भविष्यका भेरियन्ट सफल हुने हो भने भाइरसले प्रतिरोधी क्षमतालाई छल्न सक्नेछ । यस्तो अवस्थामा भाइरस निकै घातक बन्न सक्छ । यस्तो अवस्था सन् १९२० मा मात्रै नभई सन् १९५७, १९६८ र २००९ को इन्फ्लुएन्जा महामारीमा समेत देखिएको थियो । सन् १९६० मा अमेरिकामा धेरै जनसंख्याले संक्रमण र खोपबाट सुरक्षा पाएपछि पनि सन् १९५७ र १९५८ मा भएका महामारीको उत्कर्षमा भन्दा बढी मृत्युदर देखिएको थियो ।
सन् २००९ को इन्फ्लुएन्जा महामारीमा पनि नयाँ संक्रमण गराउने भेरियन्ट सतहमा आएका थिए । बेलायतमा भएको एक अध्ययनअनुसार ‘महामारी अन्त्यपछि गम्भीर रोगको बोझ बोक्नुपर्ने अवस्था निम्तिएको भए पनि जनमानसमा इन्फ्लुएन्जाप्रति चासो घट्दै गएको’ देखिएको थियो । शोधकर्ताहरूले यसका लागि सरकारी नीतिलाई दोष दिएका थिए । पहिलो वर्ष सार्वजनिक स्वास्थ्य प्रतिक्रिया ‘अत्यधिक प्रभावशाली’ थियो भने दोस्रो वर्षमा सरकारको प्रतिक्रिया उदासीन रह्यो । नतिजा ‘मृत्यु र अस्पताल भर्ती एवं गम्भीर हेरचाह गर्नुपर्ने अवस्थामा अत्यधिक वृद्धि देखियो, जबकि यसरी मारिने वा बिरामी हुने काम गर्नलायक उमेरका मानिस थिए ।’
यस्ता नजिरबाट हामीले सचेत हुन जरुरी छ । यदि भाइरसको प्रतिरोधी क्षमता बढ्दैन र खोप र प्याक्सलोभिडलगायत एन्टी–भाइरल औषधि अर्बौं मात्रामा उत्पादन हुन्छ भने महामारीको अन्त्य हुनेछ । तर, महामारीको अन्त्य तत्काल सम्भव देखिँदैन । तत्कालको भविष्य भाइरस तथा भौतिक दूरी, खोप, मास्क एवं अन्य औषधिजस्ता निवारक उपायमा निर्भर रहेको छ । समाजका रूपमा हामीले निवारक उपायलाई बेवास्ता गरिसकेका छौँ, तैपनि व्यक्तिगत रूपमा सचेत हुने ठाउँ बाँकी नै छ । न्युयोर्क टाइम्सबाट