सामुदायिक नेटवर्कको अपरिहार्यता

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण

इन्टरनेट कनेक्टिभिटीलाई डिजिटल सीपसँग जोड्न र आजको शिक्षालाई पूरा गर्न सामुदायिक नेटवर्क अपरिहार्य छ


सामुदायिक सञ्जाल कम्प्युटर आइपीमा आधारित नेटवर्क हो, जुन समुदायले साझा रूपमा सञ्चालन गर्छ । समुदायलाई सहयोग, विस्तार र प्रविधिमय बनाएर नेटवर्किङ प्रविधिमार्फत समुदायलाई फाइदा हुने गरी स्थापित सञ्जाललाई सामुदायिक सञ्जाल भनिन्छ । सामुदायिक सञ्जालले मुख्यतया व्यक्ति, समूह, संगठन इत्यादिबीच सञ्चारको थप माध्यम प्रदान गर्छ । प्रायः वेब स्पेस, इमेल, इ–कुराकानी र अन्य सेवाहरू, जस्तै– फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्विटरजस्ता एप निःशुल्क रूपमा उपलब्ध हुने सामाजिक सञ्जाल हुन् । 

इन्टरनेट मानवजातिका लागि अत्यावश्यक छ । कम्प्युटर प्रयोग गर्ने सीप नभएकामा सामाजिक र आर्थिक जोखिम बढ्दै छ । हाम्रो उद्देश्य भनेको सरकार, संघसंस्था, संगठन र सबै जनसेवकलाई एकताबद्ध गराई डिजिटल साक्षरतामार्फत मानिसको जीवन परिवर्तन गर्नु हो । सार्वजनिक सूचना, समाचार, बैंकिङ, वित्त, इ–कमर्सजस्ता सेवा र अत्यावश्यक जानकारी बढ्दो रूपमा अनलाइनमा सर्दै जाँदा धेरै मानिस पहुँचविहीन भएका छन् ।

महामारीले लामो समयदेखि चलिरहेको डिजिटल डिभाइडको असमानतालाई झन् बढाएको छ । डिजिटल समानताको आवश्यकता पहिलेभन्दा झन् बढेको छ । वर्तमान अवस्थामा लगभग आधा संसार अझै पनि इन्टरनेटको पहुँचविहीन छ । बहुसंख्यक विकासशील र कम विकसित देशमा इन्टरनेट पहुँचमा ठूलो खाडल छ । हाल सामुदायिक सञ्जालहरूले ग्रामीण र पिछडिएका जनसंख्यालाई जोड्नुका साथै सशक्तीकरण र उद्यमशील बन्न उनीहरूलाई सूचना, शिक्षा, स्वास्थ्य, बैंकिङ सेवा र अन्य धेरै सेवामा पहुँच प्रदान गर्नु महत्वपूर्ण छ ।

सामुदायिक नेटवर्कले हाम्रा विद्यार्थी तथा शिक्षार्थीलाई घरमा इन्टरनेटको माध्यमबाट ज्ञान र शिक्षा प्राप्त गर्न मद्दत गर्दै डिजिटल सीप तालिम प्रदान गरेर डिजिटल डिभाइड हटाउन प्रयास गरेको छ । प्रविधिमा पहुँच भनेको आंशिक समाधान मात्र हो, तर इन्टरनेटको पहुँचसँगै सामुदायिक सञ्जालले सबैको आर्थिक उन्नति र सामाजिक रूपान्तरण गर्न मद्दत पुर्याएको छ । इन्टरनेट कनेक्टिभिटीलाई डिजिटल सीपसँग जोड्न र आजको शिक्षालाई पूरा गर्न सामुदायिक नेटवर्क अपरिहार्यजस्तै भइसकेको छ । सामुदायिक नेटवर्कका लागि सबैको हातेमालो जरुरी छ । हामीले इन्टरनेट पहुँच विस्तार गर्दा सामुदायिक सञ्जाल मोडेललाई देशभरका साझेदारसँग दोहोर्याएर थप डिजिटल समावेशीकरण केन्द्रहरू स्थापना गर्ने लक्ष्य लिनु जरुरी छ । सबैका लागि थप डिजिटल समावेशी संसार निर्माण गर्ने राष्ट्रिय उद्देश्य हुनुपर्छ । सामुदायिक नेटवर्कहरू तब सम्भव हुन्छन्, जब मानिस इन्टरनेट जडानका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मत गर्न एकजुट भएर अगाडि बढ्छन् । 

विश्वभरका अर्बौं मानिसका लागि अनलाइन इन्टरनेट प्राप्त गर्नु एउटा चुनौती बनेको छ । सन् २०२० मा कोभिड–१९ महामारीले गर्दा भएको राष्ट्रव्यापी लकडाउनका कारण डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भयो । विश्वभरका मानिस र संस्थाले नयाँ प्रविधिका माध्यमबाट पूर्ण रूपमा अनलाइन बैठक सञ्चालन गरे र कार्यालयको काम घरबाटै गरे । महामारीको समयमा विश्वभरका धेरै ग्रामीण र न्यून आय भएका समुदायमा भरपर्दो र सस्तो इन्टरनेट पहुँचको अभाव थियो । वायरलेस पहुँच चाँडै आधारभूत आवश्यकता बन्न पुग्यो र किफायती पहुँचको अभाव एउटा समस्या थियो । किनकि, यसले मानिसलाई सार्वजनिक स्वास्थ्य र सूचनादेखि शिक्षासम्मका डिजिटल सेवाको पहुँचबाट रोकेको थियो । 

सन् २०१७ मा इन्टरनेट सोसाइटी नेपालले पहिलो सामुदायिक सञ्जाल नेपालका विभिन्न भागमा स्थापना गरेको थियो र २०२० मा नेपाल इन्टरन्ट फाउन्डेसनले उत्तरगयामा सामुदायिक नेटवर्क स्थापना गरेको छ । स्थापनाकालदेखि नै सामुदायिक सञ्जालको भूमिका, सान्दर्भिकता र विकासलाई बुझ्न सामुदायिक नेटवर्कले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।  महामारीको समयमा सामुदायिक सञ्जालहरूले कठिन अवस्थामा पनि जानकारी फैलाउन, सूचना तथा समाचार पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

वास्तवमा डिजिटल रूपान्तरण कोभिडको समयमा र पछि पनि ठूलो अवसरका रूपमा रहेको छ । सामुदायिक सञ्जालको आवश्यकता, महत्व र अर्थपूर्ण पहुँचसँग सम्बन्धित विभिन्न आयामको अन्वेषण जरुरी छ । सामुदायिक सञ्जालहरूद्वारा प्रदान गरिएको सबैभन्दा महत्वपूर्ण फाइदामध्ये एक हो, सूचना प्रविधिको पहुँच । फलस्वरूप स्थानीय बासिन्दाले विश्वव्यापी ‘सूचना सुपरहाइवे’मा भाग लिने अवसर पाएका छन् । सामुदायिक सञ्जालले स्थानीयस्तरमा शिक्षाका अवसर उपलब्ध गराएका छन् । समुदायहरूले नेटवर्कमा पहुँच पाउन, सामाजिक सेवा, आर्थिक वृद्धि र विकासलाई समर्थन गर्ने गतिविधिमा संलग्न हुन सक्छन् ।

सामान्यतया सामुदायिक सञ्जालहरूले लाइसेन्स नभएका स्पेक्ट्रम ब्यान्डहरू प्रयोग गरी कम लागतको फ्री वाइफाई उपकरण निर्माण गर्छन् किनभने इजाजतपत्र प्राप्त ब्यान्डहरूले सञ्चालन लागत बढाउँछन् । आइटियूका अनुसार सन् २०१९ को अन्त्यसम्ममा विश्वको ५३.६ प्रतिशत जनसंख्याले इन्टरनेट प्रयोग गरिरहेको छ । अल्पविकसित देशको भागलाई हेर्ने हो भने विकसित देशहरूमा ८७ प्रतिशत जनसंख्याको तुलनामा १९ प्रतिशतले मात्रै इन्टरनेट सेवा पाएका छन् । त्यहाँ सामुदायिक सञ्जालले कम लागत र अन्तिम–माइल अन्तरसम्बन्धका रूपमा काम गर्न महत्वपूर्ण भूमिका खेल्छन् । सामुदायिक सञ्जालहरूले डिजिटल ग्यापलाई कम गर्न धेरै मद्दत गर्छन् । 

सुझावित समाचार