उडुपीका छात्रा र ‘खतरनाक’ मुसलमान महिला

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण

हिजाबका कारण कक्षाबाट छात्राहरू बहिष्करणमा परेको उडुपीको घटनाले स्पष्ट रूपमा मुसलमान महिलाका लागि शैक्षिक क्षेत्र उपलब्ध छैन भन्ने सन्देश दिएको छ


कर्णाटकको उडुपीमा हिजाब लगाएका कारण आठ मुसलमान छात्राको बहिष्करणले आठ वर्षअगाडिको मेरो अनुसन्धानको सम्झना दिलाएको छ । सन् २०१३ जनवरीमा आसामको नगाउ जिल्लाको मुसलमान बाहुल्य सरकारी विद्यालयकी एक शिक्षिकालाई भेटेकी थिएँ । खाजा खाने समयमा विद्यालयको प्रांगणबाट रंगीबिरंगी स्वेटर र पछ्यौरा ओढेका फुर्तिला छात्राहरू विद्यालयका गेटमा खाजा खरिद गर्न लामबद्ध थिए । 

गुलियो चियाको चुस्कीसँगै ती शिक्षिकाले मलाई ‘मलाई मिया (बंगाली मुसलमान) छात्राहरू अन्य छात्राभन्दा भिन्न लाग्छन् अर्थात् उनीहरू ‘हाम्रा’ अहोमिया (आसामका बासिन्दा) छात्राहरूभन्दा भिन्न छन्’ भनेकी थिइन् । शिक्षकका अनुसार सबैभन्दा प्रस्ट देखिने भिन्नता भनेको उनीहरू आफ्नो टाउको छोप्छन् । ‘यसरी टाउको छोप्नुका पछाडि उनीहरूले आफ्नो धार्मिक पहिचान सार्वजनिक गरेको भान हुन्छ । हिन्दू केटीहरू पनि धार्मिक हुन्छन्, तर उनीहरू आफ्नो धार्मिकता सार्वजनिक गर्दैनन्,’ शिक्षिकाले भनेकी थिइन् ।

टाउको छोप्नुले विद्यालयको पोसाक संहितालाई मिचेको छ । ‘यस्ता लुगा ‘हाम्रो’ संस्कृतिको हिस्सा होइन । व्यक्तिगत रूपमा यी छात्राले के लगाउँछन् वा लगाउँदैनन्, त्यो मेरो चासोको विषय होइन, तर अरू विद्यार्थी, अभिभावक र शिक्षकहरू टाउको छोप्ने वस्त्रप्रति आपत्ति जनाउँछन्,’ उनले भनेकी थिइन् । विभिन्न विद्यालयमा अनुसन्धान गर्दा ‘हामी’ (अहोमिया र हिन्दू) र  ‘उनी’ (बंगाली र मुसलमान) जनाउने थुप्रै छविहरू देख्न पाइएको थियो । यी सबै छविमा पर्दा/हिजाब लगाउने मुसलमानको सांस्कृतिक प्रचलनप्रति आलोचना देख्न पाइन्थ्यो । सबै मामिलामा मुसलमान छात्राका लुगाका प्रचलनलाई समस्याका रूपमा हेरिएको थियो र कुनै पनि शिक्षकले यो समस्याका लागि कुनै शैक्षिक एवं प्राज्ञिक जवाफ दिन सकेका थिएनन् । उनीहरूले मुसलमानपन वा मुसलमान पहिचानको सार्वजनिक प्रदर्शनीले सार्वजनिक क्षेत्र रहेको विद्यालयको धर्मनिरपेक्ष चरित्रलाई बिगारेको बताएका थिए ।   

अर्को भाषामा भन्ने हो भने टाउको छोपिनुले भारतका विद्यालयका पाठ्यपुस्तकमा देखाइने भारतमाताको छविबाट निःसृत स्वाभाविक हिन्दू बहुसंख्यक राष्ट्रवादलाई चुनौती दिएको थियो । अर्थात् भारत मातालाई बाहिरियाबाट (मुसलमानसहित) रक्षा गर्नुपर्ने अर्थ दिन्थ्यो । हामीले गहिरो गरी गढेको यो इस्लामद्वेष (इस्लामोफोबिया) विद्यालय वा भारतमा मात्रै संकुचित छैन भनेर बुझ्न जरुरी छ । बेलायतमा रहेका मेरा मित्र वृत्तमा रहेका ‘उदार’ हिन्दूहरू बुर्का पहिरेका मुसलमानलाई ‘छत्री’ (छाता) भनेर बोलाउँछन् ।   

यस कोणबाट हेर्दा चाहे कन्नड वा अहोमियाबाटै किन नहोस्, उडुपीका हिजाब पहिरिएका आठ मुसलमान छात्राहरूलाई आफ्नो कक्षाकोठाबाट भएको अहिलेको बहिष्करणले मुसलमानको विश्वव्यापी पहिचान छिन्नभिन्न हुँदै गरेको देखाउँछ । यी छात्रालाई भौतिक रूपमा कक्षा सञ्चालन भएदेखि विद्यालय प्रवेशमा रोक लगाइएको छ । मिडिया रिपोर्टअनुसार उनीहरू अनलाइन कक्षामा मात्रै सहभागी हुन पाएका थिए । 

उदेकलाग्दो के छ भने पोसाकको संरक्षणलाई ‘पहिचानमा एकरूपता’ जनाउने कामका रूपमा हेरिएको छ र छात्राको शैक्षिक एवं धार्मिक अधिकारको तुलनामा पोसाकको संरक्षणले बढी प्राथमिकता पाएको देखिन्छ । उडुपीका शैक्षिक संस्थाहरूले छात्राका शैक्षिक एवं धार्मिक अधिकारको संरक्षण गर्ने विभिन्न समावेशी पोसाकका थुप्रै उदाहरण भेट्न सक्छन् । उदाहरण बेलायत, न्युजिल्यान्डलगायत मुलुकमा कार्यक्षेत्रमा हिजाब पहिरिएका मुसलमान महिला अधिकारी वा पगडी पहिरिएका शिख अधिकारीलाई देख्न सकिन्छ । यति लेख्दै गर्दा उडुपी मामिला पहिचानको ‘एकरूपता’मा मात्रै भने अड्केको छैन ।

उडुपी मामिला हिन्दू सर्वोच्चतावादी काल्पनिकीको प्रतिनिधित्व पनि हो । यो काल्पनिकीमा ‘मुसलमान महिला’लाई मुसलमान पुरुष वा इस्लाम धर्मकै पीडितका रूपमा प्रस्तुत गरिन्छ । यो प्रवृत्तिले वास्तवमा हिन्दू बहुसंख्यकवादी काल्पनिकी र मुसलमान हीनाताबोधलाई मलजल गर्छ । राष्ट्रवादका अध्येताहरू यो प्रवृत्तिलाई स्त्रीजनित राष्ट्रवाद (फेमोनेसनलिस्ट) भाष्य भन्छन् । यस भाष्यअनुसार बहुसंख्यक समुदायले अल्पसंख्यक समुदायका महिलालाई आफ्नै समुदायको आन्तरिक पितृसत्तात्मक संरचनाबाट पीडित र रक्षा गर्नुपर्ने व्यक्तिका रूपमा हेर्छन् ।

सन् २००० ताका रोजर र प्याट्रिसिया जवरेले गरेको अनुसन्धानअनुसार उल्लिखित स्त्रीजनित राष्ट्रवादका कारण मुसलमान महिलाको प्रजनन क्षमता मिथकीय हुन्छ भन्ने जनसांख्यकीय दाबी गेरुवा (हिन्दुत्ववादी) समूहबाट बढ्दो रूपमा आइरहेको छ भन्ने देखाएको थियो । यद्यपि यो काल्पनिकी शिक्षामा मुसलमान छात्राको पहुँच कसरी बनाउने वा शिक्षाका लागि संघर्षरत मुसलमान छात्राका समस्या कसरी समाधान गर्ने भन्नेबारे अनभिज्ञ छ । यो अनभिज्ञता मुखर, दृश्यमान र तर्कशील मुसलमान युवती सफुरा जर्गरले सन् २०१९ मा नागरिकता संशोधन अधिनियम (सिएए) विरोध गर्दाका वेला बहुसंख्यकको हडबडाहटमा पनि देखिएको थियो ।

यदि मुसलमान महिला पीडित छन् भन्ने भाष्य कमजोर बन्छ भने हिन्दू सर्वोच्चता चकनाचुर हुन पुग्छ अन्ततः दृश्यमान् एवं मुखर मुसलमान महिला वा किशोरी खतराको संकेत बन्न पुग्छन् । नतिजा सार्वजनिक छवि बनाएका मुखर मुसलमान महिलालाई विचलित गर्न एवं चिढ्याउन यी महिलालाई लक्षित गरेर ‘बुल्ली बाई’ नामको लिलामी गर्ने एपहरू सतहमा आए । संक्षेपमा भन्ने हो भने उडुपीको घटनाले स्पष्ट रूपमा मुसलमान महिलाका लागि शैक्षिक क्षेत्र उपलब्ध छैन भन्ने सन्देश दिएको छ । र, केहीगरी यदि मुसलमान महिला दृश्यमान् एवं मुखर हुन्छन् र सत्यका पक्षमा बोल्छन् भने हामी बुल्ली बाई र सुल्ली डिल्सजस्ता एपहरूबाट चिढ्याउनेछौँ भन्ने सन्देश पनि प्रवाह गरेको हो । डेक्कन हेराल्डबाट      

सुझावित समाचार