आर्कविसप डेसमन्ड टुटुको जीवनबाट सिक्न सकिने अन्तरधार्मिक सद्भावनाको पाठ आजको भारतका लागि एकदम प्रासंगिक छ
आर्कविसप डेसमन्ड टुटुको डिसेम्बर २६ मा भएको निधनसँगै दक्षिण अफ्रिकाले रंगभेदविरोधी संघर्षका एक अन्तिम महान् हस्ती गुमायो । टुटु उनका कुनै पनि समकालीनभन्दा संसारको अन्तस्करणसँग बढ्ता नजिक थिए ।
मैले डेसमन्ड टुटुलाई पहिलोपटक जनवरी १९८६ मा टेलिभिजनको पर्दामा देखेको थिएँ । त्यसवेला म अमेरिकामा पढिरहेको थिएँ र टुटु अमेरिकीलाई रंगभेदबारे बताउन सो देशको भ्रमणमा थिए । अमेरिकीहरू त्यसवेला कहिले मौन रूपमा त कहिले मुखर रूपमा दक्षिण अफ्रिकाको नश्लवादी शासनलाई समर्थन गरिरहेका थिए । टुटुको विश्वासमा पश्चिमको आर्थिक दबाबले मात्र दक्षिण अफ्रिकाको रंगभेदी शासन प्रणालीलाई जातीय भेदभाव अन्त्य गर्न बाध्य पार्छ भन्ने थियो ।
अमेरिकाको भ्रमणका क्रममा टुटुले जनरल मोटर्सका प्रमुखसमेत देशका प्रभावशाली कर्पोरेट प्रमुखहरूसँग भेट गरे । साथमा उनले अमेरिकाका सबैभन्दा ठूला र समृद्ध विश्वविद्यालयका प्रमुखसँग पनि भेटघाट गरे । ती भेटमा उनले रंगभेदी दक्षिण अफ्रिकामा गरिएका लगानी फिर्ता लिन आह्वान गरेका थिए । भ्रमण अवधिमा टुटुलाई मार्टिन लुथर किंगसँग तुलना गरिँदै थियो । तर, टुटूले मार्टिन लुथर किंगसँगको तुलनालाई खारेज गर्दै पत्रकारसँग आफूभन्दा लुथर किंग निकै सुन्दर भएको टिप्पणी गरेका थिए । छोटो कद, गोलमटोल शरीर र छिरलिएको कपाल भएका टुटु आफूलाई आकर्षक मान्दैनथे । दक्षिण अफ्रिकामा लगानी गर्ने अमेरिकी विश्वविद्यालयमध्ये एउटा येल पनि थियो, जहाँ म काम गरिरहेको थिएँ । टुटूको अमेरिका भ्रमणले विद्यार्थीका अतिरिक्त शिक्षकको एक वर्गलाई पनि प्रभावित बनाएको थियो । उनीहरूले येल विश्वविद्यालयको लगानी विभाग (कर्पोरेसन) सँग सम्पर्क गरेर दक्षिण अफ्रिकी कम्पनीमा गरिएको लगानी फिर्ता गर्न आग्रह गरे । तर, कर्पोरेसनले घमन्डसाथ तिनको आग्रहलाई अस्वीकार गरिदियो ।
विश्वविद्यालयको हठविरुद्ध येलका विद्यार्थी पुस्तकालयबाहिर धर्नामा बसे । उनीहरू काठ र टिन प्रयोग गरेर झुप्रो घर बनाई त्यहीँ बस्न थाले । त्यहाँ बसेर उनीहरूले विश्वविद्यालयविरुद्ध गीत गाउने, नारा लगाउने र भाषण दिने काम गरिरहे । विद्यार्थीले रंगभेदविरोधी आन्दोलनका आइकन बनिसकेका मन्डेलाका फोटोहरू पनि टाँगेका थिए । मन्डेलालाई कारावास भएको बीस वर्षभन्दा बढी भइसकेको थियो ।

येलमा यो सब भइरहँदा म जीवनको तेस्रो दशकको अन्तिम चरणमा थिएँ । त्यसवेलासम्म मलाई दक्षिण अफ्रिकामा घटिरहेको घटनाक्रमबारे थाहा थिएन । दोष भारतीय सञ्चारमाध्यमको थियो । भारतमा रहँदा सञ्चारमाध्यमले सो मुलुकबारे कुनै खबर दिएको याद आउँदैन । सायद त्यहाँको रंगभेदी शासनसँग भारतको कुनै राजनीतिक सम्बन्ध नभएकाले पनि हुन सक्छ । टुटुलाई टेलिभिजनमा सुनेपछि, उनका भाषणसम्बन्धी रिपोर्ट पढेपछि र येलका बहुसंख्यक गोरा विद्यार्थीमाथि त्यसको ठूलो प्रभाव परेको देखेपछि ममा दक्षिण अफ्रिकामाथि चाख बढ्यो । भारत फर्केपछि मैले दक्षिण अफ्रिकाको राजनीतिलाई नजिकबाट पछ्याउन थालेँ ।
यसबीच दक्षिण अफ्रिकी रंगभेदी सरकारविरुद्ध प्रतिबन्धात्मक कदम उठ्न थाल्यो । सुरुमा नश्लवादी सत्ताको आलोचना गर्न अनिच्छा देखाएका मार्गरेट थ्याचर र रोनाल्ड रेगनले पनि विरोध जनाउन थाले । नेल्सन मन्डेला त्यतिवेला जेलमै थिए, तर उनलाई केही विदेशी आगन्तुकसँग भेट्ने अनुमति दिइन थाल्यो । विदेशी दबाब र देशभित्र बढेको संघर्षको बलसामु दक्षिण अफ्रिकाको रंगभेदी शासकहरू झुक्न बाध्य भए । सन् १९९४ मा सम्पन्न निर्वाचनमा नेल्सन मन्डेला राष्ट्रपति चुनिए ।
रंगभेदी शासन अन्त्यपछि सन् १९९७ र २००९ मा मैले पाँचपटक दक्षिण अफ्रिका भ्रमण गरेँ । यी भ्रमणमा मैले रंगभेदविरोधी संघर्षका केही उल्लेखनीय व्यक्तिसँग भेट गरेँ । पतनमा कवि मोन्जेन भ्याली सेरोट, समाजशास्त्री फातिमा मिर, न्यायकर्मी एल्बेई सैस र इतिहासकार रेमन्ट सटरन थिए । ती व्यक्तित्वहरू साहसपूर्वक इतिहासका घाउलाई बिर्सिएर एक पूर्ण तथा बहु–नश्लीय लोकतन्त्र निर्माणमा लागेका थिए ।
तिनीहरू देशका विभिन्न जातीय पृष्ठभूमिबाट आएका थिए– अफ्रिकी, भारतीय, रंगीन, सेतो । मुख्यतः ती दक्षिण अफ्रिकामा आकार लिँदै गएको ‘इन्द्रेणी राष्ट्र’ (संयोगवश यो पदावली डेसमन्ड टुटूले नै प्रयोगमा ल्याएका थिए) को सजीव दृष्टान्त थिए । दक्षिण अफ्रिका भ्रमणमा मैले आर्कविसप टुटूसँग भेट्ने अवसर पाइनँ । यद्यपि, २००५ मा टुटु बेंग्लोर आउँदा मलाई उनको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा निम्तो दिइएको थियो । त्यसवेला उनीसँग बीस मिनेट कुराकानी गर्ने अवसर पाएँ ।
व्यक्तिगत भेटघाट र परिचय नभएको भए पनि टुटुको निधनमा म अहिलेजत्ति नै दुःखी हुने थिएँ । किनभने उनी आफ्नो देशमा मात्र होइन, अन्य देशमा समेत नैतिकताको उदाहरणका रूपमा चिनिने सायद अन्तिम व्यक्ति हुन सक्छन् । उनी दक्षिण अफ्रिकाको अन्तर–आत्मा थिए, जसले रंगभेदी शासनको क्रूरताको प्रत्यक्ष विरोध गरे । साथै, उनले रंगभेद अन्त्यपछि बनेको अफ्रिकी राष्ट्रिय कंग्रेस सरकारमा बढेको भ्रष्टाचार र वंशवादको खुलेर आलोचना पनि गरे । टुटु जहाँ–जहाँ अन्याय हुन्थ्यो, त्यसको विरोधमा बोल्थे । चाहे त्यो प्यालेस्टाइन बस्तीमा इजरायलले गरेको ज्यादती होस् या म्यानमारमा रोहिंग्यामाथि उनकै मित्र आङ सान सुकी नेतृत्वको शासनले गरेको कारबाही होस् । इसाई धर्मगुरु भएर पनि उनी सो धर्मको अभ्यासप्रति उदार थिए । जस्तो– उनी अन्य धार्मिक परम्पराका अनुकरणीय व्यक्तिको प्रशंसा गर्दै भन्थे, ‘भगवान् क्रिस्चियन छैनन् ।’
दक्षिण अफ्रिकाका दिवंगत आर्कविसपको जीवनबाट दक्षिण एसियाली देशहरू, त्यसमा पनि भारतले राम्रो पाठ सिक्न सक्छ । विशेष उनको अन्तरधार्मिक सद्भावनाको पाठ आजको भारतका लागि एकदम प्रासंगिक छ ।
द टेलिग्राफबाट
(गुहा भारतका इतिहासकार हुन्)