आँबुखैरेनी–गोरखा सडकको बाह्रकिलो बजारबाट, छेपेटार, बालुवा, बारपाक हुँदै ६० किलोमिटर यात्रा गरेपछि गुप्सीपाखा पुगिन्छ, गोरखा सदरमुकामबाट बसमा सात घन्टामा र मोटरसाइसकलमा ६ घन्टामै गुप्सीपाखा पुगिने वडाध्यक्ष राज गुरुङले बताए
समुद्री सतहबाट २८ सय मिटर उचाइमा रहेको धार्चे गाउँपालिका–४ गुप्सीपाखाको एकीकृत नमुना बस्ती निकै रमणीय बनेको छ । बौद्ध, गणेश, शृंगी र हिमचुली हिमालसँगै गुप्सीपाखा हिउँको पछ्यौरीले ढाकेपछि निकै मनमोहक र आकर्षक बनेको हो । बाक्लो हिउँ जमेको एकीकृत बस्तीका तस्बिरहरूले सामाजिक सञ्जालका वालसमेत सेताम्मे भएका छन् । यी दृश्यले जो कोहीलाई अहिले नै गुप्सीपाखा घुम्न जाऊँजाऊँ बनाएको छ ।
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एकै आकारका पाँच सय ७३ घर निर्माण गरेको छ । एउटै शैलीको झुरुप्प बस्ती गुप्सीपाखा एकीकृत नमुना बस्ती घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न यहाँका सामुदायिक होमस्टे पनि तयारी अवस्थामा छन् ।
लाप्राक घुम्न आउने पर्यटकको सहजताका लागि स्थानीय अगुवा मिलेर गत कार्तिकदेखि होमस्टे सञ्चालन भएको छ । पाँच सय ७३ घर रहेको बस्तीमा अहिले पाँच घरमा होमस्टे सुरु गरेको लाप्राक नमुना बस्ती होमस्टे समितिका अध्यक्ष दलवीर गुरुङले बताए । ‘होमस्टेमा एउटा बेडको शुल्क दुई सय ५०, सादा खानाको दुई सय, ब्रेक फास्टको एक सय ५० तोकिएको छ । यहाँ आउने पाहुनालाई स्थानीय अर्गानिक खाना खुवाउँछौँ,’ उनले भने ।
होमस्टेमा फापरको रोटी, आलुका विभिन्न परिकार, च्याउ, कोदो, मकै, सिलामको अचार, सागसब्जी, लोकल कुखुराको मासु र विभिन्न परिकार उपलब्ध रहेको गुरुङले जानकारी दिए । यहाँका होमस्टे रहेका एउटा घरमा ६ देखि सातजनासम्म रहन सक्नेछन् । पाँचवटा होमस्टेमा ४०–४५ जना बस्न सक्ने उनले जानकारी दिए ।
कसरी पुग्ने गुप्सीपाखा ?
आँबुखैरेनी–गोरखा सडकको बाह्रकिलो बजारबाट, छेपेटार, बालुवा, बारपाक हुँदै ६० किलोमिटर यात्रा गरेपछि गुप्सीपाखा पुगिन्छ । गोरखा सदरमुकामबाट बसमा सात घन्टामा र मोटरसाइकलमा ६ घन्टामै यहाँ पुगिने वडाध्यक्ष राज गुरुङले बताए । तर, बस सेवा भने बारपाकसम्म मात्र भएकाले त्यहाँबाट माथि जिपमा जानुपर्छ ।
गुप्सीपाखाबाट के हेर्ने ?
एकीकृत बस्तीनजिकै रहेको नादुडाँडाबाट माछापुच्छे« हिमाल, अन्नपूर्ण हिमशृंखला, लाङटाङ, हिमालचुली, बौद्ध, गणेश, शृंगी हिमाल देख्न सकिन्छ । छिमेकी जिल्ला धादिङ र लमजुङका केही भूभागसमेत अवलोकन गर्न सकिने वडाध्यक्ष राज गुरुङले बताए ।
यस्तै, एकीकृत बस्तीनजिकै रहेको हिउँचुली सामुदायिक सांस्कृतिक संग्रहालय, गुरुङ जातिको क्वाइपो भवन, इमाससिंह पार्क, पर्यटकीय धार्चे डाँडा, नप्पै तथा सम्बेखर्क, गुम्दागाउँ, यामगाउँ, केरौजा र सिङ्ला गाउँ पनि यहाँबाट देखिन्छ । आधा घन्टाको पैदल यात्रामा लाप्राक पुरानो गाउँसमेत पुग्न सकिन्छ ।
उद्यमी गाउँ बनाउन होमस्टे चलायौँ : अध्यक्ष गुरुङ
धार्चेमा घुम्न आउने पर्यटकको सहजताका लागि र उद्यमी गाउँ बनाउने लक्ष्यका साथ दुई महिनाअघि एकीकृत बस्तीमा होमस्टे सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘धार्चेलाई उद्यमी गाउँ बनाउने हाम्रो लक्ष्य हो । भूकम्पले गर्दा लाप्राकलाई धेरैले चिने । अब पर्यटकीयस्थलका रूपमा चिनाउने प्रयास गर्दै छौँ,’ उनले भने, ‘त्यसैले हामीले एकीकृत नमुना बस्तीबाट होमस्टे सुरुवात गरेको हौँ ।’
लाप्राक घुम्न आउने पर्यटकलाई उत्तरी गोरखा र गाउँका बारेमा जानकारी दिनुका साथै होमस्टेमा आउने पर्यटकलाई थप सहज बनाउन सूचना घर निर्माण गरेको वडाध्यक्ष राज गुरुङले जानकारी दिए ।