फेरि उकालो लाग्दै कोरोना

डिजिटल संस्करण

भारतमा शनिबार मात्र १,४१,९८६ जनामा कोरोना देखिएको छ, छिमेकमा भयावह रूपमा बढिरहेको संक्रमणको असर नेपालमा पनि देखिन थालेको छ, एक सातादेखि संक्रमितको संख्या दैनिक उकालो लागिरहेको छ, अस्पतालहरूमा संक्रमितको चाप बढ्न थालेको छ, खासगरी पश्चिमी नाका भएर भित्रिनेमा संक्रमणदर धेरै देखिएको छ

सीमामा कडाइ गर्न निर्देशन दिएका छौँ : प्रदीपकुमार कोइराला, प्रवक्ता, गृह मन्त्रालय

भारतमा संक्रमण बढेको छ, त्यसकारण नाकामा कडाइ गर्न भनेका छौँ । खोप प्रमाणपत्र हेर्न भनिएको छ । कुनै नाकामा प्रवेश रोक लगाउनेबारे भने हालसम्म माथिबाट कुनै निर्देशन आइसकेको छैन । 

नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएसँगै केही दिनदेखि उकालो लागेको कोरोना संक्रमणदर सात प्रतिशत नाघेको छ । शनिबार १३ हजार दुई सय ६४ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएकोमा नौ सय ४४ नमुना अर्थात् ७.११ प्रतिशतको नतिजा पजिटिभ आएको छ । 

कुल संक्रमितको ५१ प्रतिशत काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा तीन सय ६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ नमुनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांकले काठमाडौं जिल्लामा मात्रै कुल संक्रमणको ३८.३४ प्रतिशत रहेको देखाउँछ । 

शुक्रबार देशभर १४ हजार नौ सय ७१ नमुना परीक्षणमा नौ सय ६८ को नतिजा पजिटिभ आएको थियो । संक्रमितको संख्या शनिबारको भन्दा धेरै भए पनि संक्रमणदर ६.४६ प्रतिशत थियो । काठमाडौं उपत्यकामा कुल संक्रमणदर ३७.४२ प्रतिशत थियो । शुक्रबार काठमाडौंमा दुई सय ८४, ललितपुरमा ६२ र भक्तपुरमा २३ संक्रमित भेटिएका थिए । काठमाडौं जिल्लाको संक्रमितको संख्या मात्रै कुल संक्रमितको २९.३३ प्रतिशत थियो । 

आइतबारयता संक्रमित र संक्रमणदर दुवै निरन्तर उकालो लागिरहेको छ । देशभर आइतबार संक्रमणदर २.८३ प्रतिशत, सोमबार २.६० प्रतिशत रहेकोमा मंगलबार ४.२१, बुधबार ४.२३ र बिहीबार ४.४६ प्रतिशत थियो । संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या ६ हजार एक सय ४० पुगेको छ । 

यी नाकामा मन लाग्दा मात्र परीक्षण 
दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट नाका, रौतहटको गौर नाका र सिराहाको मदर हेल्थ डेस्कमा मन लाग्दा मात्रै परीक्षण हुने गरेको छ । नियमित परीक्षण नै छैन । पुलघाट १६ पुसयता चार दिन मात्रै केही नमुनाको परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । थोरै मात्रै परीक्षण हुने गौर नाकामा पनि १९ पुसमा चारजनामा मात्रै कोरोना पुष्टि भएको छ । प्रभावकारी परीक्षण नभएको सिराहाको मदर हेल्थ डेस्कमा पनि २१ पुसमा दुईजनामा संक्रमण पुष्टि भएको थियो ।

रसुवाको गोसाइँकुण्ड हेल्थ डेस्कमा १६ पुसदेखि हालसम्म कसैको पनि कोरोना जाँच भएको छैन । इलामको पशुपतिनगर हेल्थ डेस्कमा पनि अहिलेसम्म कोरोना परीक्षण सुरु भएको छैन । 

स्वास्थ्य मन्त्रायका सचिव डा. रोशन पोखरेल भन्छन्– अहिलेको मुख्य चुनौती नाका व्यवस्थापन नै हो
अहिले सीमानाकाबाट दैनिक करिब चार हजारको संख्यामा मानिसहरू नेपाल प्रवेश गरिरहेका छन् । हामीले कोरोना संक्रमण बढेपछि नाकामा परीक्षण बढाएका छौँ । देश भित्रिनेमध्ये ६० प्रतिशतसम्म परीक्षण हुन थालेको छ । स्थानीय तहले आइसोलेसन सेन्टरहरू बनाएको खबर पनि पाएका छौँ । संक्रमितलाई आइसोलेसनमा राख्न थालिएको छ । समुदायमा संक्रमण नपुगोस् भनेर हामीले परीक्षण र क्वारेन्टिनलाई कडाइ गरेका छौँ । अहिले हाम्रो चुनौती भनेको हवाईमार्ग नभएर सीमानाका नै हो ।

देशको एक मात्र अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन विमानस्थलमै छैन नियमित परीक्षण
देशको एक मात्र अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन विमानस्थलमै परीक्षण फितलो छ । स्वास्थ्यकर्मीले यात्रुले ल्याएको स्वास्थ्य रिपोर्ट हेर्ने र ज्वरो नापेर मात्रै छाड्ने गरेका छन् । शंकास्पद लागेका सीमित यात्रुको मात्रै एन्टिजेन परीक्षण हुने गरेको छ । १६ पुसमा सातजना र १८ पुसमा तीनजनाको परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको थियो । १७ पुसमा त परीक्षण नै भएन । १९ पुसमा एकजनाको मात्रै परीक्षण गर्दा उनको पजिटिभ रिपोर्ट आयो । २० पुसमा पनि कसैको परीक्षण भएन । २१ र २२ पुसमा एक–एक जनाको परीक्षण गर्दा दुवैको पजिटिभ रिपोर्ट आएको छ । २३ पुसमा फेरि परीक्षण भएन । 

माघ पहिलो सातादेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई तेस्रो डोज खोप 
संक्रमण बढेसँगै अग्रपंक्तिमा खटिनेलाई माघको पहिलो सातादेखि तेस्रो डोज खोप दिन स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अतिरिक्त डोज दिने तयारी भएको हो । त्यस्तै, माघको दोस्रो सातादेखि प्रतिरोधी क्षमता कम भएका र ६० वर्षमाथिका सबै नागरिकलाई अतिरिक्त डोज दिने तयारी पनि गरेको छ । यसअघि २० पुसबाट अतिरिक्त जोड दिने भनिए पनि स्थगित भएको थिाये । 

सरकार अझै पर्ख र हेरको रणनीतिमा 
कोरोना संक्रमण फेरि तीव्र गतिमा बढिरहँदा देशमा ठूला–ठूला सभा–सम्मेलनजस्ता कार्यक्रम भइरहेका छन् । तर, सरकार तत्काल यस्ता कार्यक्रममा रोक लगाउने पक्षमा देखिएको छैन, अझै पर्ख र हेरको रणनीतिमा छ । 

‘यो हप्ताको संक्रमणको अवस्था हेरेर मात्र विभिन्न क्षेत्रमा रोक लगाउनेबारे निर्णय लिने कुरा भएको छ,’ शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कोभिड– १९ निर्देशक समितिको बैठकमा सहभागी एक मन्त्रीले भने, ‘भारतमा जस्तै संक्रमण तीव्र भए अर्काे सातादेखि नियन्त्रण सुरु हुन्छ ।’ 

शुक्रबार बसेको बैठकले कुनै पनि क्षेत्रमा रोक लगाउने निर्णय गरेको थिएन । बैठकमा प्रधानमन्त्री देउवाले अस्पतालको क्षमता बढाउन, अक्सिजन, भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री जोहो गर्न तथा खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका थिए । 

खासगरी अहिले भारतसँगको सीमानाकाबाट जोखिम बढिरहेको छ । ती नाकामा कडाइ गर्न निर्देशन भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘भारतमा संक्रमण बढेको छ, त्यसकारण नाकामा कडाइ गर्न भनेका छौँ,’ उनले भने, ‘खोप प्रमाणपत्र हेर्न भनिएको छ ।’ कुनै क्षेत्रमा रोक लगाउनेबारे हालसम्म कुनै निर्देशन प्राप्त नभएको उनले बताए ।

अस्पतालमा उपचाररत संक्रमितको संख्या पनि एक सातामा दोब्बर

कोरोना संक्रमण फेरि उकालो लागेसँगै अस्पतालमा बिरामीको चाप पनि बढेको छ । अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या एक सातामै दोब्बर भएको छ । १८ पुसमा देशभरका अस्पतालमा दुई सय २४ जना बिरामी थिए । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणअनुसार अस्पताल भर्ना हुने बिरामीको संख्या पाँच सय नौ पुगेको छ । १८ पुसयता निरन्तर अस्पताल भर्ना हुनेको संख्या बढेको छ । अस्पताल भर्ना हुनेको संख्या बढेपछि आइसियू र भेन्टिरलेटरमा हुने बिरामीको संख्या पनि यो एक सातामा करिब सयकै हाराहारी छ । संक्रमण भर्खरै बढ्न थालेकाले अस्पताल भर्ना हुनेको  संख्या बढ्न थालिसकेको र अब आइसियू र भेन्टिरलेटरमा पनि यो साताबाट बिरामीको संख्या बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । 

भारतसँग जोडिएका नाकामा भइरहेको परीक्षणमा संक्रमितको संख्या बढ्दै गइरहेको छ

  • झुलाघाट : १६ पुसमा २६ जनाको परीक्षण गर्दा संक्रमण देखिएको थिएन । २३ पुसमा १२ जनामा संक्रमण देखियो । 
  • गड्डाचौकी : १६ पुसमा परीक्षण नै गरिएको थिएन । २३ पुसमा भयावह ढंगले बढेर ४९ जनामा कोरोना देखिएको छ ।
  • त्रिनगर : यो नाका भएर १६ पुसमा आएका ३५१ जनाको परीक्षण गर्दा एकजनामा मात्रै संक्रमण देखिएको थियो । २३ पुसमा ६५ जनामा संक्रमण देखियो । 
  • जमुनाह : १६ पुसमा ३६६ जनाको परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिएको थिएन । तर, २३ पुसमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । 
  • कृष्णनगर : १६ पुसमा भित्रिएका ४८ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको थिएन । २३ पुसमा भने सातजनामा संक्रमण पुष्टि भएको छ । 
  • बेलहिया : १६ पुसमा तीनजनामा संक्रमण देखिएको थियो, एक सातापछि २३ पुसमा ६१ जनामा पुष्टि भएको छ ।
  • वीरगन्ज : १६ पुसमा यो नाका भएर भित्रिएका ९१ जनाको परीक्षण गर्दा तीनजनामा कोरोना देखिएको थियो । २३ पुसमा ११ जनामा देखिएको छ । 
  • रानी भन्सार : १६ पुसमा ६३ जनाको परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको थियो । २३ पुस अर्थात् शुक्रबार पनि दुईजनामा संक्रमण देखिएको छ । 
  • काँकडभिट्टा : १६ पुसमा भित्रिएका कसैमा पनि संक्रमण देखिएको थिएन । २३ पुसमा ११ जनामा संक्रमण देखिएको छ । 

प्रचण्ड र नारायणकाजीलाई संक्रमण, प्रधानमन्त्री पनि आइसोलेसनमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डलाई संक्रमण पुष्टि भएको स्वकीय सचिव गंगा दाहालले बताइन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । चिकित्सकको सल्लाहअनुसार प्रचण्ड आइसोलेसनमा बसेका छन् ।

यस्तै, अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको हो । उनी पनि आइसोलेसनमा छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लमा पनि संक्रमण पुष्टि भएको छ । माओवादीका अरू केही केन्द्रीय नेतामा पनि कोरोना देखिएको छ । 

उता प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेसनमा बसेका हुन् । आइतबार प्रधानमन्त्री देउवाको कोरोना परीक्षण हुनेछ । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा, प्रचण्ड र श्रेष्ठ सहभागी थिए । प्रचण्डमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्तागठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

See More On

सुझावित समाचार