जोगबनी नाकामा छैन स्वास्थ्य सतर्कता

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण

खुला आवतजावतले गर्दा विराटनगर जोगबनी नाकामा कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि जाँच परीक्षण प्रभावकारी हुन सकेको छैन । 
कोभिड संक्रमण रोकथाम र नियन्त्रण गर्न विराटनगर महानगरपालिकाले कोरोना संक्रमणकालदेखि नै  हेल्थ डेस्क राखे पनि विराटनगर जोगबनी मुख्य नाकामा ओमिक्रोन भेरियन्ट चेक जाँच प्रभावकारी हुन नसकेको हो । 

विराटनगर जोगबनी नाकामा किनमेल गर्नेहरूसहित दैनिक पाँच हजारभन्दा बढी मानिस आवतजावत गर्छन् । भारतको विभिन्न स्थानबाट दैनिक रूपमा पाँचदेखि ६ सयको संख्यामा नेपाल आउने गर्छन् । तर, नाकामा विराटनगर महानगरपालिकाले राखेको हेल्थ डेस्कमा दैनिक एक सय  जनाजतिको मात्र एन्टिजेन परीक्षण हुने गरेको छ । नाकामा भारतबाट नेपाल आउनेहरूको अभिलेख पनि राख्ने गरिएको छैन । शंकास्पद व्यक्तिहरूलाई मात्र सोधपुछ गर्ने गरिएको छ । 

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार १९ पुसदेखि २१ पुससम्म नाकामा गरिएको एन्टिजेन परीक्षणमा एकजना नेपाली र तीनजना भारतीय कोरोना संक्रमित फेला परिसकेका छन् ।  

हेल्थ डेस्कमा जनशक्ति कम 

नाकामा राखिएको हेल्थ डेस्कमा एकजना ल्याब टेक्निसियनसहित अनमि र एचए गरेर जम्मा आठजना स्वास्थ्यकर्मी परिचालित छन् । महानगरपलिका र प्रदेश सरकारले नयाँ भेरियन्ट चेकजाँचका लागि थप जनशक्ति थपेको छैन । सीमिति जनशक्तिले गर्दा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूलाई हेल्थ डेस्कसम्म आएकाहरूको ज्वरो नाप्ने र एन्टिजेन परीक्षण गर्नै भ्याइनभ्याई छ । साँझबिहान र दिउँसो लामो दूरीको  रेल आउने भएकोले सुरक्षाकर्मीको सहयोगमा भारतबाट नेपाल आउने शंकास्पद व्यक्तिहरूलाई अलि बढी निगरानी गर्ने गरिएको छ । 
१२ चैत ०७६ देखि लकडाउन भएको विराटनगर जोगबनी नाका १८ महिनापछि १६ असोज ०७८ मा मात्र दुवैतर्फ पूर्ण रूपमा आवतजावत खुला भएको थियो । 

साना नाकाहरूमा छैन हेल्थ डेस्क 

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कोरोना संक्रमण नियन्त्रण गर्न र ओमिक्रोन नामको नयाँ भेरियन्ट भित्रिन नदिन प्रदेशका सबै मुख्य नाकाहरूमा उच्च सतर्कता अपनाएको दाबी गरे ।    

तर, मोरङको विराटनगर जोगबनी नाकाबाहेक अन्य साना नाकाहरूमा कतै पनि एन्टिजेन परीक्षण गर्ने गरिएको छैन । मात्र शंकास्पद व्यक्तिकाे सुरक्षाकर्मीले निगरानी गर्ने गरेका छन् ।  साना नाकाहरूमा राखिएका हेल्थ डेस्कहरू पनि हटाइएको छ । मोरङमा बुधनगर, मझारे, नोचा, कडरवोना, रंगेली, महादेवालगायत एक दर्जन साना नाकाहरू छन् ।  

सुझावित समाचार