कांग्रेसमा आन्तरिक सुशासन

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेसको आन्तरिक संकटको छिनोफानो महाधिवेशनले गर्छ भन्ने आमअपेक्षाविपरीत महाधिवेशन केवल पार्टीलाई संवैधानिक रूपमा अद्यावधिक गराउने  कर्मकाण्डमै सीमित भयो


कांग्रेसले भर्खरै आफ्नो महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशन लोकतान्त्रिक पार्टीका लागि सबैभन्दा तल्लो तहसम्म बसेका कार्यकर्ताबीच सम्पर्क, संवाद र सहकार्यकोे मौका हो । कांग्रेसका प्रतिबद्ध र इमानदार कार्यकर्ता देशको आवश्यकताअनुसारको कांग्रेस बनाउन संवादमुखी भएका छन् । यो बहस तल्लो तहमा सघन रूपमा उठे पनि माथिल्लो तहमा पुग्न सकेको छै्रन । कांग्रेस अब यथास्थितिमा चल्न सक्दैन । परिवर्तन अपरिहार्य छ । महाधिवेशनले नयाँ छलफल र सहमतिका निम्ति सबैलाई घचघच्याएको छ । जब कार्यकर्ताले कांग्रेसको भावी राजनीति, आन्तरिक लोकतन्त्र, शक्तिको बाँडफाँड र त्यो सुनिश्चित गर्ने प्रक्रियाका सन्दर्भमा सडक चौतारो, मेलापात र पानीपँधेरामा बहस र छलफल सुरु गर्छन्, कार्यकर्ता स्वाभिमानी हुने प्रक्रिया र दलीय लोकतन्त्र बल्ल प्रारम्भ हुन्छ ।

कांग्रेसभित्र राजनीतिक संकट सघन र व्यापक छ । कांग्रेसभित्रको संकटको छिनोफानो महाधिवेशनले गर्छ भन्ने थियो, तर महाधिवेशन केवल पार्टीलाई संवैधानिक रूपमा अद्यावधिक गराउने कर्मकाण्डमै सीमित भयो । दलको आन्तरिक निर्वाचन असाध्यै खर्चिलो भयो । प्रत्येक स्तरमा वर्चस्वशालीहरू मुखर भएर आए, जसले आफ्नै वरिपरि हुक्के, ढोके, बैठके, चम्चेहरूको भिड लगाएर आन्तरिक लोकतन्त्रलाई लात हाने । कांग्रेसका विभिन्न तहमा यस्ता पदाधिकारीको कमी छैन, जसले बिपी, गणेशमान चिनेको होस् र पार्टीको विधान पढेको होस् । छोटो बाटोबाट पार्टीमा स्थान ओगट्न पुगेकाले अहिलेका टड्कारा सवालसँग साक्षात्कार हुने कुरै भएन । यो संकटलाई महाधिवेशनपछिको कांग्रेसले कसरी व्यवस्थापन गर्छ ? अहिलेको गहन प्रश्न यही हो ।

महाधिवेशन नेता छनोट गर्ने अवसर मात्र होइन, बरु विचार प्रवद्र्धन गर्ने, विगतप्रति मन्थन गर्ने र आगतप्रति चिन्तन गर्ने मौकासमेत हो । यसलाई सहजतापूर्वक स्विकार्न र प्रतिबद्ध कार्यकर्ताका संगठित शक्ति संरचनालाई मजबुत बनाउन केन्द्रीय कार्यसमितिलाई केहीले नछेक्नुपर्ने हो । अहिलेको स्थितिमा सबै शक्तिको मिलनबिन्दु कांग्रेस नै हो । लोकतन्त्रलाई गति दिन कांग्रेसबाहेक विकल्प देखिँदैन । मुलुकको समस्या समाधान गर्न, जनतालाई थप अधिकारसम्पन्न बनाउन र लोकतन्त्रलाई व्यवस्थित गर्न कांग्रेसको विकल्प छैन । अहिलेको संविधानलाई मुच्र्छा परेको अवस्थाबाट मुक्त गर्न कांग्रेसले मात्र सक्छ । संविधान कार्यान्वयनको दिशामा कांगे्रसको नेतृत्वमा सबै एकै ठाउँमा आउन सक्छन् । संविधान निर्माण प्रक्रिया र घोषणाकालको परिस्थितिजन्य कारणले गर्दा मूच्र्छा पर्ने रोगबाट ग्रस्त हुन पुगेको छ ।

सर्वोच्च अदालतबाट यसलाई वेलावेला ब्युँताउने यत्न गरिए पनि फेरि मूच्र्छा पर्ने सम्भावना रहिरहन्छ । यस्तो स्थिति नआओस् भन्नका लागि यसको अति सघन उपचार जरुरी छ । यो संविधानको सघन उपचार भनेको सबै भूगोलका जनताले यसलाई स्वीकार गर्ने, तमाम मतान्तरका बाबजुद सबै राजनीतिक शक्तिले यसलाई गतिशील दस्ताबेजका रूपमा स्विकार्ने अवस्था कांग्रेसले मात्र सिर्जना गर्न सक्छ । देशको भौगोलिक अखण्डता र स्वतन्त्रतालाई खण्डित हुन नदिने बलियो शक्ति कांग्रेस मात्र हो भन्नेमा अधिकांश नेपालीको भरोसा छ । संविधानको निर्माण र कार्यान्वयनमा केही त्रुटि र कमजोरी रहेका कारण कहिले लोकतन्त्रमाथि आक्रमण भयो भने कहिले मुलुकको आन्तरिक एकतालाई खण्डित गर्ने प्रयत्न भयो । तर, कांग्रेसले सरकारको नेतृत्व सम्हालेका कारण त्यस्ता आक्रमणले शिर उठाउन सकेका छैनन् । 

राजनीतिबारे सामान्य ज्ञान राख्ने जोसुकैले ठम्याउन सक्छ– डा. शेखर कोइराला कांग्रेस सभापति पदका पाराजित प्रतिस्पर्धी हुन्, तर उनी विधानतः निर्वाचित केन्द्रीय सदस्य हुन् । यसबारे कांग्रेसको विधान प्रस्ट छ । डा. कोइराला कसैको अनुकम्पामा नभई विधानले दिएको प्रावधानका कारण केन्द्रीय सदस्य बनेका हुन् । देशभित्रको संकट टार्न कांग्रेसले आपूmभित्रको संकट र समस्यालाई दरीमुनि लुकाएर हुँदैन । कांग्रेस विधानको दफा ६५ मा उल्लेख छ– पार्टीका सबै तहका कार्यसमितिका सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ ।’ यसले निकटतम प्रतिस्पर्धीको योग्यता र क्षमताको कदर गर्नुपर्ने मान्यता स्थापित गरेको छ । 
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले भन्नुभएको छ– महाधिवेशनपछि म सबैको सभापति हुँ । उहाँको यो भनाइअनुसार कांग्रेसको भावी दिशा निर्धारण गर्न कांग्रेस विधानको निःसर्त पालना गर्नुपर्छ । पार्टी सभापतिका नीति र व्यवहार पूर्वानुमान योग्य हुनुपर्छ ।

महाधिवेशनका क्रममा देखिएको तुस मेट्ने जिम्मेवारी र उदारता पार्टी नेतृत्वकै हो । समझदारीको प्रत्येक प्रयत्नलाई लत्याउने र धोका दिने काम भयो भने यसले विजेता नेतृत्वले दल कब्जा गर्न खोजेको प्रस्टिन्छ । यस संकटलाई जति लम्ब्यायो, कांग्रेसको आन्तरिक संरचना उति नै ध्वस्त हुने निश्चितप्रायः छ । पार्टी नेतृत्वले आफ्नो क्षमता र सामथ्र्यमा आत्मविश्वास राख्न सक्नुपर्छ, जसको आफ्नो क्षमता र सामथ्र्यमा विश्वास हुँदैन, ऊ प्रतिस्पर्धाको राजनीतिबाट बाहिरिन्छ नै । साथै, ऊ कांग्रेसको गौरवशाली इतिहासबाट पनि बाहिरिन्छ ।

सुझावित समाचार