जात समावेश गर्ने कमेडी आवश्यक छ

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

अन्तिम नाम अर्थात् थरले मानिसको विभाजन गर्ने स्वेच्छाचारी व्यवस्थाभन्दा हाँसो उठ्दो विषय अरू के हुन सक्छ ?


कमेडी (हास्यव्यंग्य) र जात सम्भवतः कहिल्यै भेट नभएका अनन्य मित्र हुन् । यी मित्र एक–अर्कालाई कति सम्झिन्छन्, त्यसबारे पनि बेखबर छन् । यदि कमेडीको मिलन जातसँग भयो भने हामीले उत्कृष्ट कमेडी सामग्री पाउनेछौँ । एकपटक विचार गरिहेरौँ । अन्तिम नाम अर्थात् थरले मानिसको विभाजन गर्ने स्वेच्छाचारी व्यवस्थाभन्दा हाँसो उठ्दो विषय अरू के हुन सक्छ ? अमेरिकी फिल्म सिरिजका पात्र इन्डियाना जोन्सले खजाना खोजेझैँ करिब डेढ अर्ब मानिस अन्यका थर खोज्नपट्टि लाग्छन् किनभने आफू अरूभन्दा कति ‘काम नलाग्ने’ छु भन्ने पत्ता लगाउन सकियोस् । 

वास्तवमा जात कमेडी हो । यद्यपि, जातले निम्त्याउने अनुभव कमेडी पक्कै होइन । हरेक विवेकशील मानिसले जातविरुद्ध विद्रोह गर्छ । जसरी नश्लले स्पष्ट रूपमा शारीरिक बनोट छुट्याउने काम गर्छ, जातले त्यसरी व्यक्तिलाई छुट्याउँदैन । यद्यपि, हामी यति चलाख छौँ कि हामीले जात पत्ता लगाउने र समाजको एकतामा खलल पु¥याउने संयन्त्र निर्माण नै गरेका छौँ । हामीले केवल अवलोकन मात्रै गरिदिनुपर्छ, जात सर्वव्यापी छ । जातबारे कुराकानी हुँदा हामी जातलाई बेवास्ता गर्न सक्दैनौँ । जब हामी कुनै रेस्टुराँमा जान्छौँ, अर्डर लिने कामदार र काउन्टरमा बस्ने व्यक्तिको भिन्न सामाजिक पुँजी भएको पाउँछौँ । त्यसैगरी अर्डर लिने वेटरको सामाजिक पुँजी टेबल पुछ्ने वा भाँडा माझ्ने कामदारको भन्दा भिन्न हुन्छ । यसो हुनुको कारण जन्मजात पेसा तोक्ने जात व्यवस्था हो ।                  

भारतका उदार एवं मध्यम वर्गीय मानिस थुप्रै मुद्दामा राय दिन्छन्, तर जब जातको विषय आउँछ, तब यो मुद्दामा आफ्नो विशेषाधिकार जोगाउन सजिलै मौन बसिदिन्छन् । यो सब अवैतनिक श्रमका कारण भएको हो । यो समस्या सम्पत्तिको असमान वितरणले गराएको हो । र, हामी शताब्दीयौँदेखि जातीय उत्पीडनका माध्यमबाट पाउँदै आएको विशेषाधिकारलाई खारेज गरेर ‘सक्षमता’को डम्फु बजाउँछौँ ।      

त्यसो भए जातसँग जोडिन कमेडीले के गर्न सक्छ त ? कमेडियन (हास्यव्यंग्यकार) निश्चित वर्ग एवं जातका प्रतिनिधि हुन्, जसले आफ्नो जस्तै थर भएका दर्शक–श्रोतालाई कज्याउने वा हँसाउने काम गर्छन् । जब कमेडियनहरू जातसम्बन्धी मुद्दा उठान गर्ने प्रयास गर्छन्, तब ती पनि असफल हुन पुग्छन् । स्ट्यान्ड अप कमेडी (मञ्चमा दर्शकका अगाडि गरिने कमेडीको प्रस्तुति) मूलतः सहरकेन्द्रित हुन्छ । कमेडियनहरू ‘आफ्नै जस्तो थर’ भएकामाथि ठट्टा गर्न असहज महसुस गर्छन् ।

नयाँ विषयवस्तु ल्याउनुको साटो कमेडियनहरू स्थापित भाष्यमा मात्रै चासो राख्छन् । जातलाई कमेडीको भाष्य केले बनाउला त ? के हामी त्यसलाई उन्मूलन गर्न सकौँला ? कमेडीका सर्जकले श्रोतामाझ सर्वव्यापी रहेको तर कसैले स्विकार्न नखोज्ने जातबारे नयाँ रचना गर्न आवश्यक छ । वास्तवमा यस्तो सिर्जना गर्नु भनेको कुनै आफन्तको घरमा पूजा भइरहेका वेला अपान वायु छाड्नुजस्तो हुनेछ । 

अमेरिकालगायत मुलुकमा ब्ल्याक कमेडी (अश्वेत समुदायका मुद्दा उठाउने गरी गरिने हास्यव्यंग्य) कमेडीकै एक विधा हो । हामी यो विधाको कमेडीमा हाँस्छौँ र कमेडीका माध्यमबाट आएका प्रतिबद्धतालाई सरहाना पनि गर्छौं । जीवन्त अश्वेत व्यापारिक समुदाय, रेस्टुराँ–बार, क्लब र बजारका कारण ब्ल्याक कमेडी सम्भव भएको हो ।

भारतमा भने कमेडीको बजार धर्मनिरपेक्ष छैन । त्यही भएर यो बजारलाई भारतको बृहत् विविधतासँग जोड्नुपर्छ । भारतलाई विविधता स्वीकार गर्ने कमेडी उपभोग गर्ने उपभोक्ताको आवश्यकता छ । हामी आफूले भोगेका व्यक्तिगत अनुभवलाई ठट्टाका रूपमा प्रस्तुत गर्न सक्छौँ । जातसँग सम्बन्धित ठट्टा दलितबाट सुरु गरेर दलितमै टुंगिनु आवश्यक छैन । जात भनेको ब्राह्मण पनि हो, बनिया पनि हो र शूद्र पनि हो । यदि कमेडियनले आफ्नो परिवारसँग समय बिताउँछन् भने उनीहरूले यस विधामा स्वतः पर्याप्त सामग्री पाउन सक्छन् । 

पछिल्ला केही समययता केही युवा कमेडियनले जातलाई आफ्नो कमेडी प्रस्तुतिमा समेट्ने प्रयास गरेका छन् । उनीहरूले सफलतापूर्वक प्रस्तुति दिएका छन् र टाउको फुट्नबाट जोगिन पनि सफल भएका छन् । खासमा हामी नयाँ विषयवस्तुलाई खोतल्छौँ भने अनावश्यक हास्य सामग्री चोरी वा सापटी लिनुपर्दैन । अहिले कमेडीमा जातलाई स्थापित गर्ने वेला भएको छ किनभने यो मौलिक हास्य बन्न पुग्छ, जहाँ हामी सामाजिक रूपमा लड्न–भिड्न सक्छौँ । कमेडीसँगै जिम्मेवारी पनि जोडिएर आउँछ । वास्तवमा कमेडी यस्तो विधा हो, जहाँ दर्शकलाई बेवास्ता गर्न मिल्दैन । कमेडियनको हास्य सामग्री प्रस्तुतिलाई दर्शकले मात्रै सार्थकता दिन सक्छन् । 

यदि स्ट्यान्ड–अप कमेडी र समग्रमा मनोरञ्जन उद्योगले आफ्नो पहिचानलाई दिगो बनाउने हो भने विधा समावेशी र शिक्षाप्रद हुनैपर्छ । यसका लागि हाम्रो इतिहासलाई कलाकारहरू र जातविरोधी प्राज्ञिक क्षेत्रसँग जोड्ने विचारको कार्यशाला एक राम्रो सुरुवात हुन सक्छ । मनोरञ्जन उद्योगले जातविरोधी उत्सव आयोजना गरेर पनि प्रोत्साहन गर्न सक्छ । हामीले दलित पृष्ठभूमिका हास्य कलाकारलाई मञ्च प्रदान गर्न आवश्यक छ । सुरुवाती रूपमा जोसँग कमेडीको मञ्च छ, उसले आफ्ना जातको यथार्थलाई नलुकाई प्रस्तुत गर्नुपर्छ । हामीले जातमा हाँस्नु भनेको हामी धार्मिक कट्टरता, कुरूपता, पितृसत्ता, लिंगद्वेषमा हाँस्नु हो । त्यसो भए जात विरोधको नयाँ अस्त्रका पक्षमा हाँसोको सुरुवात किन नगर्ने ? द इन्डियन एक्सप्रेसबाट 

सुझावित समाचार