देशभर एक करोड ३५ लाख डोज खोप अट्ने ‘कोल्ड रुम’ तयार

विराटनगर, जनकपुर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा नयाँ ‘कोल्ड रुम’ विस्तार

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण
देशभर एक करोड ३५ लाख डोज खोप अट्ने ‘कोल्ड रुम’ तयार

टेकु अस्पतालमा कोभ्याक्स सुविधाअन्तर्गत खोप राख्न जडान गरिएको ‘कोल्ड रुम’

कोरोनाविरुद्धका ३० लाख डोज खोप मात्रै अट्ने शीतभण्डार (कोल्ड रुम) भएको नेपालले बढाएर एक करोड ६५ लाख क्षमतामा विस्तार गरेको छ । सरकारले एक करोड ३५ लाख डोज अट्ने थप नौवटा भण्डार बनाएको हो ।  ४०–४० हजार लिटरका काठमाडौंमा दुईवटा तथा विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा एक–एकवटा भण्डार विस्तार गरेको हो । प्रत्येकमा १५ लाख डोजका दरले खोप भण्डारण गर्न सकिन्छ । 

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्रप्रसाद मरासिनीले अब जति खोप आए पनि भण्डारणमा कुनै समस्या नहुने बताए । ‘एक करोड ३५ लाख डोज हट्ने थप भण्डार विस्तार भएपछि अब खोप भण्डारणमा समस्या हुँदैन,’ उनले भने । मरासिनीका अनुसार हाल देशभर करिब एक करोड डोज खोप मौज्दात छ । शुक्रबार मात्रै ५० लाख सिरिन्ज खोप युनिसेफमार्फत प्राप्त भएको छ । थप आउने क्रम जारी छ । 

महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले खोपको आयात बढेसँगै दातृ निकायको सहयोगमा कोल्ड रुम बनाइएको बताए । देशभर कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन तयारी तीव्र पारिएको उनले बताए । यसअघि नियमित खोपका लागि देशभर २८ वटा कोल्ड रुम रहेकामा कोरोनाविरुद्धका खोप राख्न ११ कोल्ड रुम खाली गरिएका थिए । तर, यतिले भण्डारण क्षमता धान्न नसक्ने भएपछि नौवटा कोल्ड रुम थप गरिएको हो ।  विगतमा स्वास्थ्य सेवा विभागका दुई कोल्ड रुम, विराटनगर, केन्द्रीय भ्याक्सिन स्टोर पथलैया, हेटौँडा स्टोर, सुर्खेत र धनगढीमा गरी ३० लाख खोप भण्डारण क्षमता थियो । अब प्रत्येक प्रदेशमा २० लाखभन्दा बढी डोज खोप भण्डारण क्षमताका कोल्ड रुम तयार भएका छन् । 

कति खोप आयो कतिले लगाए ? 
जनसंख्या : 
तीन करोड तीन लाख ७८ हजार ५५ 
लक्षित जनसंख्या :
एक करोड ९९ लाख २२ हजार १६४ 
हालसम्म खोप 
प्राप्त मात्रा : तीन 
करोड ९२ लाख तीन हजार ९२७ डोज
प्रयोग भएको 
खोप : दुई करोड ३० लाख ९५ हजार ६४७ डोज
 

सुझावित समाचार