घोराही कारागारबाट भागेका कैदी अझै भेटिएनन्

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

दाङको घोराही कारागारका कैदी भागेको तीन दिन बित्दा पनि प्रहरीले भेट्टाउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय दाङले खोजी गरिरहेको छ। 

शुक्रबार लमहीको मुसोटस्थित बेलदमारको जंगलमा यमराज परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल भने फेला परेको थियो। तर, उनी भने अझै फेला पार्न नसकेको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने, ‘मान्छे कहाँ पुग्यो भनेर थाहा पाउन ट्रेसिङ हुँदै छ,’ उनले भने, ‘ढिलोचाँडो  हामीले उनलाई पक्राउ गरेरै छोड्छौँ।’  

उनलाई भगाउन सहयोग गरेको भन्दै एकजना  प्रहरी जवानसहित ६ जनालाई पक्राउ गरिसकेको काफ्लेले बताए। सिसिटिभी फुटेज र कल डिटेलका आधारमा प्रमाणसहित पक्राउ गरिएको उनले बताए।  

जेलर र सुरक्षा प्रमुख तानिए 
कैदीका नाइके ३२ वर्षीय यमराज परियार भागेपछि घोराही कारागारका जेलर र सुरक्षा प्रमुखलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा तानिएको छ। कर्तव्यज्यान मुुद्दामा जन्मकैद सजाय पाएका परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको भन्दै कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालय तानिएको छ भने सुरक्षा प्रमुुख, प्रहरी निरीक्षक रुद्रबहादुर सेन ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो। 

छालाको उपचार गर्न भनेर कैदी परियारलाई प्रहरी जवानको मोटरसाइकलमा राखिए पनि अस्पताल नपुगेर सीधै घोराहीको थकाली होटेलमा गएको प्रहरीले बताएको छ। जवानको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर गएका थिए।

उनी कुनै पनि बिरामी नभएको भन्दै नियोजित तरिकाले भगाइएको प्रहरीको निष्कर्ष छ। बिहीबार बिहान ११ बजे घटना भए पनि साँझ ४ बजे मात्रै जानकारी आएको भन्दै यसमा पनि शंका रहेको प्रहरीले बताएको छ। 

२० वर्ष जेल सजाय तोकिएका परियारले ७ वर्ष कैद भुक्तान गरिसकेका थिए। परियारले आफ्नी प्रेमिकाको हत्या गरेको ठहर गर्दै अदालतले कैद सजाय सुनाएको थियो।

सुझावित समाचार