दुर्लभ जलस्रोतको विवेकपूर्ण व्यवस्थापन मध्यपूर्व क्षेत्रमा बढ्दो जनसंख्या विस्थापनलाई रोक्ने एक महत्वपूर्ण उपाय हो
वैश्विक खानेपानी अभाव वा विश्वव्यापी आप्रवासन संकटको छलफल हुँदा मध्यपूर्व र उत्तर अफ्रिका (मेना) क्षेत्रलाई विशेष चासोका रूपमा हेरिन्छ । यद्यपि, मेना क्षेत्रसँग सम्बन्धित खानेपानी अभाव र आप्रवासनलाई जोडेर छलफल वा बहस बिरलै हुने गरेको छ । यस क्षेत्रमा हुने खानेपानीको अभाव र आप्रवासनलाई धेरै समयसम्म बेवास्ता गर्न सकिँदैन । हालैको विश्व बैंकको रिपोर्टअनुसार खानेपानी अभावले विश्वव्यापी रूपमा हुने आप्रवासनको वृद्धि १० प्रतिशतले बढाएको छ ।
मेना क्षेत्र निःसन्देह सबैभन्दा बढी खानेपानी अभाव हुने क्षेत्र हो । विश्वका १७ सबैभन्दा बढी खानेपानी अभाव भएका मुलुकमा गणनामा यस क्षेत्रका ११ मुलुक रहेका छन् । यो क्षेत्रका झन्डै दुईतिहाइ मुलुकलाई हालको आर्थिक गतिविधिलाई जोगाइराख्न आवश्यक शुद्ध पानीको कमी रहेको छ । जनसंख्या वृद्धि हुँदै जाँदा सन् २०५० सम्ममा प्रतिव्यक्ति पानी उपलब्धता ५० प्रतिशतले घट्ने देखिएको छ । मेना क्षेत्र वैश्विक जलवायु परिवर्तनको प्रभावमा पर्ने एक प्रमुख क्षेत्र बनेको छ अर्थात् जलवायु मोडेलहरूले यो क्षेत्रमा वैश्विक औसतभन्दा २० प्रतिशत तापमान वृद्धि हुने देखाएको छ । जलवायु परिवर्तनले पहिले नै अत्यधिक एवं प्रतिकूल खडेरी र बाढी निम्त्याएको छ, जसले यो क्षेत्रको खानेपानी असुरक्षा बढाएको छ ।
त्यसबाहेक धेरै मुलुक राजनीतिक अस्थिरता, कमजोर सरकार र बढ्दो सामाजिक–आर्थिक एवं जातीय विभाजन पनि खेपिरहेका छन् । खाडी मुलुक र इजरायलबाहेक अन्य मुलुकसँग जलवायु परिवर्तन विशेषतः जलवायु परिवर्तनले निम्त्याएको खानेपानी अभावको सामना गर्न पर्याप्त आर्थिक एवं प्राविधिक स्रोत–साधनको उपलब्धता छैन । सन् २०५० भित्रमा दुई गुणाले जनसंख्या वृद्धि हुने गरी मेना क्षेत्रको जनसंख्या तीव्र गतिले बढिरहेको छ । यस क्षेत्रमा सहरीकरण पनि तीव्र गतिले बढिरहेको छ । बढ्दो जनसंख्या वृद्धिले यो क्षेत्रमा खाद्य उत्पादन बढाउनका निम्ति कृषि विस्तारको माग पनि बढ्दो छ । यद्यपि उष्ण जलवायु र बढ्दो मरुभूमीकरणले यो क्षेत्रको कृषिमा गैरदिगो रूपमा शुद्ध पानीको प्रयोग बढिरहेको छ । वैश्विक रूपमा कृषिमा प्रयोग हुने औसत पानी ७० प्रतिशत रहेको छ भने मेना क्षेत्रमा यो आकडा ८५ प्रतिशत रहेको छ ।
मेना क्षेत्रमा विश्वभरका १४ प्रतिशत आप्रवासी (शरणार्थीसहित) रहेका छन् । यस सन्दर्भमा खाडी क्षेत्रमा खानेपानी आपूर्ति समुद्री पानीको प्रशोधनबाट गरिन्छ । विश्वकै ७० प्रतिशत पानी प्रशोधन प्लान्टहरूको सहयोगबाट खाडी मुलुकले पानी आपूर्ति गरिरहेका छन् । तर, प्रशोधित पानीका स्वास्थ्य एवं वातावरणीय दुष्परिणामहरू पनि रहेका छन् । र, मेना क्षेत्रका अधिकांश मुलुकमा खानेपानी व्यवस्थापनका लागि रणनीतिक योजना छैनन् । प्रशोधनजस्ता सजिलो उपायले खानेपानी अभावलाई थप बिकराल बनाइदिएको छ ।
मेना क्षेत्रमा हुने द्वन्द्व र युद्धले पनि खानेपानी अभाव र आप्रवासनको सम्बन्धलाई प्रभावित गरेको छ । उसो त यस क्षेत्रका मुलुकले जलस्रोतकै कारण युद्ध छेडेका छैनन् । यद्यपि विभिन्न मुलुकबीच नदी बाँडफाँडका कारण विवाद देखिएका छन् । नदीसम्बन्धी सम्झौता भए पनि ती सम्झौताले सहकार्य ल्याउन सकेका छैनन् । कथंकदाचित युद्ध हुन्छ भने युद्धले ठूलो जनसंख्यालाई विस्थापित गर्छ र जलस्रोत भण्डार एवं अन्य पूर्वाधारमाथि नियमित रूपमा क्षति गराउँछ । प्यालेस्टाइन क्षेत्रका विस्थापित जनतालाई एकछिन बिर्सिने हो भने पनि हालैका वर्षमा मेना क्षेत्रले सबैभन्दा बढी द्वन्द्व सिर्जित शरणार्थी बढाएको छ । अहिले करिब ७६ लाख शराणार्थी मेना क्षेत्रबाट आएका छन् । मेना क्षेत्रभित्रै २७ लाख शराणार्थी समाहित छन्, अर्थात् मेना क्षेत्रको एक मुलुकका शरणार्थीले मेना क्षेत्रकै अर्को मुलुकमा शरण लिइरहेका छन् । उदाहरणका रूपमा लेबनानलाई लिऊँ, जहाँ प्रत्येक चार व्यक्तिमा एकजना शरणार्थी छन् । शराणार्थीबाहेक द्वन्द्वका कारण एक करोड २४ लाख मानिस आन्तरिक विस्थापनमा परेका छन् । जनसंख्याको व्यापक विस्थापनले यो क्षेत्रको खानेपानी असुरक्षा बढाउँदै गएको छ ।
एक मुलुकबाट अर्को मुलुकमा बसाइँ सराइ गर्ने निर्णय सामान्यतया एक जटिल निर्णय हो । खानेपानी अभावकै कारण मानिसहरू पलायन हुन्छन् भन्नु एकांगी निचोड हो । सामान्यतया मानिसहरू पलायन हुनुअघि खानेपानी अभावकै अवस्थामा संघर्ष गर्छन् । वास्तवमा गरिबहरूमा पलायन हुने प्रवृत्ति कम रहेको हुन्छ, किनभने उनीहरूसित पलायन हुनका लागि आवश्यक जोखिम मोल्ने संसाधन हुँदैन । विश्व बैंकका अनुसार गरिब मुलुकका मानिस मध्यम आय भएका मुलुकका मानिसका तुलनामा चार गुणा कम पलायन हुन्छन् । अर्थात् मध्यम आय भएको मेना क्षेत्र खानेपानी अभावले गराउने आप्रवासनको जोखिममा रहेको छ ।
पानीको असुरक्षा नि:सन्देह मेना क्षेत्रमा बसाइँ सराइको प्रमुख कारणमध्ये एक हो । यद्यपि, यही नै प्रत्यक्ष कारण हो भनेर भन्नचाहिँ मिल्दैन । तैपनि यस क्षेत्रका लागि दिगो खानेपानी सुरक्षाको प्रत्याभूति गराउन ठोस कदम चाल्नु आवश्यक छ । तत्काल खानेपानी अभावको अवस्थालाई सम्बोधन गर्न अल्पकालीन उपाय मात्र होइन, संरचनागत जल व्यवस्थापनका समस्यालाई सम्बोधन गर्ने योजनाबद्ध दीर्घकालीन नीतिहरू पनि आवश्यक छन् । दुर्लभ जलस्रोतको विवेकपूर्ण व्यवस्थापन यस क्षेत्रमा बढ्दो जनसंख्या विस्थापनलाई रोक्ने एक महत्वपूर्ण उपाय हो ।
गल्फ न्युजबाट (स्वैन स्विडेनको उप्सला विश्वविद्यालयका प्राध्यापक हुन्)