माओवादीलाई महाधिवेशन ‘फिनिसिङ’को अवसर

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण

अन्य दलको भन्दा नयाँ सन्देशसहित महाधिवेशन सिजनको ‘फिनिसिङ’ गर्ने अवसरलाई माओवादी सम्मेलनले भरपूर उपयोग गर्न सक्नुपर्छ


राजनीतिक दलहरूको अधिवेशनको सिजन करिब–करिब अन्त्यतिर पुग्दै छ । मूलधारका प्रायः सबै राजनीतिक दलका महाधिवेशन र सम्मेलन यस वर्ष अभियानात्मक रूपमै अगाडि बढेका छन् । एमाले, राप्रपा र कांग्रेसका महाधिवेशनहरू सम्पन्न भइसकेका छन् र माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन छिटै सम्पन्न हुँदै छ । 

राजनीतिक दलहरूका महाधिवेशनले ती दलको आन्तरिक जीवनमा विचार, राजनीति, संगठन र नेतृत्वका क्षेत्रमा सापेक्षित फेरबदल त ल्याउँछ नै, त्यसका अतिरिक्त राष्ट्रिय राजनीति र अन्य राजनीतिक दलहरूको जीवनमा समेत प्रभावित गर्छ । एमालेको दसौँ महाधिवेशन चितवनमा केही साताअगाडि सम्पन्न भयो । जसले ‘केपी ओली इज एमाले’ भन्ने कुरा स्थापित गर्ने प्रयास ग¥यो । सम्मेलनले विचार, राजनीति, संगठन र नेतृत्व प्रणालीमा नयाँ सन्देश दिन नसके पनि पार्टी विभाजनको प्रभावलाई मत्थर पार्ने र पार्टीभित्र ओलीकै राज कायम छ भन्ने स्थापित गरेको छ । त्यसैगरी, राप्रपाको पनि महाधिवेशन सम्पन्न भयो, जसले एकातर्फ पार्टीभित्र निर्मल निवासको हस्तक्षेपकारी भूमिकालाई सतहमा ल्याइदिएको छ भने अर्कातर्फ राजनीतिक दलभित्र सेलिब्रेटीभन्दा संगठनात्मक नेतृत्व नै बलियो हुन्छ भन्ने कुरा स्थापित गर्न खोजेको देखिन्छ । 

भर्खरै सम्पन्न कांग्रेसको महाधिवेशनले आन्तरिक लोकतन्त्रको उत्कर्ष प्रस्तुत गर्दै केही नयाँ सन्देश दिन खोजेको छ । पुरानो पुस्ताका देउवालाई पार्टीको नेतृत्वमा निर्वाचित गरे पनि नेतृत्व पंक्तिमा युवापुस्ताको जबर्जस्त हस्तक्षेप स्थापित गरेको छ । कांग्रेसको महाधिवेशनले एकातर्फ राजनीतिक दलहरूमा पुस्तान्तरणको सन्देश प्रवाह गरेको छ भने अर्काेतर्फ आन्तरिक समीकरणको पर्वाह नगरी क्षमतावान् नेतृत्व पनि निर्वाचित हुन सक्छन् भन्ने सकारात्मक सन्देश दिएको छ । 

यी राजनीतिक दलहरू आन्तरिक लोकतन्त्रको अभ्यासमा रमाउँदै आएका छन् । राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीभित्रको आन्तरिक स्थितिले केही मात्रामा प्रभाव पारे पनि मूलतः निर्वाचन प्रणालीमार्फत नै संगठन र नेतृत्व निर्माण गर्ने संगठनात्मक प्रणालीमा अभ्यस्त हुँदै आएका पार्टीहरूमा गुटगत अन्तरविरोध र तिक्तता ध्वंसात्मक रूपमा समेत पुग्ने गरेको देखिन्छ । यद्यपि, पार्टीभित्र नेतृत्वप्रति फर्किनेभन्दा कार्यकर्तातर्फ फर्किने कुरालाई सकारात्मक रूपमा लिन सकिन्छ । 

राजनीतिक दलहरूको महाधिवेशन सिजनको अन्त्यमा माओवादी केन्द्रले यही ११ देखि १३ पुससम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ । माओवादी केन्द्रकै भनाइमा पुँजीपति वर्ग र मध्यम वर्गको नेतृत्व गर्ने यथास्थितिवादी राजनीतिक दलहरूले गरेको महाधिवेशनभन्दा फरक र क्रान्तिकारी सन्देश माओवादीको सम्मेलनले दिन सक्ला कि नसक्ला ? भन्ने विषयमा नेता–कार्यकर्ताबीच छलफल चल्न थालेको छ । 

उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दालाई उठान गर्दै ग्रामीण वर्गसंघर्ष, जनयुद्ध, जनआन्दोलन र संविधानसभाको प्रक्रियासम्म आइपुग्दा माओवादीले आफूलाई क्रान्तिकारी धारका रूपमा स्थापित गरेको छ । नेपालको सापेक्षतामा परिवर्तनकारी आन्दोलनमा सबैभन्दा जोखिमपूर्ण बाटो हिँडेर जनताका अजेन्डालाई राज्यको अजेन्डाका रूपमा स्थापित गर्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्वसहितको यो राजनीतिक व्यवस्था स्थापनाको नेतृत्वदायी भूमिकामा माओवादी रह्यो । यसरी राजनीतिक आन्दोलनमा क्रान्तिकारी धारका रूपमा स्थापित भएको माओवादीको आसन्न राष्ट्रिय सम्मेलनले यो मुलुकको आर्थिक समृद्धि र सामाजिक न्यायसहितको आफ्नै मौलिकताको समाजवाद निर्माण गर्ने अभियानको नेतृत्व गर्ने हैसियत स्थापति गर्छ कि विगतको उपलब्धिमा रमाएर अन्य राजनीतिक दलहरूजस्तै निर्वाहमुखी कार्यदिशामा रमाउँछ ? राजनीतिक वृत्तमा छलफल चलिरहेको छ ।

आजको परिवर्तन र राजनीतिक व्यवस्थाविरोधी प्रतिगामी शक्तिहरू सुदृढ तथा एकताबद्ध भएर प्राप्त राजनीतिक उपलब्धिलाई उल्ट्याउने चेष्टा गरिरहेका छन् । विद्यमान वस्तुगत र आत्मगत अवस्थालाई अध्ययन गर्दा माओवादीको राष्ट्रिय सम्मेलनले दुइटा कार्यभार पूरा गर्नैपर्ने अवस्था छ । एकातर्फ आजको परिवर्तन तथा यी राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व छ भने अर्कातर्फ आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्यायसहितको समाजवाद निर्माणको नेतृत्व गर्नु छ । विचार, सिद्धान्त र कार्यदिशाले मात्रै होइन, आमनेता, कार्यकर्ता र जनतालाई अपिल गर्न सक्ने स्पष्ट कार्यक्रम प्रस्तुत गर्न जरुरी छ । 

माओवादीको राष्ट्रिय सम्मेलन तयारीकै सन्दर्भमा करिब आठ लाख पार्टी सदस्य सहभागी भएर टोल सम्मेलन, स्थानीय पालिका सम्मेलन र प्रदेश सम्मेलनहरू सम्पन्न भइसकेका छन् । स्थानीय पालिकासम्म आइपुग्दा उत्साहपूर्वक सम्पन्न भएको तयारीको यो अभियान प्रदेश सम्मेलनसम्म आइपुग्दा केही अन्योल देखा परेको छ । पार्टीको संघीय संरचना निर्माण गर्दा प्रदेशमा कुन तहको नेतृत्वलाई जिम्मेवारी दिने ? र, आन्तरिक जनवादलाई कसरी व्यवस्थित गर्ने ? भन्ने प्रश्नमा केही जटिलता देखा परेका छन् । 

कांग्रेस महाधिवेशनले एकातर्फ राजनीतिक दलहरूमा पुस्तान्तरणको सन्देश प्रवाह गरेको छ भने अर्कातर्फ आन्तरिक समीकरणको पर्वाह नगरी क्षमतावान् नेतृत्व पनि निर्वाचित हुन सक्छन् भन्ने सकारात्मक सन्देश दिएको छ

आवधिक महाधिवेशन र आन्तरिक जनवाद वा आन्तरिक लोकतन्त्रको अभ्यासको क्षेत्रमा माओवादीलाई लाग्ने गरेको एउटा जबर्जस्त आरोप छ । माओवादीले न आवधिक महाधिवेशन गर्छ, न त आन्तरिक जनवाद वा लोकतन्त्रको अभ्यास नै गर्छ । यी आरोप माओवादी आन्दोलन र पार्टीका लागि खासै महत्वपूर्ण होइनन् । यद्यपि, माओवादीको आसन्न सम्मेलनबाट संगठनात्मक पद्धतिमा केही नयाँ विकास गर्छ कि आजकै निर्वाहमुखी र तदर्थवादी संगठनात्मक प्रद्धतिको चक्रव्यूहमा फसिरहन्छ ? यो महत्वपूर्ण विषय हो । पार्टीको क्रान्तिकारी विचार र कार्यदिशालाई कार्यान्वयन गर्ने भौतिक शक्ति संगठन हो ।

क्रान्तिकारी विचार र कार्यदिशा निर्माण गर्ने तर त्यो विचार र कार्यदिशालाई कार्यान्वयन गर्न सक्ने संगठनात्मक पद्धतिमा विकास गर्न सकिएन भने क्रान्तिकारी विचार र कार्यदिशा कागजमा मात्र सीमित हुने निश्चित छ । माओवादीको आसन्न राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी पार्टी निर्माणको सन्दर्भमा स्पष्ट जवाफ दिन जरुरी छ । पार्टीका स्थानीय सम्मेलन तथा प्रदेश सम्मेलनका अन्तरवस्तुको अध्ययन गर्दै पछिल्लो चरणमा सम्पन्न जनवर्गीय संगठनका सम्मेलन तथा कार्यविभाजनको सकारात्मक र नकारात्मक शिक्षासहित पार्टी संगठनमा नयाँ ढंगले सोच्न आवश्यक छ । पार्टी र जनतालाई जोड्ने महत्वपूर्ण सञ्जालका रूपमा रहेका जनसंगठनलाई जुझारु र प्रभावकारी बनाउन समयसापेक्ष विधिमा विकास गर्नैपर्छ ।

पार्टी शान्ति–प्रक्रियामा आएदेखि नेकपा निर्माणको प्रक्रियासम्म सम्पन्न पार्टी एकता र विभाजनको वस्तुनिष्ठ समीक्षा निर्मम ढंगले गर्न जरुरी छ । माओवादी आन्दोलनले स्थापित गरेका यति धेरै नेता–कार्यकर्ता माओवादी आन्दोलनको मूलधारबाट किन विचलित भए ? मोहन वैद्य, बाबुराम, विप्लवलगायत नेताले एकपछि अर्काे पार्टी वा समूह किन निर्माण गरे ? नेकपा निर्माण र विभाजनसम्म आइपुग्दा एकता र विभाजनलाई हामीले कसरी बुझ्ने ? अनि बादल, लेखराज, टोपबहादुर, मणि र प्रभुलगायतको विचलनमा आत्मगत तथा वस्तुगत कारणको चित्तबुझ्दो जवाफ खोज्ने कि नखोज्ने ? यी विषयमा छलफल हुन जरुरी छ ।

आज पनि माओवादी आन्दोलन क्रान्तिकारी धार नै हो र माओवादी केन्द्र नै माओवादी आन्दोलनको मूल धार हो भने विगतका एकता र विभाजनको वस्तुसंगत समीक्षा गर्दै क्रान्तिकारी ध्रुवीकरणको अपिल र नेतृत्व पनि यही सम्मेलनबाट गर्न जरुरी छ । अर्काेतर्फ पार्टी संगठनभित्रको जनवादी केन्द्रीयताको पद्धतिमा हामीले थप विकास गर्नैपर्छ । हामीले अवलम्बन गरिरहेको जनवादी केन्द्रीयताको अभ्यासले पार्टी र आन्दोलनलाई मद्दत पु¥याइरहेको छ कि छैन ? हामीले कार्यकर्तातर्फ फर्केको नेतृत्व र जनतातर्फ फर्किएको पार्टी निर्माण गर्न खोजेका छौँ कि चाकडी र दास मनोवृत्ति स्थापित गर्न खोजिरहेका छौँ ? माओवादीको राष्ट्रिय सम्मेलनले जवाफ दिनैपर्छ । 

माओवादीले घोषणा गरेझैँ राष्ट्रिय सम्मेलनबाट संघीय संरचना र समावेशी प्रतिनिधित्वसहितको पार्टी निर्माण गर्ने हिम्मत गर्न सक्छ कि सक्दैन ? त्यसैगरी युवाको हस्तक्षेपकारी सहभागिता पुस्तान्तरणको बहसमार्फत पार्टीमा रक्तसञ्चार पैदा गर्ने साहस गर्न सक्छ कि सक्दैन ? पार्टीभित्रका युवाको सकारात्मक हस्तक्षेप पुग्छ कि पुग्दैन ? माओवादी पंक्तिमा छलफल सुरु भएको छ । 

माओवादी आन्दोलनमा नयाँ ब्रेक र छलाङ जरुरी छ । जनतालाई अपिल गर्न सक्ने र मुलुकलाई नेतृत्व गर्न सक्ने विचार, कार्यदिशा तथा नेतृत्वसहित नयाँ संश्लेषण माओवादीको राष्ट्रिय सम्मेलनले गर्नु छ । के अन्य राजनीतिक दलहरूको भन्दा नयाँ सन्देशसहित महाधिवेशन सिजनको फिनिसिङ गर्ने अवसरलाई माओवादी सम्मेलनले निर्वाह गर्न सक्ला ? सक्नैपर्छ । अन्यथा, यथास्थितिवादी राजनीतिक शक्तिहरू सृदृढ तथा एकताबद्ध हुने र क्रान्तिकारी शक्ति रक्षात्मक अवस्थामा रहने कुराले माओवादी आन्दोलन मात्रै होइन, आजको राजनीतिक परिवर्तन र यसको जगमा स्थापित विद्यमान राजनीतिक व्यवस्थासमेत समाप्त हुने खतरा छ । माओवादी आन्दोलनलाई जनताको भरोसायोग्य समाजवादी शिविरका रूपमा स्थापित गर्ने अन्तिम अवसर बाँकी छ । तर, समय धेरै छैन । (भण्डारी माओवादी केन्द्रका नेता हुन्)

सुझावित समाचार