जिडिपीले प्राकृतिक वातावरण, स्रोतको सीमित उपलब्धता र मानवीय सुख–समृद्धिलाई नजरअन्दाज गर्ने हुनाले अब जिडिपीको विकल्प खोज्नुपर्ने वेला आएको छ
पछिल्लो ७० वर्षयता कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई मुलुकको आर्थिक उन्नतिको मापन गर्ने मापदण्डका रूपमा लिइँदै आएको छ । तर, जिडिपी प्रस्ट रूपमा आर्थिक गतिविधिबाट सिर्जित मौद्रिक लाभ हो । जिडिपीले प्राकृतिक वातावरण, स्रोतको सीमित उपलब्धता र मानवीय सुख–समृद्धिलाई नजरअन्दाज गर्छ । यस अर्थमा अब जिडिपीको विकल्प खोज्नुपर्ने वेला भइसकेको छ ।
आर्थिक वृद्धिमा प्रकृतिको योगदान रहेको तथ्यलाई उपेक्षा गर्ने जिडिपीले गैरदिगो अभ्यासलाई प्रोत्साहन गरेको छ, जसले जलवायु एवं जैविक संकट निम्त्याएको छ । अर्को भाषामा भन्ने हो भने जिडिपी एक यस्तो बहीखाता हो, जसले रातो मसी अर्थात् कुनै पनि किसिमको घाटालाई अस्वीकार गर्छ । लेखा विधिमा झैँ जिडिपीले प्राकृतिक वासस्थल एवं मानवीय कल्याणलाई तहसनहस गर्ने हरितगृह ग्यास उत्सर्जनको त्रुटिलाई अनदेखा गरेको छ ।
निश्चय पनि सन् १९३० को दशकको आर्थिक मन्दीपछि जिडिपीको अवधारणा ल्याउने साइमन कुज्नेट्सले हालको वातावरणीय विनाशको कल्पना गरेका थिएनन् । सीमितताका बाबजुद कुज्नेट्सले जिडिपी अहिलेको समयको मुख्य आर्थिक सूचकांक हो भन्नेचाहिँ पत्ता लगाएका थिए । जिडिपी मुख्य सूचकांक हुनाले वैश्विक तापमान वृद्धिलाई सीमित गर्न खोजिरहेका नीति–निर्माताका हात केही हदसम्म बाँधिएका छन् ।
यस सन्दर्भमा हामीले वैकल्पिक मापदण्डतर्फ ध्यान दिनुपर्छ । कुल पारिस्थितिक उत्पादन (जिइपी) लाई एक मापकका रूपमा लिन सकिन्छ, जसले आर्थिक गतिविधिमा प्रकृतिको योगदानको मूल्यांकन र मानवीय सुख–समृद्धिको लेखाजोखा गर्न सकोस् ।
यद्यपि, जिइपी गणना अनुसन्धान अहिले सुरुवाती अवस्थामा मात्रै रहेको छ तर जिइपीले सफा पानी, माटोको गुणस्तर, खाद्य सुरक्षा, स्वास्थ्य सेवा र मानवीय सुख–समृद्धिमा योगदान गर्ने सांस्कृतिक रूपमा महत्वपूर्ण क्षेत्रहरूलाई मौद्रिक मूल्य दिने प्रयास गर्छ । अर्को शब्दमा भन्नुपर्दा जिइपीले प्रकृतिको परागसेचकका रूपमा काम गर्ने माहुरीहरू, कार्बनलाई सोस्ने सिमसारहरू र प्रकृतिले मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई डलरको मूल्य दिनेछ ।
जब कि जिडिपीले उत्पादनको मूल्य वा प्रतिफल मात्र हेर्छ भने जिइपीले प्रकृतिको लगानीको मूल्य राख्छ र नीति–निर्मातालाई प्रकृतिमा लगानी गर्न प्रोत्साहन गर्छ । दुवै उपायलाई सँगै जोड्नु र समग्र आँकडालाई लिएर एक साथ आउनु अपरिपक्व हुनेछ, किनभने दुवै मापदण्ड धेरै क्षेत्रहरूमा मिल्न जान्छन् । तर, यी दुई उपायले नीति–निर्मातालाई परिपूरक जानकारी प्रदान गर्न सक्छन् अर्थात् भविष्यमा दिगो आर्थिक वृद्धिको ढोका खुल्न सक्छ ।
चिनियाँ सरकारले मेकोङ, याङ्त्जे र येलो नदीहरूको स्रोत रहेको तिब्बती पठारको दुर्गम क्षेत्र क्विङहाई प्रान्तमा जिइपीको कार्यान्वयन परीक्षण गरिरहेको छ । शोधकर्ताहरूका अनुसार सन् २००० मा जिइपी जिडिपीभन्दा अधिक थियो अर्थात् जिइपी ८१ अर्ब ५० करोड युआन थियो भने जिडिपी २६ अर्ब थियो । त्यस समयमा मानवीय आर्थिक गतिविधिभन्दा पारिस्थितिक गतिविधि बढी उपयोगी रहेको देखिन्छ । तर, सन् २०१५ मा जिइपी जिडिपीको लगभग तीनचौथाइ हिस्सामा समेटिन पुग्यो, अर्थात् जिइपी एक खर्ब ८५ अर्ब ४० करोड युआन थियो भने जिडिपी दुई खर्ब ४२ अर्ब युआन थियो । यसले वातावरणको मूल्यमा परम्परागत आर्थिक वृद्धिमा ठूलो लगानी भएको देखाउँछ ।
चाखलाग्दो विषय के छ भने क्विङहाई तीन ठूला नदीको स्रोत भएकाले यो प्रान्तले अन्य चिनियाँ प्रान्त र छिमेकी देशहरूको जिइपीलाई योगदान दिने गरी खानेपानी र उर्वर पोषणजस्ता पारिस्थितिक प्रणाली सेवाहरू ‘निर्यात’ गर्छ । क्विङहाईको पारिस्थितिक प्रणाली ‘निर्यात’को मूल्य मापन गर्ने क्षमताले छिमेकी क्षेत्रहरूले क्विङहाई प्रान्तलाई वित्तीय क्षतिपूर्ति भुक्तानी गर्ने प्रक्रियालाई पनि दिशा प्रदान गर्न सक्छ ।
यस्ता कार्यक्रमले पारिस्थितिक प्रणाली सम्पत्तिको संरक्षण र वृद्धि गर्न समुदायहरूका लागि आर्थिक प्रोत्साहन सिर्जना गर्न सक्छ । यसलाई विश्वव्यापी परिप्रेक्ष्यमा राखेर हेर्दा यस्तो देखिन्छ : यदि ब्राजिलका किसानले कार्बनको मात्रा सोस्ने रेन फरेस्टको व्यवस्थापन गरे भने युरोपेली देशहरूले रकम भुक्तान गर्नुपर्छ । त्यसैगरी म बसेको ठाउँ आयरल्यान्डमा जिइपीले सिमसार र वनजंगललाई अर्थतन्त्रमा योगदान दिने परिस्थिति निर्माण गर्न सक्छ । यो परिदृश्यमा आइरिस सहरहरूले ग्रामीण क्षेत्रहरूलाई उनीहरूले उत्पादन गरेको कार्बन सोस्न वा मानसिक स्वास्थ्य एवं मानवीय कल्याणलाई बढावा दिने संस्कृति बचाइराखेका कारण रकम भुक्तान गर्नुपर्नेछ ।
प्राकृतिक वातावरणबाट प्राप्त हुने फाइदाहरूको मूल्य तोकेर जिइपीले केन्द्रीकृत वृद्धिका रणनीतिले बेवास्ता गरेका क्षेत्रलाई व्यवस्थापन, मर्मत र वृद्धि गर्नेबारे फरक तरिकाले चिन्तन गर्न प्रोत्साहन गर्नेछ । यद्यपि हाल जिइपी वा संयुक्त राष्ट्र संघको वातावरणीय–आर्थिक लेखा प्रणालीजस्ता प्रणाली लागू गर्न व्यावहारिक अवस्था सिर्जना भइसकेको छैन । तैपनि, यदि हामीले जलवायु संकटलाई न्यूनीकरण गर्न आवश्यक पर्ने जटिल आर्थिक सौदाहरूको व्यवस्थापन गर्ने हो भने नयाँ आमूल परिवर्तनकारी सोच अत्यावश्यक देखिन्छ ।
द कन्भर्सेसनबाट