आगामी १२ माघमा राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचन हुँदै छ । तर, सो निर्वाचनमा भाग लिन कांग्रेसलाई प्रदेश २ को अधिवेशन सक्नैपर्ने बाध्यता देखिएको छ । निर्वाचन आयोगले १० पुसभित्र दल दर्ताका लागि आह्वान गरिसकेको छ । कांग्रेसलाई त्यसअघि नै अधिवेशन सम्पन्न गरेर दल दर्ता अद्यावधिक गर्नुपर्ने बाध्यता आइलागेको छ ।
सातमध्ये ६ प्रदेशमा यसअघि नै कांग्रेस अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसले यसअघि स्थगित प्रदेश २ अधिवेशनको कार्यतालिका ६ र ७ पुसका लागि तय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ पुसमा मनोनयन र ७ गते निर्वाचनको कार्यतालिका तय भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले राष्ट्रिय सभा निर्वाचनका कारण पनि अधिवेशन सक्नैपर्ने बाध्यताका कारण अधिवेशन हुन लागेको जानकारी दिए ।
‘केही स्थानमा क्षेत्रीय अधिवेशन हुन नसके पनि अब प्रदेश २ को अधिवेशन रोकिँदैन । राष्ट्रिय सभा निर्वाचनका कारण हामीलाई अधिवेशन गर्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘६ पुसमा मनोनयन र ७ गते निर्वाचनको कार्यतालिका तय भएको छ । क्षेत्रीय अधिवेशन हुन नसके थाती राखेर पनि निर्धारित कार्यतालिकाभित्र निर्वाचन सम्पन्न हुन्छ ।’
निर्वाचन आयोगले १० पुसभित्र संघ र प्रदेश तहका पदाधिकारीको निर्वाचन सम्पन्न भएको प्रमाण पेस गर्न नसके त्यो दल निर्वाचनमा भाग लिन अयोग्य हुने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले समयभित्र अधिवेशन सम्पन्न भएको प्रमाण आयोगमा पेस गर्नैपर्ने संवैधानिक व्यवस्था रहेको बताए । ‘हामीले सबै दललाई जानकारी गराइसकेका छौँ । कांग्रेसले पनि यसबारे जानकारी लिएको थियो,’ उनले भने, ‘संविधानमा लेखेबमोजिम संघ र प्रदेश तहका पदाधिकारीको निर्वाचन सम्पन्न भइसकेको हुनुपर्छ, अन्यथा त्यो दल निर्वाचनमा भाग लिन अयोग्य हुन्छ ।’
अधिवेशन सम्पन्न गर्न २८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकले रमेश रिजाललाई संयोजक तोकेको छ । यसअघि ६ प्रदेशमा भने कार्यतालिकाअनुसार १६ देखि १८ मंसिरसम्म प्रदेश अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन समितिले अधिवेशनका लागि प्रह्लाद गौतम, अरुणकुमार यादव र विनयकुमार सिंहलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको जानकारी दिएको छ । निर्वाचन समितिका अनुसार सर्लाहीको चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र र आठ प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको छैन ।