कांग्रेसभित्र जबर्जस्त रूपमा उठेको नेतृत्व पुस्तान्तरणको आवाजलाई देशभित्र र प्रवासबाट चुनिएका प्रतिनिधिले आंशिक अनुमोदन गरेका छन्, उनीहरूले सभापतिपछिको मुख्य कार्यकारी पद महामन्त्रीमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लोकप्रिय मत दिएर निर्वाचित गराएका छन्
- बाँकी पाँच सहमहामन्त्रीको मतगणना आज, त्यसपछि सदस्यहरूको गणना
- कांग्रेस विधानमा महामन्त्रीलाई कार्यालय व्यवस्थापनदेखि पार्टीका निर्णय कार्यान्वयन र संगठन व्यवस्थापनसम्मका १२ अधिकार
कांग्रेसको दोस्रो महत्वपूर्ण कार्यकारी पद महामन्त्रीमा पुस्तान्तरण भएको छ । दुई महामन्त्री पदमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापा डा. शेखर कोइरालाको र शर्मा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका थिए ।
१४औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, महामन्त्रीका अन्य उम्मेदवार डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक हजार तीन सय ९३, मीनेन्द्र रिजालले आठ सय नौ र डा. राजाराम कार्कीले एक सय ६ मत प्राप्त गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
डा. महत र पौडेल संस्थापन र डा. रिजाल कोइराला समूहबाट उम्मेदवार थिए । डा. कार्की भने स्वतन्त्र रूपमा मैदानमा उत्रिएका थिए । सोमबारको मतदानमा चार हजार सात सय ४३ मतदातामध्ये चार हजार ६ सय ७९ ले मतदानमा भाग लिएका थिए ।
गगन थापा प्राप्त मत ३०२३
‘गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ’

कांग्रेसलाई सबैले भरोसा गर्न सक्ने पार्टी बनाउनु छ । मैले पाएकोे जिम्मेवारी इमानदारिताकापूर्वक निर्वाह गर्छु । एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ । म सिंगो पार्टीको महामन्त्री हुँ । पार्टीलाई कार्यदिशा एवं लाइन दिने काम महामन्त्रीको हो । यसकै आधारमा अघि बढ्ने कोसिस गर्छु । वडादेखि माथिसम्म आउँदा कतिपय ठाउँमा घाउ लागेको छ, चोट लागेको छ । साथीहरूको दूरी र घाउलाई कम गर्ने र तिक्तलालाई हटाउने गरी काम गर्छु । पार्टीलाई सुदृढ गर्नुका साथसाथै मैले पाएको मतप्रति न्याय गर्नुपर्छ । एक दिन पनि चुक्ने र थाक्ने सुविधा मसँग छैन । अझ परिपक्वसँग जिम्मेवारी निर्वाह गर्नुपर्छ, त्यो म गर्छु ।
विश्वप्रकाश शर्मा प्राप्त मत १९८४
‘कांग्रेस रूपान्तरित भएर जान्छ, आधुनिक कांग्रेस बन्नेछ’

यो विश्वप्रकाश शर्मा व्यक्तिको विजय होइन, गुटको विजय त बिल्कुलै होइन । सिंगो कांगे्रसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो । पार्टीलाई आजका जीवन्त र ज्वलन्त मुद्दालाई बुझ्न सक्ने बनाएर समाजको नवीन ढंगले नेतृत्व गर्न सक्ने कांग्रेस बनाउने अपेक्षा र आकांक्षाको जित भएको छ । प्रतिस्पर्धा सकिएको छ, अब काममा प्रतिस्पर्धा हुन्छ । कांग्रेस हिजो जसरी चलेको थियो, अब त्यसरी चल्दैन । रूपान्तरित भएर जान्छ । निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्दै जानेछौँ । रूपान्तरित कांग्रेस देशसमक्ष राख्नेछौँ । आगामी तीन वटै तहका निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रूपमा बदल्नेछौँ ।
तीन सहमहामन्त्रीमा देउवा पक्षधर उपाध्याय र आङ्देम्बे तथा कोइराला समूहका परियार विजयी
आठ सहमहामन्त्रीका लागि भएको निर्वाचनमा बिहीबार रातिसम्म तीन क्लस्टरको नतिजा आउँदा दुईजना सभापति शेरबहादुर देउवा पक्षधर र एकजना शेखर कोइराला समूहका विजयी भएका छन् । महिलातर्फ देउवा प्यानलकी महालक्ष्मी उपाध्याय (डिना) तथा आदिवासी जनजातितर्फ देउवा समूहकै भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । त्यस्तै, दलिततर्फ कोइराला समूहका जीवन परियार विजयी भएका छन् ।
कुल चार हजार ६ सय ८५ मत खस्दा उपाध्यायले दुई हजार पाँच सय ३३ मत ल्याइन् । उनकी प्रतिस्पर्धी कोइराला समूहकी कमला पन्तले दुई हजार एक सय पाँच मत प्राप्त गरिन् । ४७ मत बदर भएको निर्वाचन समितिका सचिव केशव रिजालले बताए ।
आदिवासी जनजातितर्फ सहमहामन्त्रीका लागि कुल चार हजार ६ सय ८८ मत खसेकोमा आङ्देम्बेले दुई हजार सात सय सय ११ मत पाए । उनीसँग पराजित कोइराला समूहका विकास लामा एक हजार नौ सय १२ मतमा सीमित भए । ६५ मत बदर भएको रिजालले बताए ।
दलिततर्फ परियार दुई हजार दुई सय १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धीहरू देउवा समूहका मानबहादुर विश्वकर्माले दुई हजार एक सय ७५ र प्रकाशमान सिंह प्यानलकी गंगा सुनारले दुई सय ३२ मत ल्याए । ७५ मत बदर भएको छ ।
अन्य पाँच क्लस्टरका सहमहामन्त्रीका लागि खसेको मतको गणना शुक्रबार बिहान ९ बजेदेखि हुँदै छ । खस–आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसेमध्ये एक तथा मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादवमध्यै एकजना निर्वाचित हुनेछन् । त्यस्तै, मुस्लिम क्लस्टरको एक सिटका लागि फर्मुल्लाह मन्सुर र शेख वकिल तथा थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी प्रतिस्पर्धामा छन् ।
‘आठमध्ये बाँकी पाँच सहमहामन्त्रीको मतगणना शुक्रबार सकिएपछि केन्द्रीय सदस्यहरूको मत गन्न सुरु हुन्छ,’ निर्वाचन समितिका सचिव श्रेष्ठले भने ।
सभापतिलाई बहुमत जुटाउन सहज
कांग्रेस विधानमा महाधिवेशनबाट सभापति र अन्य पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा एक सय ३४ जना निर्वाचित हुने व्यवस्था छ । पदाधिकारी र केन्द्रीय सदस्यमा इतर समूहले बलियो उपस्थिति हासिल गरे पनि सभापतिलाई प्रायः केन्द्रीय कार्यसमितिमा बहुमतमा रहने सुविधा हुन्छ । महाधिवेशनमा खुला ३५, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य निर्वाचित हुन्छन् । कुल एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । विधानको यही व्यवस्थाले सभापतिलाई केन्द्रीय कार्यसमितिमा बहुमतमा रहन सहज बनाइदिन्छ ।
महामन्त्रीलाई कांग्रेस विधानले दिएको शक्ति
कांग्रेसको विधान, २०१७ को दफा २७ मा केन्द्रीय महामन्त्रीको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था छ । जसमा महामन्त्रीलाई विभिन्न महत्वपूर्ण १२ जिम्मेवारीको व्यवस्था गरेको छ । कार्यालय व्यवस्थापनदेखि केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयनको जिम्मेवारी महामन्त्रीलाई दिएको छ । यसर्थ पार्टीका निर्णय कार्यान्वयन र संगठन व्यवस्थापनमा महामन्त्रीको महत्वपूर्ण भूमिका रहन्छ ।
विधानको दफा २७ (१) ले पार्टी केन्द्रीय कार्यालयको व्यवस्थापन महामन्त्रीको मातहत रहने व्यवस्था गरेको छ । विधानमा ‘महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ’ भन्ने उल्लेख छ ।
विधानको दफा २७ (२) ले महामन्त्रीलाई केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने–गराउने सम्पूर्ण जिम्मेवारी सुम्पिएको छ । दफा २७ (३) मा दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पु¥याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई जानकारी र सुझाव दिने अधिकारसमेत महामन्त्रीलाई दिइएको छ ।
यसबाहेका पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने तथा मातहतका निकायमा पार्टीसम्बन्धी गतिविधिबारे जानकारी गराउने, पार्टीका निर्णय र कार्यक्रम कार्यान्वयन तथा सुपरिवेक्षण गर्ने–गराउने, विभिन्न समिति बनाउने, केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने र पार्टीका अभिलेखको संरक्षणको जिम्मा पनि महामन्त्रीलाई छ । त्यस्तै, सदस्यता वितरण र व्यवस्थापनमा पनि महामन्त्रीको महत्वपूर्ण भूमिका रहन्छ ।
पार्टीलाई अगाडि बढाउन सम्पूर्ण साथ र सहयोग रहन्छ : प्रदीप पौडेल

महामन्त्रीमा विजयी दुवैजना आशा गरिएको नेता हुनुहुन्छ । उहाँहरूले नीतिगत रूपमा नेतृत्व गर्ने मौका प्राप्त गर्नुभएको छ । उहाँहरूलाई बधाई ज्ञापन गर्न चाहन्छु । पार्टीलाई संगठित, व्यवस्थित, प्रभाव विस्तार, पाटीभित्र एकता निर्माणको सवालमा उहाँहरू अघि बढिरहँदा मैले पूर्ण रूपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु । निर्वाचनअघि हामीले प्रतिस्पर्धा गरेका थियौँ, सँगसँगै लडेका थियौँ भन्ने बिर्सिएर अब पार्टीलाई व्यवस्थित बनाएर अगाडि बढाउने विषयमा नेतृत्वलार्य मेरो पूर्ण साथ र सहयोग रहन्छ ।
महामन्त्रीमा हारेपछि रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

महामन्त्रीमा पराजित भएपछि डा. मीनेन्द्र रिजालले नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । प्रारम्भिक मतगणनामा हारको सम्भावना देखिएपछि रिजालले बिहान सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए । उनले दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरेर मतपरिणामको सन्देशलाई दृष्टिगत गर्दै राजीनामा दिने निर्णय लिएको बताए । ‘मैले निर्वाचन हारेको मात्रै होइन, राजनीतिक सम्पत्ति गुमाएँ कि जस्तो लाग्यो । त्यसैले पनि राजनीतिक पुँजी बचाएर राख्नुपर्छ भन्ने लागेर राजीनामा गरेको हुँ,’ रिजालले पत्रकार सम्मेलनमा भने, ‘अहिले रक्षामन्त्री पदबाट राजीनामा दिने निर्णय मात्रै हो । त्यसभन्दा अगाडि के हुन्छ सोचेको छैन ।’