माथिल्लो स्यांगेको विद्युत् पुस पहिलो साताबाट राष्ट्रिय लाइनमा जोडिने

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ मिप्रामा निर्माण सम्पन्न भएको २ दशमलव ४ मेगावाटको माथिल्लो स्यांगे खोला जलविद्युत् आयोजनाको विद्युत् पुस पहिलो साताबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । 

अप्पर स्यांगे हाइड्रोपावर लिमिटेडले निर्माण सुरु गरेको चार वर्षमा निर्माण सम्पन्न भएको आयोजनाबाट पुस पहिलो साताबाट विद्युत् उत्पादन सुरु हुन लागेको हो । ०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण सकिएर सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण सकिएको आयोजनाका इन्जिनियर जीवन केसीले जानकारी दिए । 

उनका अनुसार आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको छ । उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले उत्पादन परिक्षण सुरु गरेपछि आयोजनाबाट उत्पादीत विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।’

आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ । हाल नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएकाले स्यांगेकै सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । 

हिउँदमा २.८६८ गिगावाट घन्टा र बर्खामा ११.७४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाको ०७६ जेठभित्र नै विद्युत् उत्पादन गर्ने तालिका भए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ भएको हो । आयोजना ५० करोडमा निर्माण सम्पन्न भएको अपर स्यांगे हाइड्रोपावर लिमिटेडले जनाएको छ  ।

सुझावित समाचार