कांग्रेसका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये चार हजार ६ सय ८० ले मतदान गरेका छन्, सभापतिमा जित हासिल गर्न खसेको मतको ५० प्रतिशत कटाउनुपर्छ, अर्थात् कम्तीमा दुई हजार तीन सय ४१ मत ल्याउनुपर्छ, अन्यथा धेरै मत ल्याउने दुई उम्मेदवारबीच मंगलबार पुनः प्रतिस्पर्धा हुनेछ
- पाँचवटा सिसिक्यामेराको निगरानीमा राष्ट्रिय सभागृहमा सभापतिको मत गनिँदै
- सभापतिबाहेकका मतपेटिका सानेपास्थित पार्टी कार्यालयमा
- सभापतिको छिनोफानोपछि मात्रै अन्य पदाधिकारी र सदस्यको मतगणना
- मतदान गर्न डेढ घन्टासम्म लागेपछि नेताहरूले नै भने– साह्रै झन्झटिलो भयो
आगामी चार वर्षका लागि सभापतिसहितका १३ पदाधिकारी र एक सय २१ केन्द्रीय सदस्य छान्न कांग्रेसका चार हजार ६ सय ८० प्रतिनिधिले सोमबार मतदान गरेका छन् । ६३ प्रतिनिधि भने मतदानमा सहभागी भएनन् । बिहान साढे ११ बजेदेखि राति साढे ११ बजेसम्म १२ घन्टा मतदान भएको थियो । राति १ बजे नै सभापतिको मतगणना सुरु गर्ने भनिए पनि २ बज्दासमेत सुरु हुन सकेको छैन ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ ।
कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैलाई मध्यनजर गरेर सुरुमा सभापतिको मतगणना थालिएको छ ।
कांग्रेस विधानको दफा १६ (ख)मा ‘सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने’ व्यवस्था छ । दफा १६ (ग)मा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, दफा १६ (घ)मा ‘पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने’ उल्लेख छ । तर, पहिलोपटक नै दुईजना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
सभापतिमा जित हासिल गर्न खसेको मत अर्थात् चार हजार ६ सय ८० को ५० प्रतिशत कटाउनुपर्छ । अर्थात्, दुई हजार तीन सय ४१ मत ल्याउने उम्मेदवार विजयी हुनेछ । सभापतिको छिनोफानो पहिलो चरणमै हुन्छ वा निर्वाचन दोस्रो चरणमा जान्छ भन्नेमा सिंगो देशको चासो छ ।
निर्वाचन दोस्रो चरणमा गए मंगलबार नै राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा मतदान गराउने निर्वाचन समितिको तयारी छ । त्यससम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।
केन्द्रीय निर्वाचन समितिका अनुसार एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
तुलनात्मक रूपमा बलिया मानिएका देउवाको समूह पनि पहिलो चरणमै जित हात पार्नेमा ढुक्क छैन । यद्यपि, यो समूहका नेताहरूले पहिलो चरणमै देउवा विजयी हुने दाबी गरिरहेका छन् । त्यस्तै, कोइराला, सिंह र निधि भने निर्वाचन दोस्रो चरणमा जाने ठोकुवा गरिरहेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको पदावधि चार वर्षको हुन्छ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।
मतदानपछि सभापतिका उम्मेदवार देउवाले पहिलो चरणमै जित आउने विश्वास व्यक्त गरे । ‘माहोल एकदम राम्रो छ । अरूले जित्छु भन्नु उहाँहरूको कुरा हो । सभापतिमा मैले नै जित्छु, त्यो मलाई थाहा छ । पहिलो चरणमा नतिजा नआउने भन्ने कुरै छैन,’ उनले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रया दिए । सभापतिका प्रत्याशी देउवाले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका थिए ।
सभापतिका अर्का उम्मेदवार कोइरालाले पनि आफू पहिलो चरणमै विजयी हुने दाबी गरे । ‘मेरो विजय सुनिश्चित छ । सबै प्रतिनिधिले चिन्नुहुन्छ, माया गर्नुहुन्छ । अब मेरै नेतृत्वमा आउँदै छ कांग्रेस । पहिलो चरणमा नै विजयी हुन्छु भन्ने विश्वास छ,’ उनले भने, ‘हामी गतिशील कांग्रेस र ऊर्जावान् कांग्रेस बनाउन चाहन्छौँ । विधिसम्मत हिँड्ने कांग्रेस बनाउँछौँँ, नेतृत्वलाई जवाफदेही बनाउछौँ र पारदर्शी निर्णय गर्नेछौँ ।’
अर्का उम्मेदवार सिंहले पनि आफ्नो जित निश्चित भएको दाबी गरे । ‘१३औँ महाधिवेशनपछिको नेतृत्व असक्षम हुँदा सभापतिमा उम्मेदवार बन्नुपरेको हो । आममतदाता नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ । उहाँहरूको प्रतिक्रिया पनि मैले लिएको छु । उहाँहरूले मलाई नै मतदान गरेर विजयी गराउनुहुन्छ भन्नेमा विश्वस्त छु,’ उनको दाबी थियो ।
निधिले भने निर्वाचन दोस्रो चरणमा जाने बताए । ‘एकभन्दा बढी उम्मेदवार भएकाले निर्वाचन र लोकतन्त्रको औचित्य साबित गर्छ । म उत्साहित छु, हौसला मिलेको छ । अरूलाई मत माग्दै आएको थिएँ, अहिले आफैँ प्रतिस्पर्धामा आउँदा नयाँ अनुभव भयो,’ मतदानपछि निधिको भनाइ थियो, ‘निर्वाचनपछि आएको परिणाम हेरेर सेकेन्ड राउन्डमा सरसल्लाह गछौँ । त्यतिवेला के–कसरी अगाडि जाने भन्ने सल्लाह हुन्छ ।’
सभापतिका अर्का उम्मेदवार गुरुङले मतपरिणामबारे अनिश्चितता व्यक्त गरे । ‘सबै प्रतिनिधिले मतदान गर्नुभएको छ । दुःखकष्ट गरेर अमूल्य मतदान गर्नुहुने सबै मतदातालाई धन्यवाद भन्छु । परिणामबारे मतगणनापछि मात्रै भन्न सकिएला । तर, सकरात्मक परिणामको अपेक्षा छ ।’
देउवा–सिटौला र कोइराला समूहमा दुवैतर्फ केन्द्रीय सदस्यको सूचीमा परेका शशांक कोइरालाले निर्वाचन परिणामबारे ठोस संकेत गरेनन् । ‘आफैँ उम्मेदवार बन्ने थिएँ । वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा सहमति बन्छ भनेर पछाडि हटेको हुँ । अहिले भएकामध्ये शेरबहादुर देउवा पनि बलियो हुनुहुन्छ,’ कोइरालाले भने, ‘शेखर कोइराला पनि अगाडि नै हुनुहुन्छ । प्रकाशमान सिंह र विमलेन्द्र निधिको अलि तल छ ।’
शशांकले आफू कुनै समूहमा नलागेको र स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा चुनाव लडेको पनि प्रस्ट पारे । ‘म स्वतन्त्र रूपले नै लडेको देखिन्छ । मेरो नाम दुइटै प्यानलमा होला, मलाई थाहा छैन,’ मतदानपछि कोइरालाले भने ।
सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएका व्यक्तिबाट एक सदस्य गरी कुल एक सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।
मतदान गर्न डेढ घन्टासम्म लागेपछि नेताहरूले भने– साह्रै झन्झटिलो भयो
सभापतिसहित एक सय ३४ पदका लागि भएको निर्वाचनमा २९ प्रकारका मतपत्रमा मतदान गर्नुपरेको थियो । यसका लागि तीन स्थानमा ११ सय बुथ राखेको थियो । घन्टौँसम्म लाइनमा बसेर बल्लतल्ल पालो पाएका मतदाताले मतदानमा ४० मिनेटदेखि डेढ घन्टासम्म समय लगाए । मतदान प्रक्रिया निकै झन्झटिलो भएको गुनासो उनीहरूको छ ।
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले मतदानमा डेढ घन्टा समय लगाए । महामन्त्री पूर्णबहादुर खड्काले ४५ मिनेटमा सकाएका बताए । ‘मतदान प्रक्रिया लामो भयो । हामी यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा नै छौँ,’ खड्काले भने, ‘कांग्रेसले विद्युतीय मतदानमा अविश्वास गरेको भने होइन । त्यसतर्फ नै परिणत गरिरहेको छ ।’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता डा. नारायण खड्काले पनि मतदानमा एक घन्टा १० मिनेट र सुजाता कोइरालाले ४५ मिनेटभन्दा बढी लागेको अनुभव सुनाए ।
पाँचवटा सिसी क्यामेराको निगरानीमा राष्ट्रिय सभागृहमा सभापतिको मत गनिँदै
राति १ बजे नै सभापतिको मतगणना सुरु गर्ने भनिए पनि २ बज्दासमेत सुरु हुन सकेको छैन । राष्ट्रिय सभागृहमा गणनाको तयारी भने पूरा गरिएको छ । पाँचवटा सिसी क्यामेराको निगरानीमा गणना हुने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले बताए । सभापतिका लागि तीनवटा मतपेटिकामा मतदान भएको थियो । सभापतिका लागि मतदान भएका तीनवटा बाहेक मतपेटिका सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगिएको छ । जम्मा ८७ मतपेटिकामा मतदान भएकोमा अन्य पदका लागि ८४ मतपेटिका प्रयोग भएका थिए । सभापति पदको छिनोफानोपछि मात्रै अन्य पदका लागि मतगणना हुने छ । तीन घण्टाभित्र सभापतिको नतिजा आउने निर्वाचन समितिले जनाएको छ । तर, पहिलो चरणमा कसैको पनि ५० प्रतिशत नकटे सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने छ । यसको नतिजापछि मात्रै अन्य पदको मत गणना हुने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले बताए ।
मतदान साढे तीन घन्टा ढिलो सुरु, पटकपटक रोकियो
प्रविधिलाई पन्छाएर कागजी माध्यम रोजेको कांग्रेसको मतदान प्रक्रिया निकै भद्रगोल बन्यो । कार्यतालिकाअनुसार तोकिएको समयमा मतदान सुरु र सम्पन्न नभएको मात्रै होइन, दिउँसै मतपत्र सकिँदा लाइनमा बसेका मतदाता हैरान भए । मतदान सुरु हुने समय बिहान ८ बजेका लागि तोकिएको थियो । तर, ११:३० बजेबाट मात्रै सुरु भयो । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान ढिला सुरु भएको थियो । त्यतिमात्र होइन मतपत्र सकिएपछि दुईपटकसम्म मतदान प्रक्रिया रोकियो । साँझ ५ बजे सक्ने भनिए पनि साढे ९ बजे, साढे १० बजे हुँदै तेस्रोपटक साढे ११ बजेका लागि समय सारेर १२ घण्टामा मतदान सकाइयो । मतपत्रमा हस्ताक्षर नहुँदा पनि मतदान प्रक्रिया केही समय प्रभावित भएको थियो । व्यवस्थापकीय कमजोरीका कारण घन्टौँ लाइनमा बस्दासमेत मत दिने पालो नआउँदा प्रतिनिधिहरू आक्रोशित बनेका थिए । सभापति र पदाधिकारीको मतपत्र सकिँदा केही समय निर्वाचन प्रक्रिया रोकिएको समिति सचिव जगन्नाथ श्रेष्ठले बताए ।
शशांक तीनवटै प्यानलमा, भने– स्वतन्त्र उम्मेदवार हुँ इतर समूहबाट
सभापतिको साझा उम्मेदवार छान्न नसकेपछि महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए । तर, सोमबार दिनभर विमलेन्द्र निधिबाहेकका तीनवटै प्यानलमा उनको नाम थियो । देउवा, शेखर र सिंह पक्षधरले शशांक आफ्नो प्यानलको उम्मेदवार भएको दाबी गर्दै भोट मागे । शशांक भने आफू कुनै प्यानलमा नरहेको बताउँदै हिँडेका थिए । ‘केन्द्रीय सदस्यका लागि स्वतन्त्र उम्मेदवार हुँ । कुनै प्यानलमा छैन,’ उनको भनाइ थियो । तर, त्यसअघि उनले आफूले शेखरको प्यानललाई सघाउने बताएका थिए ।
वरिष्ठ नेता पौडेल मतदानस्थलमै आएनन्, प्रतिनिधिहरूलाई आज चियापानको निम्तो
संस्थापनइतर समूहबाट आफैँ सभापतिको साझा उम्मेदवार बन्ने वा अरू कसैलाई साझा उम्मेदवार बनाउने दुवै विकल्पमा सहमति नजुटेपछि चित्त दुखाएका वरिष्ठ नेता रामचन्द्र पौडेल मतदान प्रक्रियामै सहभागी भएनन् । उनले यसको घोषणा आइतबार नै गरेका थिए । उनले मतदानमा सहभागी हुने प्रतिनिधिलाई भने नेतृत्व चयनमा विवेक प्रयोग गर्न आग्रह गरेका थिए । पौडेलले मंगलबार सबै महाधिवेशन प्रतिनिधिका लागि चियापान आयोजना गरेका छन् । बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा चियापानका लागि निम्तो दिइएको उनको सचिवालयले जनाएको छ ।
दिनभर देउवाको दौडधुप
बिहान ८ नबज्दै मतदानस्थलवरपर बाक्लो भिड थियो । कोही भोट हाल्न लाइनमा थिए, कोही आफ्ना उम्मेदवारका लागि भोट माग्न व्यस्त थिए । बिहानदेखि रातिसम्म मतदान अवधिभर भोट माग्न उम्मेदवारहरू झन् सक्रिय थिए । यो भिडमा सभापति देउवाको पनि निकै सक्रियता रह्यो । पदाधिकारीका लागि मतदानको व्यवस्था गरिएको राष्ट्रिय सभागृहमा आफू मतदान गरेर बाहिरिसकेपछि पनि उनी फर्किएर मत माग्दै हिँडेका थिए । दिउँसो १२ बजेपछि मत हालेका देउवा साँझ ५ बजेतिर दोस्रोपटक सभागृहकै मतदानस्थल प्रवेश गरेका थिए । दिउँसो मत दिएपछि भने उनी भृकुटीमण्डपका दुईवटा मतदानस्थलमा पुगेका थिए । प्रतिनिधिले खाना खाएको स्थानमै समेत पुगेर हात जोड्दै मत मागेका थिए । मत माग्न देउवा राति ८ बजे तेस्रोपटक मतदानस्थल पुगेका थिए । निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा इतर समूह आपूmविरुद्ध एकजुट हुने जोखिम रहेकाले पहिलो चरणमै आफ्नो पक्षमा जित निकाल्न सक्रिय देखिन्थे ।