टुंगो लागेन इतर समूहमा सभापतिको साझा उम्मेदवार

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

पौडेललाई समर्थन गर्न शशांक तयार, सिंह र शेखरको अडान कायमै, आज फेरि छलफल हुँदै

१४औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन दबाब भए पनि तीन आकांक्षी यथावत् छन् । सभापतिको साझा उम्मेदवार खोज्न मंगलबार बसेको संस्थापनइतर पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् । 

शुक्रबारबाट नेतृत्व चयनका लागि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । तर, तीन दिन बाँकी रहँदा पनि संस्थापनइतर समूहमा सभापतिको उम्मेदवार टुंगो लागेको छैन । पदाधिकारीका अन्य पदका आकांक्षीमा त यो समूह प्रवेश नै गरेको छैन । ढिलाइ गरिरहँदा इतर समूहमा दबाब बढ्दै छ । 

नेता सिंह निवास चाक्सीबारीमा भएको पाँच घन्टा लामो बैठकमा सभापतिका आकांक्षीले आफ्नो अडान कायमै राख्दा केन्द्रीय सदस्यहरूले भने जसरी भए पनि साझा उम्मेदवारमा सहमति खोज्न शीर्ष नेतालाई दबाब दिएका थिए । आकांक्षीले ससर्त आफ्ना अडान राखेको बैठकमा सहभागी नेताहरूले बताएका छन् । 

बैठकमा वरिष्ठ नेता पौडेल अन्यमा सहमति नभए आफूलाई समर्थन दिन आग्रह गरेका थिए । ‘म पहिलेदेखि नै सभापतिका लागि तयार भएको हुँ । तपाईहरू मलाई मान्न किन तयार हुनुहुन्न ? कि तपाईहरू मिल्नुस कि मलाई समर्थन गर्नुस्,’ बैठकमा पौडेलले राखेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । 

महामन्त्री कोइरालाले सहमति बने पौडेललाई समर्थन गर्न आफू बाधक नबन्ने बताएका थिए । ‘सभापतिका लागि शशक्त दाबेदार म नै हुँ । तर, सिनियारिटीको हिसाबले रामचन्द्र पौडेलजीको नाममा सहमति बन्छ भने म बाधक बन्दिनँ,’ महामन्त्री कोइरालाको भनाइ थियो । 

तर, सिंहले भने आफ्नो सभापतिमा दाबी कायमै रहेको बताए । ‘सभापतिको बलियो उम्मेदवार म हुँ । सिनियर पनि हुँ । त्यसैले मैले दाबी छाड्न मिल्दैन । बरू तपाईंहरूले मलाई समर्थन गर्नुस्,’ सिंहको अडान थियो । सिंहले सम्पर्क कार्यालय खोलेर प्रचारसमेत थालिसकेका छन् । 

तर, शेखर कोइरालाले भने पार्टीभित्रको मत बुझेर सभापतिको उम्मेदवार चयन गर्नुपर्ने मत राखेका थिए । ‘केन्द्रीय सदस्य सबै साथीहरूको सुझाब लिँउ । जसको पक्षमा साथीहरू उभिनुहुन्छ, त्यहीअनुसार सभापतिको उम्मेदवार बनौँला,’ डा.शेखरको भनाइ थियो । 

तर, केन्द्रीय सदस्यले भने साझा उम्मेदवारको खोजी गर्न सुझाब दिएको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । ‘हामीले जसरी हो मिल्नुस्, के कहिले कहाँ कुन–कुन पदमा कुरा मिलाउनुपर्ने हो मिलाउनुस् भनेर दबाब दियौँ, नेताहरू त्यसमा सकारात्मक हुनुभएको छ । अबको छलफलपछि टुंगो लाग्ने सम्भावना छ,’ केन्द्रीय सदस्य पाण्डेले भने । 

त्यसैगरी अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले साझा उम्मेदवार तय गर्न नेताहरू सकारात्मक बनेको जसरी पनि मिल्नुको विकल्प नभएको बताए । बैठकमा अर्जुननरसिंह केसी, गगन थापा, चन्द्र भण्डारी, महेश आचार्य, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका नेता सहभागी थिए । बैठककै अवधिमा आकांक्षीहरूले केन्द्रीय सदस्यहरूसँग एकपक्षीय, द्विपक्षीय र सामूहिक रूपमा छलफल गरेका थिए ।

चाक्सीबारीमा बैठकस्थलबाहिर कांग्रेसका युवा नेताहरूले साझा उम्मेदवारमा छिटो सहमति गर्न दबाब दिएका थिए । उनीहरूले प्ले कार्डसहित नाराबाजी गरेका थिए । दबाब दिनेहरूमा राजेन्द्र बजगाईं, टेकराज पौडेल, सीता सापकोटा, दक्ष पौडेललगायतका युवा नेता थिए । उनीहरूले नेताहरू नजुटे कांग्रेस जोगाउन नसकिने भन्दै युवा नेताहरूले प्लेकार्डसहित दबाब दिएका थिए । उनीहरूले संस्थापनइतरबाट धेरै आकांक्षी हुँदा पुरानो नेतृत्व नै दोहोरिने र कांग्रेस जोगाउन नसकिने भन्दै दबाब दिएको बताए । 

आज पनि परामर्श, पौडेलबाहेकका आकांक्षी सहभागी नहुने 
केन्द्रीय सदस्यसँगको बैठकबाट निष्कर्ष ननिस्किएपछि इतरपक्षले बुधबार पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापतिहरू र प्रदेश सभापतिसँग परामर्श गर्दै छ । केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार बुधबारको बैठकमा वरिष्ठ नेता पौडेलबाहेकका नेताहरू सहभागी हुने छैनन् । ‘नेताहरूको सहमतिअनुसार नै अरू आकांक्षी सहभागी नहुने निर्णय भएको छ । उहाँले नै छलफल गर्ने र पछि बैठक बसेर टुंगो लगाउने सहमति भएको छ,’ पाण्डेले भने । वरिष्ठ नेता पौडेलले पनि नेताहरूले राय बुझ्न आफूलाई जिम्मा दिएकाले अरू आकांक्षी सहभागी नहुने बताए ।

पदाधिकारीका उम्मेदवार छान्न देउवाले बोलाए निकट नेताहरूको बैठक
कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दाबेदार शेरबहादुर देउवाले पनि आफूनिकट नेताहरूको बैठक आह्वान गरेका छन् । बुधबार बिहान ९ बजे देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठकमा पदाधिकारीका उम्मेदवार छान्नेबारेमा छलफल हुनेछ ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार महाधिवेशनका लागि उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । देउवा समूहमै पनि आकांक्षी धेरै भएकाले उनी दबाबमा छन् । उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का आकांक्षी छन् ।

महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाण, ज्ञानेन्द्र कार्की, एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ । विभिन्न क्लस्टरबाट सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी छन् ।

सुझावित समाचार