धनगढीमा तेजराज भट्ट, सुर्खेतमा रमेश रावल, पोखरामा गोविन्द सुवेदी, हेटौँडामा सुदीप सिवाकोटी र झापामा चिरञ्जीवी घिमिरे
कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको निर्वाचनको नतिजामा संस्थापन पक्ष बलियो देखिएको छ । आइतबार रातिसम्म मतगणना सकिएका चारमध्ये सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश सभापतिमा देउवा तथा गण्डकीमा पौडेल–कोइराला पक्षका उम्मेदवार पक्षधर विजयी भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजंग शाही र बागमतीमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । परिणाम सार्वजनिक भएका प्रदेशका अधिकांश पदाधिकारीमा पनि देउवा पक्षकै पकड देखिएको छ । लुम्बिनी र प्रदेश १ मा आइतबार रातिसम्म मतगणना जारी थियो ।
पहिलोपटक प्रदेश नेतृत्व चयन
मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश नेतृत्व चयन गरेको छ । प्रदेश पदाधिकारीमा केन्द्रीय सदस्यका आकांक्षीको समेत समेटिएकाले १४औँ महाधिवेशनमा शीर्ष नेतृत्वलाई निकट नेताको व्यवस्थापन गर्न केही सहज हुने भएको छ ।
सबै पक्षको शक्ति परीक्षण
प्रदेश अधिवेशनमा कांग्रेसका सबै समूहले आफ्नो शक्तिको परीक्षण गरेका छन् । यसले देउवा, कोइराला–पौडेल, सिटौला र निधि पक्षलाई १४औँ महाधिवेशनमा कसरी र कस्तो समीकरणसहित अगाडि बढ्ने भन्ने रणनीति तय गर्न सहज बनाएको छ । साथै, सम्भावित समीकरणका लागि अर्काे पक्षसँग संवादको ढोका खुलेको छ । बागमती र प्रदेश १ को अधिवेशनमा देउवा–सिटौलबीच समीकरण बन्यो ।
प्रकाशमान सिंह र गगन थापामाथि दबाब
कांग्रेस बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्र बानियाँ निर्वाचित हुँदा सभापतिमा लड्ने घोषणा गरेका प्रकाशमान सिंह र महामन्त्रीमा उठ्ने घोषणा गरेका गगन थापामाथि दबाब सिर्जना भएको छ । विशेषगरी बागमती प्रदेशमा संस्थापनइतर समूह बलियो मानिँदै आए पनि प्रदेशमा संस्थापन पक्ष हाबी भएको छ ।
प्रदेश २ मा अधिवेशन अनिश्चित
प्रदेश २ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । प्रदेश २ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सातवटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अविधेशन स्थगित छ । प्रदेश २ मा रञ्जित कर्णले प्रदेश सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि देउवा समूहबाट रौतहटका सभापति कृष्ण यादव र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले यसअघि नै उम्मेदवारी घोषणा गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला समूहले उम्मेदवार तय गर्न सकेको छैन । शनिबार उम्मेदवारीको घोषणा गरेका कर्ण पौडेल र कोइराला समूहनिकट मानिन्छन् । कर्णले आफू स्वतन्त्र उम्मेदवार भए पनि पौडेल र कोइराला समूहको समर्थन रहने बताएका छन् । प्रदेश २ मा कुल एक हजार आठ सय ८८ जना मतदाता छन् ।
संस्थापनइतरका पुनको अग्रता
लुम्बिनी प्रदेशमा राति १ बजेसम्मको मतगणनाअनुसार पौडेल–कोइराला पक्षका उम्मेदवारले अग्रता कायम राखेका छन् । लुम्बिनीमा १६३१ मत खसेकोमा राति १ बजेसम्म ११ सय
२९ मतगणना भएको छ । पौडेल–कोइराला पक्षका अमर पुन ६०६ मतसहित अग्रस्थानमा छन् भने देउवा पक्षका भरत शाहले ५१० मत पाएका छन् ।
मध्यरातको अपडेट : उद्धव थापाले २ मतले जिते
प्रदेश १ मा १७५३ मत खसेको थियो । शेरबहादुर देउवा पक्षको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा २ मतले विजयी भएका छन् । उनले आठ सय ४४ र उनका प्रतिद्वन्दी पौडेल–कोइराला समूहका गुरुराज घिमिरेले आठ सय ४२ मत पाएका छन् । तर, निर्वाचन समितिले राति २ बजेसम्म परिणामको घोषणा गरेको छैन ।