गुल्मीमा लामो समयदेखि अभिभाव बिहिन चार बालबालिकालाई एसओएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई गरी चार बालबालिकालाई एसओएसले संरक्षण गरेको छ । मदाने गाउँपालिका ५ मलायगिरीका ४ बर्षीय बालक कुलदिप र १३ बर्षीया बालिका लक्ष्मी विक चार बर्षदेखि अभिभावक बिहिन थिए । मालिका ३ ह्वाङदीका ५ बर्षीय सन्दिप र ३ बर्षीय प्रदिप घर्तिमगर १४ महिनादेखि अभिभाव बिहिन भएका थिए ।
लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसंग स्थानीय र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेश भएको थियो । बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसओएसमा बालबालिका भर्ना गरिएको हो । मदानेका दुई दिदिभाइलाई गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुईदाजुभाइलाई वडाध्यक्ष राजकुमार विकले एसओएसमा लगेर भर्ना गरेका हुन् । एसओएस भैरहवाको टोलीले ११ कात्तिकमा गाउँ आएर बालबालिकाको वास्तविक अवस्थाको प्रतिवेदन बनाएको थियो ।
प्रतिवेदनको आधारमा बालबालिकालाई एसओएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिए । भर्ना भएकामध्ये दिदि लक्ष्मी विक काठमाडाैंकाे एक होटलमा काम गर्थिन् । ढकालले अभिभावक बिहिन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसओएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताए । एसओएसको सिद्धान्तमा पनि भाई बहिनीलाई छुटाउन नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकोमा ढकालले खुसी व्यक्त गरे ।
गाउँमा निकै बिचल्लीमा परेका बालबालिकाको उद्धार भएपछि निकै खुसीको महसुस गरेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् । ‘सवैको मेहेनतपछि बालबालिकाको उद्धार गर्न पाएका छौ । स्थानीय तहको पनि ठूलै उपलब्धि हो,’ उनले भनिन्, ‘दुई बर्षदेखि प्रयत्न गर्ने इन्सेक गुल्मी र समन्वय गर्ने सिडिओ सापहरु एवं सहयोग गर्ने सवैप्रति आभारी छौ ।’
एकै परिवारका चार जनाको मृत्यु
मदाने ५ का लक्ष्मी र कुलदिप विकका बुबाआमाको चार महिनाको फरकमा निधन भयो । बुबा मीन बहादुर विकको ०७६ बैशाखमा निधन भयो भने आमा जुठी विकको सोहि बर्षकै भदौमा निधन भयो । मीन बहादुर विक भारतमा मजदुरी गर्थे । मीन बहादुरका १४ बर्षीया छोरी अस्मिता विक र २१ बर्षीय छोरा सूर्य विकको पनि केहि बर्ष पहिले भारतको जीरापुरमा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो ।
छोरीको मृत्युको चोट नसेलाउँदै कमाउन थालेको छोराको पनि मृत्यु भएपछि शोक र रोगले मिन बहादुर थला परे । भारतमै दुई छोराछोरीसहित श्रीमानको ज्यान गएपछि तीन छोराछोरी बोकेर जुठी गाउँ आएको वडाध्यक्ष हिमाल खड्काले जानकारी दिए । गाउँ आउने बित्तिकै बिरामी परेकी आमाको पनि निधन भयो । जसका कारण बालबालिका बिचल्लीमा परे । बालबालिकाको टाउको ओत्ने घर थिएन । एक टुक्रो जमिक पनि साहुको बन्धकीमा रह्यो ।
लक्ष्मीले डेढ बर्षको दुधे भाई र ९ बर्षकी बहिनी मोनिका हुर्काइन् । मिठो खाएनन् । राम्रो लाएनन् । स्कुल गएनन् । दैनिक जिवन यापन नै कष्टपूर्ण हुँदै गएपछि केहि समय अघि बहिनी मोनिका आफन्तसंग भारत गइन् । लक्ष्मीले काठमाडौंको एक होटलमा मजदुरी गर्न थालिन् । भाइ गाउँमै आफन्तकोमा थिए । मोनिका भारतबाट नआएकाले अहिले लक्ष्मी र कुलदिपलाई एसओएसको संरक्षण राखिएको वडाध्यक्ष खड्काले बताए ।
बाबुले आत्महत्या गरे आमाले छोडिन्
मालिका गाउँपालिका ३ का चन्द्र बहादुर घर्तिमगरले ११ असोज ०७७ मा आत्महत्या गरे । दशैंको अर्को दिन आत्महत्या गरेकाले परिवार शोकमा डुब्यो । श्रीमानको मृत्युपछि पाँच महिना नपुग्दै फागुनमा टीका घर्तिमगर अर्कैसंग विवाह गरेर घर छोडिन् । ५ वर्षीय सन्दीप र ३ बर्षका प्रदिप घर्ति मगर घरमै अलपत्र परे । अभिभावक बिहिन बालक करिव एक बर्षदेखि गाउँमै अलपत्र थिए ।
उचित खानपान र स्याहारको अभावमा दुईभाइ नै शारीरिक रुपमा तन्दुरुस्त छैनन् । सन्दीपले एक आँखाले देख्दैनन् भने प्रदिपमा पनि कुपोषणको समस्या रहेको मालिका गाउँपालिका ३ का वडाध्यक्ष राजकुमार विकले जानकारी दिए । ‘गाउँमा उनीहरुको अवस्था देख्दा भक्कानो फुट्थ्यो । अभिभावक नै नभएपछि अरुले कतिन्जेल सहयोग गर्ने,’ उनले भने, ‘इन्सेक र एसओएसले निकै ठूलो गुन लगाए ।’