मिल्टन फ्राइडम्यानको सान्दर्भिकता

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

समय–समयमा मिल्टन फ्राइडम्यानको प्रतिष्ठामा प्रहार हुने गरेको भए पनि उनको बिरासत निकै बलियो नै देखिन्छ 


महामारीको समयमा अर्थशास्त्रीहरू कैयाँै विषयमा गलत ठहरिँदा एकजना अर्थशास्त्री भने यस अवधिमा झन्–झन् सान्दर्भिक देखिँदै गए । सन् २००६ मा दिवंगत भएका नोबेल पुरस्कार विजेता मिल्टन फ्राइडम्यानको लोकिप्रियता सन् २००८ को आर्थिक मन्दीपछि नराम्ररी खस्कियो । आर्थिक संकटपछि फेडरल रिजर्भ भनिने अमेरिकाको केन्द्रीय बैंक प्रणालीले मुद्रा आपूर्तिको वृद्धिलाई उलेख्य विस्तार गर्यो । यसका बाबजुद मुद्रास्फीतिको दर न्यून रह्यो । फ्राइडम्यानको सबैभन्दा चर्चित सिद्धान्त ‘मोनेटेरिजम’ असान्दर्भिक देखिन थाल्यो । तर, अहिले सुरु हुन थालेको मुद्रास्फीतिको बहसमा उनी पुनः सान्दर्भिक देखिन थालेका छन् । 

अहिलेको ६.२ प्रतिशतको मुद्रास्फीति दर केले सिर्जना गराइरहेको छ भन्नेमा मानिसको अलग–अलग मत होला, तर यसको समाधानको विषयमा भने ऐक्यबद्धता देखिन्छ, त्यो के भने मुद्रास्फीति दर घटाउन फेडरल रिजर्भ र मौद्रिक नीतिको हस्तक्षेप चाहिन्छ । फ्राइडम्यानले प्रक्षेपण गरेझैँ मुद्रास्फीति घटाउने प्रक्रिया पीडादायी हुन्छ र यसले आर्थिक मन्दी निम्त्याउन सक्छ । मौद्रिक नीति ल्याउने सही समयबारे पनि अहिले मतभिन्नता कायम छ, तर फेडरल रिजर्भको निर्णयको महत्वबारे भने सबै एकमत छन् । आजको दिनमा मौद्रिक स्थायित्व पुनस्र्थापित गर्ने विषय वित्तीय बजार र जनता दुवैका लागि प्रमुख मुद्दा बनेको छ । 

प्रारम्भिक लेखनमा फ्राइडम्यानले मुद्राको मागको स्थायित्वमा जोड दिने गल्ती गरेका थिए । सामान्यतः यो सुरक्षित अवधारणा हो, तर सन् २००८ मा फेडरल रिजर्भले सञ्चितिमा समेत ब्याज तिर्न थाल्यो । यसले बैंकबीच सञ्चिति जम्मा गर्ने होड चल्यो । त्यसले कुल मुद्रा आपूर्तिमा भइरहेको विशाल वृद्धिलाई प्रभावित गर्यो र मुद्रास्फीतिको दबाबलाई भुत्ते बनाइदियो । फ्राइडम्यानको सिद्धान्त त्यस समयमा प्रायोजनहीन देखियो । यद्यपि असाधारण समय आउनासाथ मुद्राको माग अत्यन्त तीव्रतासाथ बढ्ने गर्छ । आज फ्राइडम्यानको विचार यथार्थको नजिक हुन्छ । हुन त मुद्रा गुणक र खुला बजार अभ्यास फ्राइडम्यानको समयमाज स्तो छैन । अहिलेको प्रणालीलाई मोनेटेरिजम(मौद्रिक–नीतिवाद)को रूपान्तरित संस्करणको रूपमा व्याख्या गर्न सकिन्छ । र, धेरैको नजर फेरि एकपटक अमेरिका र युरोपका सबै केन्द्रीय बैंकमाथि रहेको छ । 

फ्राइडम्यानले मनमौजी हिसाबमा प्रयोगमा ल्याइने मौद्रिक र वित्तीय नीतिले धेरै गल्ती कमजोरी निम्त्याउने बताएका छन् । नीति–निर्माताहरू सर्वज्ञ नहुने हँुदा यस्तो सम्भावना रहेको उनको भनाइ थियो । यसमा पनि उनी पुनः सही ठहरिएका छन् । फ्राइडम्यानको बढ्दो सान्दर्भिकता बृहत्–अर्थशास्त्रमा मात्र सीमित छैन । दशकौँसम्म फ्राइडम्यानले युएस फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन(एफडिए)को आलोचना गरिरहे । उनी यो संस्थालाई नयाँ औषधि र उपचारको विकासमा अवरोध पुर्याउने सुस्त कर्मचारीतन्त्रको झुण्डको रूपमा हेर्थे । महामारीले यो धारणा पुनः बहसमा आएको छ । एफडिएले यस अवधिमा अन्य गल्तीका अतिरिक्त एन्टिजेन परीक्षण र बुस्टर खोपलाई अनुमति दिन निकै ढिलाइ गर्यो । सेन्टर फर डिजिज कन्ट्रोल(सिडिसी) जस्ता अन्य सार्वजनिक स्वास्थ्य निकाय फ्राइडम्यानको आलोचनामा परेनन् । तर, तिनको कमजोर प्रदर्शन पनि फ्राइडम्यानले स्वास्थ्य क्षेत्रका कर्मचारीबारे व्यक्त आधारभूत धारणासँग मिल्छ । 

फ्राइडम्यानको विचार पुनः सान्दर्भिक देखिन थालेको अर्को क्षेत्र हो, शिक्षा । फ्राइडम्यान विद्यालय छनोटका कट्टर समर्थक थिए । तर, समयसँगै यो विचारका समर्थक कमजोर देखिए । विद्यालय छनोटसँगै जोडिन आउने विषय हो, विद्यालय भौचर । विद्यार्थी वा तिनका अभिभावकले चुनेका विद्यालयमा देखाउने सरकारी सहयोगको प्रमाणपत्र हो, विद्यालय भौचर । विद्यालय भौचरले दिने शैक्षिक फाइदाबारे धेरै अध्ययन भएका छन् । फरक अध्ययनमा तिनका फाइदा सामान्य, शून्यदेखि नकारात्मक पाइएको छ । विद्यालय छनोटका पक्षधरले त्यसले दिने फाइदा–बेफाइदा खासै महत्वपूर्ण नहुने बरु बालबालिकाले चाहेको शिक्षा चुन्नु यसको बलियो पक्ष भएको तर्क गर्छन् । 

बहसबीच महामारी आयो । करोडौँ अमेरिकी अभिभावकले यस्तो सार्वजनिक विद्यालय प्रणालीको अनुभव पाए, जो तिनका बालबच्चा पढाउन त्यति उत्साहित थिएन । विद्यालयहरूले भौतिक कक्षा बन्द गरे, निम्नस्तरको अनलाइन कक्षा सुरु गरे, तर तिनले आफ्नो नोकरशाही प्रवृत्तिलाई त्यागेनन् । अचानक गृह शिक्षण, निजी स्कुल, सूक्ष्म स्कुल, चार्टर स्कुलजस्ता विद्यालय छनोटका धेरै विकल्प लोकप्रिय बने । यी ट्रेन्ड भोलि पनि रहला–नरहला अहिले भन्न सकिँदैन । तर, फ्राइडम्यानले यो वैचारिक संघर्ष पनि जित्ने सम्भावना छ ।

विद्यालयको नोकारशाही प्रवृत्तिको मात्र होइन, कक्षाकोठामा पढाउने विषयमा पनि बहस छ । उदाहरणका लागि विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा ‘पोलिटिकल करेक्ट’सम्बन्धी विषय समावेश हुन थालेका छन् । यसमा धेरै चर्चामा रहेको विषय हो, ‘क्रिटिकल रेस थिअरी’ । यसले अभिभावक, शिक्षक र प्रशासकबीच गम्भीर भिन्नता सिर्जना गरेको छ । सार्वजनिक विद्यालयका यो विवाद सबैलाई सन्तुष्टि दिने गरी समाधान हुनेछैन । यस्तो विभाजनकारी मुद्दालाई निरन्तरता दिनुभन्दा सबै पक्षले विद्यालय छनौटको मुद्दामा ध्यान दिनु राम्रो हुनेछ । समय–समयमा मिल्टन फ्राइडम्यानको प्रतिष्ठामा प्रहार हुने गरेको भए पनि प्रायः उनको बिरासत निकै बलियो छ । ब्लुमवर्गबाट

सुझावित समाचार