हालको अवस्था हेर्दा सन् २०३० को दशकसम्म पनि अमेरिका चिनियाँ आपूर्तिमा निर्भर रहने देखिन्छ
केही समयदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्नेमा आशावादी एउटा समूहको आकार बढ्दै गएको छ । अघिल्लो महिना यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि थपिए । पुटिनले तेलको भाउ प्रतिब्यारेल एक सय डलर पुग्ने अनुमान गरे, जुन यो वर्षको सुरुमा कायम मूल्यभन्दा दोब्बर हो । उनको पूर्वानुमानमा केही संयमता देखिन्छ । केहीले सन् २०२२ को अन्त्यसम्म तेलको मूल्य दुई सय डलर प्रतिब्यारेल पुग्ने बताइरहेका छन् ।
विगतमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि आउँदा पेट्रोलियम कम्पनीको शक्ति असाधारण रूपमा बढ्थ्यो । कम्पनीले पश्चिममा भूरणनीतिक प्रभावसम्म पार्न सक्थे । तर, अब यी पुराना स्वरूपमा फर्किने सम्भावना कम छ । हामी अहिले ब्याट्री र विद्युतीय वाहनको युगको संघारमा छौँ । यी दुई प्रविधिले खनिज इन्धनको प्रयोग, तिनका निर्माता कम्पनी तथा राज्यलाई नराम्रोसँग प्रभावित बनाउनेछ । एक दशकअघिसम्म विश्वभरका सडकमा केही हजार विद्युतीय कार गुड्थे । तर, यो वर्ष विद्युतीय वाहन खरिद गर्ने उपभोक्ताको संख्या ४० लाख पुग्दै छ । विद्युतीय वाहन निर्माणमा क्रान्ति नै आइरहेको छ । तर, हालसम्म अमेरिका यो क्रान्तिको मूकदर्शकजस्तो देखिन्छ ।
अमेरिकामा चर्चित ब्याट्री तथा वाहन निर्माता कम्पनी नभएका होइनन् । तर, तिनले निर्माण गर्ने उन्नत ब्याट्री तथा लोकप्रिय विद्युतीय वाहनको सप्लाई चेन लगभग सम्पूर्ण रूपमा चीनको नियन्त्रणमा छ । विगत एक दशकमा विश्वमा जति पनि धातुलाई लिथिमय आयन–ब्याट्री बनाउने क्षमता निर्माण भएको छ, त्यसको अत्यधिक ठूलो हिस्सा चीनमा निर्माण भएको छ । र, विद्युतीय वाहन क्रान्तिको मुटु हो– ब्याट्री । यही क्षमताको बलमा चीन विद्युतीय वाहन निर्माणको दौडमा अग्रस्थानमा रहन सफल भएको हो, तर चीनको तुलनामा अमेरिका झन्भन्दा झन् पछाडि पर्दै गएको छ ।
सन् २००८ को वित्तीय संकटलगत्तै पछि अमेरिका, चीनलगायत जापान, दक्षिण कोरिया र अन्य मुलुकबीच विद्युतीय वाहन उद्योग निर्माण गर्ने र तिनको लाभांशको फल हासिल गर्ने अघोषित दौड सुरु भयो । यसमा ब्याट्री निर्माणजस्ता सहायक व्यवसाय पनि समावेश थियोे । दौडमा अग्रस्थानमा रहन अमेरिका र चीनले तिनको सरकारी कोषलाई ब्याट्री तथा विद्युतीय वाहन स्टार्ट–अप तथा स्थापित कम्पनीमा खर्चन सुरु गरे । यो सरकारी लगानीपछाडि वित्तीय संकटले धराशायी भएको अर्थतन्त्र पुनरुत्थान हुने आशा पनि थियो ।
प्रारम्भमा अमेरिकामा राष्ट्रपति बाराक ओबामाको रणनीतिप्रति बलियो सार्वजनिक तथा राजनीतिक समर्थन थियो । तर, केही वर्षपछि क्यालिफोर्नियास्थित सौर्य पाता कम्पनी सोलिन्ड्रालाई सरकारी समर्थनमा ऋण दिँदा सार्वजनिक कोषको दुरुपयोग भएको आरोपपछि यो समर्थन धरमराउन थाल्यो । खासमा चीनबाट सस्तोमा आयात गर्दा कम्पनीले क्षति व्यहोर्नुपरेको थियो । उता, चीनमा भने सरकारसमर्थित कम्पनीहरूलाई निरन्तर ब्याट्रीको निर्माणमा प्रयोग हुने कच्चा धातु र तत्वको आपूर्ति पाइरहे । विगत साढे तीन वर्षमा चिनियाँ कम्पनीहरू अतिरिक्त लिथियम सामग्रीको सबैभन्दा ठूलो खरिदकर्ता हुन् । जबकि, यसबीचमा लिथियम धातुको मूल्य बढिरहेको छ ।
सन् २०१८ सम्ममा प्रजातान्त्रिक गणतन्त्र कंगोका आधा कोबाल्ट खानी चिनियाँ कम्पनीको हातमा थियो । प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वमा आपूर्ति हुने अधिकांश कोबाल्टको स्रोत मुलुक हो । सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजले गरेको एक अध्ययनअनुसार चिनियाँ सरकारले देशभित्र विद्युतीय वाहन क्षेत्रमा एक दशकको अवधिमा एक सय अर्ब डलर लगानी गरेको छ । अझ महत्वपूर्ण, चीनले ब्याट्रीमा प्रयोग हुने इलेक्ट्रोड निर्माणका लागि धातु प्रशोधन गर्ने उद्योगलाई समेत सघायो । इलोक्ट्रोड ब्याट्री सप्लाई चेनको थप महत्वपूर्ण हिस्सा हो । एक दशकअघि चीनले ब्याट्री सप्लाई चेनको सम्पूर्ण हिस्सालाई जोडेर विश्वभर फैलिएको उद्योग निर्माण गर्ने जुन निर्णय गरेको थियो, त्यसले उसको हातमा एक वास्तविक रणनीतिक शक्ति आएको छ ।
एक अध्ययनअनुसार चिनियाँ सरकारले देशभित्र विद्युतीय वाहन क्षेत्रमा विगत एक दशकको अवधिमा एक सय अर्ब डलर लगानी ग¥यो । लगानीको प्रतिफलस्वरूप एक दशकभित्र यस्ता उद्योग निर्माण भए, जोसँग हाल विश्वमा प्रयोग हुने ९० प्रतिशत कच्चा लिथियम, ७० प्रतिशत कोबाल्ट र ४० प्रतिशत निकेल छ । चीनको विकासक्रम आजको दिनसम्म जारी छ ।
ऊर्जा अनुसन्धान तथा परामर्श फर्म वुड म्याकेन्जीका अनुसार चीनले झन्डै एक दशक समय खर्चेर निर्माण गरेको एक उद्योगसँग हाल विश्वमा प्रयोग हुने ९० प्रतिशत कच्चा लिथियम, ७० प्रतिशत कोबाल्ट र ४० प्रतिशत निकेल छ । विश्वको लगभग सबै म्याङगानिज तथा ग्रेफाइट प्रशोधन क्षमता पनि चीनमै रहेको छ । चीनको विकासक्रम आजको दिनसम्म जारी छ । यस्तोमा अमेरिकाले चीनलाई कहिल्यै भेट्न सक्छ ? हालैका महिनामा जनरल मोटर्स, स्टेलान्टिस र टोयटा प्रत्येकले विशाल ब्याट्री उद्योग निर्माण गर्ने घोषणा गरेका छन् ।
अलग रूपमा फोर्ड र उसको दक्षिण कोरियाली साझेदारीले सन् २०२५ सम्ममा बर्सेनि दश लाख विद्युतीय वाहनलाई ब्याट्री दिन सक्ने तीन ब्याट्री संयन्त्र निर्माण गर्ने बताएको छ । ती संयन्त्र पनि अमेरिकामा बनाइनेछ । तर, यी कम्पनीले ब्याट्री सप्लाई चेनलाई कसरी एकआपसमा जोड्छन्, खुलाएका छैनन्, न त तिनले कसरी कोबाल्ट तथा म्याङगानिजजस्ता अत्यावश्यक सामग्री प्राप्त गर्नेछन् भन्ने नै बताएका छन् ।
ब्याट्री उद्योगभित्रका केहीले ब्याट्री संयन्त्र घोषणा भइसकेपछि तिनलाई चाहिने पदार्थका आपूर्तिकर्ता कतैबाट आउनेछन् भन्ने विश्वास गरेर बसेका छन् । तर, यो तर्कलाई पुष्टि गर्ने तथ्यांक भेटिँदैन । अरू भने चीनको जस्तै सप्लाई चेनको विस्तारमा वासिङ्टनले रकम दिएर सघाउनेमा आशावादी छन् । बाइडेन प्रशासनले जुन महिनामा ‘नेसनल ब्लुप्रिन्ट फर लिथियम ब्याट्री’ सार्वजनिक ग¥यो । त्यसमा अमेरिकी उपभोक्तालाई विद्युतीय कार तथा ट्रक खरिद गर्न प्रोत्सोहन होस् भनेर एक सय ७४ अर्ब डलर छुट्याइएको छ । तर, अघिल्लो साता अमेरिकी संसद्बाट पारित भएको १२ खर्ब डलरको पूर्वाधार विधेयकमा ब्याट्रीको सप्लाई चेनका लागि जम्मा सात अर्ब डलर छुट्याइएको छ । ब्याट्री–धातु प्रशोधन उद्योग खडा गर्न मात्रै दशौँ अर्ब डलर खर्च हुने हुँदा जम्मा सत अर्ब डलर निकै कम हो ।
यति धेरै अनिश्चितता कायम रहँदा २०२० को दशक, अझ त्योभन्दा अगाडिको २०३० को दशकसम्म पनि अमेरिका चिनियाँ आपूर्तिमा निर्भर रहन्छ । त्यस अवधिमा चीनले आफ्नो सप्लाई लाइन अमेरिकाका लागि खुला राख्ला ? सम्भवतः राख्नेछ । तर, यसको पनि कुनै सुनिश्चितता छैन । अमेरिकाका लागि सबैभन्दा उत्कृष्ट विकल्प आफ्नै सप्लाई चेनमाथिको पकड बलियो बनाउनु हुनेछ । ‘यदि १०० प्रतिशत विश्वसनीय ब्याट्री सप्लाई चेन अमेरिकाभित्र रहोस् भन्ने हामी चाहन्छौँ भने यसका लागि एक दशक समय लाग्नेछ,’ ब्याट्री कन्सल्ट्यान्ट तथा एक चिनियाँ ब्याट्री कम्पनीका पूर्व प्रमुख प्राविधिक अधिकारी बब गल्यनको ठम्याइ हो, यो । उनको भनाइले नीतिनिर्माता तथा वाहननिर्मातालाई दिने सन्देश हो– काम सुरु गर्ने समय अहिले नै हो ।