कृषि नेपालको आर्थिक विकासको आधार भएकाले यस क्षेत्रको विकासमा राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । हामी कृषिप्रधान देश नेपाल भनेर गर्व त गर्छौं, तर खाद्यान्नदेखि तरकारी, फलफूल, तेलहनजस्ता उपभोग्य वस्तुहरू आयात गर्न बाध्य छौँ । यसका पछाडि विविध कारण रहेका छन् । असोजदेखि फागुन मसान्तसम्ममा मासिक एक अर्बका दरले तरकारी तथा फलफूल आयात गरेको तथ्यांक कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रले देखाएको छ । हामी उत्पादनमा अब्बल नभएका होइनौँ, र पनि किन यति ठूलो रकम खर्चेर तरकारी तथा फलफूल आयात गर्छौं त ? यस्तो हुनुमा बजारको सुनिश्चतता नहुनु मुख्य कारण देखिन्छ । अनेकौँ समस्या सामना गरेर बल्लतल्ल उत्पादन गरिन्छ । जब बजारीकरणको समय आउँछ, तब उचित मूल्य नपाउने अवस्था सामान्य नै भएको छ ।
उत्पादन खरिदका लागि बिचौलियाको एकाधिकार हुनु पीडादायी अवस्था हो । किसानले लामो समय पर्खेर मल, जल, बिउ, प्राविधिक सहयोग र औषधि प्रयोग गर्दै जब बजारसम्म लैजान्छ, तब एकाएक लागतभन्दा पनि कम मूल्यमा उत्पादन बिक्री गर्नुपर्ने पीडादायी समस्या अन्त्य हुनुपर्छ । किसानले उचित नाफा पाउनुपर्नेमा लागतसमेत नआउने भएपछि कृषकमा हौसला नभई निराशा छाउनु स्वाभाविक नै हो । नेपालमा मात्र उत्पादन हुने दर्जनौँ खाद्यान्न नभएका होइनन् । जुम्ली मार्सी चामलको चर्चा गत वर्ष ज्यादा भएको थियो । हाम्रा चाडपर्वमा विशेष परिकार बनाई आपसमा मिलेर खाने र अतिथि सत्कार गर्ने जुन मौलिकता छ, त्यो अन्य देशमा विरलै पाइएला । नेपालमा स्थानअनुसार उत्पादन हुने मनै लोभ्याउने बासमती धानले उचित बजार पाउने हो भने निर्यात गरी मनग्गे आम्दानी गर्न सकिन्छ । हाम्रो देशमा विभिन्न थरीका बास्ना आउने धान र चामलका रैथाने जात पाइन्छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले स्थापना गरेको जिन बैंकमा बासमतीका २६ वटा जात रहेको जनाएको छ । नेपालको रैथाने बालीका रूपमा दाबी गर्दै नेपालले युरोपेली संघ (इयू)मा पेस गरेको छ । बासमती धानमा दाबी गर्ने भारत र पाकिस्तानले पनि इयूमा आधिकारिकताको पहल जारी राखेका छन् । नेपालले आफ्नो दाबीपत्र गत डिसेम्बरमा पेस गरेको छ । नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि संकलन गरिएका ४७ प्रकारका रैथाने बासमती धानका जातलाई अन्तर्राष्ट्रिय जिन बैंकमा पनि राखिएको छ । नार्कले राष्ट्रिय जिन बैंकमा भने विभिन्न २४ प्रकारका रैथाने बासमती जातका धान वर्षौंदेखि नेपालका विभिन्न स्थानबाट संकलन गरी राखेको छ । यस धानको विषयमा नेपालले सन १९६० मै हाम्रो मौलिक धान हो भनेर प्रमाणसहित दाबी गरेको थियो ।
अहिले बासमती धान उत्पादनको आधिकारिक प्रमाणपत्र लिने जुन पहल भइरहेको छ, त्यसरी नै अन्य सयौँ रैथाने उत्पादनको आधिकारिकताका लागि पनि प्रभावकारी दाबी गर्न सक्नुपर्छ
नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने बासमती धानलाई स्थानविशेष अनेकौँ नामले चिनिन्छ । पोखराको जेठोबूढो, नुवाकोटको साहुगाउँ र चनौटे फाँटमा लगाइने गरेको बासमतीलाई बृमफूल, कालोकाठे तथा भुन्टे मसिनोजस्ता नामले चिनिन्छ । त्यस्तै, नुवाकोटकै सेरा र थान्सिङ फाँट बासमती धान उत्पादनकै कारण केही वर्षअगाडिसम्म निकै चर्चामा रहेका थिए । बास्ना आउने सन्दर्भमा चर्चा गर्दा विशेषतः बृमफूलको भने धान, चामल र परालसमेत मगमगी बास्ना आउँछ । पराल लामो हुने अनि त्यसबाट गुन्द्री, सुकुलजस्ता घरेलु सामान निर्माण सहज हुने भएकाले यो धानको माग धेरै छ । यस्ता धानलाई कृषि विभागबाट उत्पादनको पकेट क्षेत्र बनाई थप उत्पादनमा जोड दिनुपर्ने देखिन्छ ।
यो लोकल धानको उत्पत्ति केन्द्र भने तराई मधेस नै हो । यो तथ्य नेपालको दस्तावेजमा मात्र नभई भारतलगायत विभिन्न देशका दस्तावेजमा पनि पाइन्छ । हाम्रो देशले गरेको दाबीका आधारमा प्रमाणपत्र प्राप्त गर्ने हो भने अवश्य नै हाम्रो लोकल र बासमती धान तथा चामलको बजार व्यापक हुनेछ । यसले कृषक थप उत्साहित भई उत्पादन वृद्धि हुन जान्छ भने रैथाने धान–चामलले अन्तर्राष्ट्रिय बजार पाउँछ । बर्सेनि आयात बढ्ने, निर्यात घट्ने अवस्थामा सुधार ल्याउन सकिन्छ । आज अर्थतन्त्रमा नकारात्मक असर परिरहेको विषम अवस्थामा यसले प्रमाण पाएमा नेपालको उत्पादन, व्यापार, वैदेशिक सम्बन्ध सबैमा वृद्धि हुनेमा विमति छैन ।
अहिले बासमती धान उत्पादनको आधिकारिक प्रमाणपत्र लिने जुन पहल भइरहेको छ, त्यसरी नै अन्य सयौँ रैथाने उत्पादनको आधिकारिकताका लागि पनि प्रभावकारी दाबी गर्न सक्नुपर्छ । त्यस्ता सम्भावना भएका नगदे बालीमा अकबरे खुर्सानी, अम्लिसो, अदुवा, अलैँची, चिया, बेसार, जिम्बु, सिमीलगायत बालीनाली छन् । स्थानविशेषमा मात्र पाइने उत्पादनको सम्भाव्यता अध्ययन गर्नुपर्छ, जसले गर्दा विशेष पहिचान नभएका तर छिटपुट बिक्री वितरण भने भइरहेका रैथाने उत्पादनले ब्रान्ड पाउने अवस्था सिर्जना हुनेछ । यसले रोजगारी वृद्धि हुने र कृषिमा युवा थप आकर्षित भई अन्ततः आर्थिक रूपले हामी सबल बन्ने मार्गमा जान सक्छौँ । नार्कले अन्य नगदे तथा खाद्यबालीमा पनि आधिकारिकता दाबी गर्नुपर्ने देखिन्छ ।