रसुवामा आगामी १९ मंसिरमा हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा च्यालेन्ज हुन लागेको हो । प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिला मा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका आयोजक साइक्लिङ संघका अध्यक्ष दावा तामाङले जानकारी दिएका छन् ।
इलिटतर्फका विजेताले ४० हजार, उपविजेताले २० हजार तथा तेस्रो स्थानमा रहने खेलाडीले १५ हजार रुपैयाँ पाउने अध्यक्ष तामाङले बताए । उनका अनुसार चौथोदेखि दशौँ स्थानमा रहने खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिनेछ । यसैगरी मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले सात हजार पुरस्कार पाउनेछन् । नेपाल साइक्लिङ संघको प्रावधिक सहयोगमा हुने प्रतियोगिताको दूरी ३५ किलोमिटर रहेको छ । यसमा एक सय ५० खेलाडीको सहभागिता जनाउनेछन् ।
यसैबीच परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र रसुवा साइक्लिङ संघका अध्यक्ष तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगिताका लागि परिषद्ले १० लाख उपलब्ध गराउनेछ । सदस्यसचिव भण्डारीले खेलकुदमार्फत पर्यटनलाई पनि अग्रसर दिने उद्देश्यका साथ परिषद्ले हाई अल्टिच्युट प्रतियोगितालाई महŒव दिएको बताए । नेपाल साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सरोकार निकायसँग समन्वय गरी प्रतियोगिता आयोजना गर्न लागेको जनाए ।