६३ महिनामा १,२१,२९८ दुर्घटना : १२ हजार नौ सय ४० जनाको मृत्यु

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रत्येक वर्ष दसैँका वेला झन् धेरै ठूलाठूला दुर्घटना हुन्छन्

- ०६८ को दसैँलगत्तै ना.३ख ९४१२ नम्बरको बस सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै थियो । बसमा यात्रु खचाखच थिए । सिन्धुलीको पुरानो झाँगाझोलीस्थित रिट्ठे भिर आइपुगेपछि बसले एकाएक नियन्त्रण गुमायो । यात्रुले गुहार भन्न नपाउँदै बस भिरबाट ५० मिटर तल सुनकोसीको किनारमा बजारियो । र, बसमा सवार ४१ यात्रुको एकै चिहान भयो । 

- ०७१ को दसैँपछि बा.३ख ५७०७ नम्बरको बस डोटीको जोरायलबाट धनगढीतर्फ जाँदै थियो । बसभित्र मात्र होइन, हुट पनि यात्रुले भरिएको थियो । डोटीको तत्कालीन छतिवन गाविस– ५ बाजलेकस्थित कठपतेमा बसले नियन्त्रण गुमायो । चालकले रोक्न खोज्दाखोज्दै बस भिरबाट खस्यो । ३० यात्रुको एकै ठाउँ ज्यान गयो । 

- काभ्रे महाभारत– २ की ३५ वर्षीया खेलीमाया बल ०७४ को दसैँ मनाउन बोलेरो जिप चढेर काठमाडौंबाट गाउँ जाँदै थिइन् । शिखर आम्बोटेस्थित निगालेमा जिप दुर्घटना भयो, जिपमा रहेका आठमध्ये सात यात्रुको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुने सबै खेलीमायाकै परिवारका सदस्य थिए । अनुसन्धानपछि प्रहरीले क्षमताभन्दा धेरै यात्रु चढेकोले जिप दुर्घटना भएको निष्कर्ष निकालेको थियो । 

- ओखलढुंगा मानेभञ्ज्याङ– ९ का ३० वर्षीय रामबहादुर सार्की ०७७ को दसैँ मनाउन स्कार्पियो रिजर्भ गरेर सपरिवार भैरहवाबाट गाउँ जाँदै थिए । सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डअन्तर्गत उदयपुरको भदौरेमा स्कार्पियो भिरबाट खस्यो । पाँच यात्रुको घटनास्थलमै मृत्यु भयो, तीन गम्भीर घाइते भए । 

०००                                                                    ०००

उल्लेखित चारवटै दुर्घटना दसैँ पर्ववरिपरि भएका हुन् । चारवटै दुर्घटनामा क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधन परेका छन् । प्रहरीको निष्कर्ष छ– सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु राख्नु नै चाडपर्वका वेला हुने दुर्घटनाको प्रमुख कारण हो । 

त्यसबाहेक एउटै सवारीसाधनलाई धेरै सञ्चालनमा ल्याउनु, चालकको संख्या कम हुनु, मादक पदार्थ सेवन गर्नु पनि चाडपर्वका वेला दुर्घटना हुने अन्य कारण भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले दसैँको समयमा हरेक वर्ष तुलनात्मक रूपमा बढी दुर्घटना हुने गरेको बताए ।

‘दसैँ पर्वका वेला दुर्घटना धेरै हुने गरेका छन्, मृत्यु हुने दर पनि सोहीअनुसार बढी हुन्छ । यसका केही खास कारण छन् । ओभर लोड अर्थात् क्षमताभन्दा धेरै यात्रु राख्नु एउटा मुख्य कारण हो । त्यस्तै, त्यो समयमा सवारीसाधन धेरै चल्छन् । त्यसले पनि दुर्घटनाको दर बढ्छ । यहीवेला कमाउने सुरमा एउटै चालकले एउटै गाडी धेरैपटक चलाउने गरेका छन्, त्यसले पनि दुर्घटना बढाउँछ । मापसे गरेर सवारी चलाउने पनि यही वेला धेरै देखिन्छन्,’ प्रहरी प्रवक्ता कुँवरले भने । 

६३ महिनामा १२,७९७ यात्रुले ज्यान गुमाए

प्रहरीको तथ्यांकअनुसार पछिल्लो ६३ महिनामा भएका सवारी दुर्घटनामा १२ हजार सात सय ९७ यात्रुले ज्यान गुमाएका छन् । उनीहरूमध्ये नौ हजार पाँच सय ८७ पुरुष, दुई हजार २५ महिला र एक हजार एक सय ८५ बालबालिका रहेका छन् । यो तथ्यांक आर्थिक वर्ष ०७३/७४ देखि चालू आर्थिक वर्षको असोजसम्मको हो । यो अवधिमा देशभर एक लाख २१ हजार दुई सय ९८ सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।

यो दसैँमा झन् धेरै दुर्घटना : एक सय ४३ ले ज्यान गुमाए

२६ असोज फूलपातीका दिन मुगुको तपने खोलामा दुर्घटनाग्रस्त बस । दुर्घटनामा ३२ यात्रुले ज्यान गुमाएका थिए । फाइल तस्बिर

दसैँको घटस्थापनायताका १० दिनमा भएका पाँच सय ९३ सवारी दुर्घटनामा एक सय ४३ जनाले ज्यान गुमाएका छन् । नौ सय २२ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा सबैभन्दा धेरै मृत्यु कर्णाली प्रदेशमा भएको छ । आइतबारसम्म यहाँ भएका २१ दुर्घटनामा ३७ जनाले ज्यान गुमाएका छन् । ६४ जना घाइते छन् । २६ असोजमा मुगुमा ठूलो दुर्घटना भएको थियो । नेपालगन्जबाट मुगुतर्फ गइरहेको भे.१ख ३१६७ नम्बरको बस छायानाथ रारा गाउँपालिका– ७ तपनेखोलामा दुर्घटना भएको थियो । बसमा सवार ४३ यात्रुमध्ये ३२ जनाको मृत्यु भयो । २४ यात्रुले घटनास्थलमै र आठजनाले उपचारको क्रममा ज्यान गुमाएका थिए ।

कर्णालीपछि प्रदेश २ मा दुर्घटनामा धेरै मृत्यु भएको छ । पछिल्ला १० दिनमा यहाँ भएका एक सय ४३ दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् । दुई सय ३८ जना घाइते भएका छन् । तेस्रो नम्बरमा लुम्बिनी प्रदेशमा भएका दुर्घटनामा यात्रुको ज्यान गएको छ । दसैँको अवधिमा यो क्षेत्रमा भएका ४४ दुर्घटनामा २४ जनाको मृत्यु भयो भने ६७ जना घाइते भए । त्यस्तै, प्रदेश १ मा एक सय ५६ दुर्घटना भए, जसमा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने दुई सय ९६ जना घाइते भएका छन् । गण्डकीमा भएका १२ दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ३७ पुगेको छ । दसैँ बिदा मनाउन गत २५ असोजमा ग.१ज ६९०० नम्बरको जिप चढेर कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गएका थिए काठमाडौंका आठ विद्यार्थी । नौ यात्रु सवार जिप अन्नपूर्ण गाउँपालिकाको बलाभिर भन्ने स्थानमा दुर्घटना भयो । ६ जनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा ज्यान गयो ।

त्यस्तै, सुदूरपश्चिममा १५ दुर्घटना भएका छन्, जसमा ११ जनाको ज्यान गयो भने २५ जना घाइते भए । बागमतीमा भएका ७० दुर्घटनामा १२ जनाको ज्यान गएको छ । एक सय ९५ जना घाइते भएका छन् । दसैँ मनाएर सोमबार नुवाकोट किस्पाङ– ५ मनोगाउँका स्थानीय काठमाडौं फर्कँदै थिए । बा.४ख ५७६२ नम्बरको बसमा सवार थिए उनीहरू । नियन्त्रण गुमाएपछि बस सडकबाट नालीतर्फ जोतियो । पल्टिएको बसमा सवारमध्ये ३६ यात्रु घाइते भए । एकजनाको उपचारको क्रममा मृत्यु भयो । प्रहरीका अनुसार घाइतेमध्ये २८ को जिल्ला अस्पताल त्रिशूलीमा, एकजनाको ग्रान्डी अस्पतालमा र सातको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

दैनिक ६३ दुर्घटना, ७ को मृत्यु
प्रहरीको तथ्यांकअनुसार देशभर प्रत्येक दिन ६३.३९ सवारी दुर्घटना हुने गर्छन् । जसमा औसत सातजनाले ज्यान गुमाउँछन् । यो दर प्रत्येक वर्ष बढ्दो छ । सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने गरेका छन् । त्यसपछि जिप, कार, बस, ट्रक, ट्यांकर दुर्घटनामा पर्ने गरेका छन् । प्रहरी प्रवक्ता एसएसपी कुँवरले भने, ‘दर्ता भएको आधारमा हेर्दा सबैभन्दा धेरै सवारीसाधन मोटरसाइकल छन् । त्यसो हुँदा दुर्घटनाको दर पनि मोटरसाइकलको नै धेरै हुनु स्वाभाविक हो । त्यसपछि जिप, कार, बसलगायतका सवारीसाधन धेरै छन् । दुर्घटनाको दर पनि सोहीअनुसार फरक–फरक छन् ।’

उपत्यकाभित्र मृत्यु र घाइते दर शून्य 
विगतमा धेरै दुर्घटना र मृत्यु हुने काठमाडौं उपत्यकामा भने यो दसैँमा दुर्घटनाबाट कसैले पनि ज्यान गुमाउनुपरेन । न कोही घाइते नै भए । १० दिनको अवधिमा उपत्यकाभित्र एक सय ३२ सामान्य दुर्घटना भएको प्रहरीको तथ्यांक छ । प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले यस वर्षको दसँैमा धेरै दुर्घटना भएको र ज्यान गुमाउनेको संख्या पनि धेरै रहेको बताए । ‘यो वर्षको दसैँमा दुर्घटनाको दर बढेको देखिन्छ । मृत्यु हुने र घाइते हुने दर पनि बढेको छ । तथ्यांक हेर्दा अधिकांश दुर्घटना ग्रामीण सडकमा भएका छन् । तर, आश्चर्य के भने सहरमा दुर्घटना मात्र होइन, मृत्यु दरसमेत घटेको छ । यसले के संकेत गर्छ भने हाम्रा ग्रामीण सडक गुणस्तरीय छैनन् । तिनीहरूलाई सुधारको खाँचो छ,’ उनले भने ।

कारबाहीका कारण मृत्यु घट्यो 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यो वर्ष उपत्यकाभित्र ट्राफिक कारबाही अत्यन्तै कडा पारिएको थियो । जसमा दुई हजार पाँच सयलाई त मापसे कारबाही गरियो । ६ सय २५ जनालाई ओभर स्पिड गरेको कारण कारबाही गरियो । यसका लागि महाशाखाले ठाउँठाउँमा चेकप्वाइन्ट बनाएको थियो । कारबाही कडा पारिएकै कारण दुर्घटनाबाट हुने मृत्यु र घाइते दर शून्यमा झरेको महाशाखा प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताए । 

‘काठमाडौं उपत्यका यस वर्ष एक सय ३२ दुर्घटना भए । तर, कसैको ज्यान गएन । न कोही घाइते नै भए । विगतका दसैँमा दुर्घटनामा परी उपत्यकामा १५ देखि २० जनाको ज्यान जाने गथ्र्यो । घाइते पनि उत्तिकै हुन्थे । यसपटक कारबाही दर बढेकोले पनि यस्तो भएको हुन सक्छ,’ प्रवक्ता दासले भने । 

सुझावित समाचार