आफ्नो वास्तविक गन्तव्यबाट विचलित साम्यवाद यतिखेर सत्तामा पुग्ने र स्वार्थसिद्ध गर्ने माध्यम बनेको छ
वर्तमान समयमा विश्वभर साम्यवादी व्यवस्थामा प्रश्न खडा भएको छ । विशुद्ध साम्यवादका आधारमा शासन–सत्ता सञ्चालन गरेर देशको उन्नति गर्दै देशवासीलाई सन्तुष्ट गर्न सकेको स्थिति कहीँ कतै छैन । मानिस स्वभावैले स्वतन्त्रताप्रेमी हुन्छ, स्वतन्त्रतालाई निरपेक्ष रूपमा समाप्त पारी व्यक्तिकेन्द्रित सर्वसत्तावादका आधारमा सञ्चालित शासन प्रणालीलाई आत्मसात् गर्न मानवसमाज स्वस्फूर्त रूपमा तयार हुन सक्दैन, बाध्यात्मक परिस्थितिमा मात्र साम्यवादमा शासित हुनुलाई नियतिका रूपमा स्वीकार गरिराखेको हुन्छ । प्रश्न उठ्न थालेको छ, विश्ववाट साम्यवादी शासन प्रणाली पलायनउन्मुख भएको हो वा यसका पात्रका कारण यो कमजोर बनेको हो । यसको निष्कर्षमा पुग्न साम्यवादी सिद्धान्त र विभिन्न कालखण्डमा आएको विचलनको अध्ययन गर्नुपर्छ ।
साम्यवादको उदय : साम्यवादी शासन प्रणालीको प्रादुर्भाव कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सन् १९४८ मा प्रकाशित गरेको साम्यवादी घोषणापत्र अथवा कम्युनिस्ट मेनिफेस्टोबाट भएको हो । यसका अनुसार विश्वमा पुँजीवादको उदय र विकास श्रमिकको शोषणबाट भएको हो । कम्युनिस्ट सिद्धान्त र शासनशैलीमा द्वन्द्वात्मक भौतिकवादका आधारमा परिवर्तन हुँदै जान्छ । श्रमिकको उत्पादनबाट अतिरिक्त मूल्यमा पुँजीपतिले शोषण गरी व्यक्ति लाभान्वित हुँदै अथाह सम्पत्ति संग्रह गर्ने तर वास्तविक उत्पादनका लागि भौतिक अस्तित्वसमेत संकटमा पार्ने श्रमिकले आफ्नो श्रमको मूल्य प्राप्त गर्दैन । यही शोषणका कारण समाजमा शोषक र शोषित अथवा धनी र गरिब, मालिक र मजदुरबीच द्वन्द्व प्रारम्भ हुन्छ ।
द्वन्द्वले चरम स्वरूप ग्रहण गर्दा अन्त्यमा मजदुरको विजय हुन्छ र मजदुरको शासन सुरु हुन्छ । यसबाट समाजमा समानतावादी शासन व्यवस्थाको प्रारम्भ हुन्छ भन्दै यसलाई न्यायपूर्ण समाजको संज्ञा माक्र्स र एंगेल्सले दिएका हुन् । आधुनिक विश्वमा उदार साम्यवादी शासन प्रणाली अवलम्बन गर्ने जनवादी गणतन्त्र चीन साम्यवादलाई आफ्नै प्रकारले व्याख्या गर्दै कार्यान्वयनमा जुटेको छ । चीनमा साम्यवादी शासन प्रणालीका लागि संघर्षरत माओ त्से तुंगले माक्र्स र एंगेल्सको विचार र सिद्धान्तलाई पूर्ण रूपमा स्वीकार गरेनन् । उनले मजदुर मात्र शोषित हुँदैनन् भन्दै किसान र मजदुरको संयुक्त संघर्ष जरुरी हुने तर्क राखेका हुन् । माओका अनुसार हुनेखाने र हुँदा खानेबीचको द्वन्द्वको परिणाम साम्यवादी शासनको प्रारम्भ हुन्छ । त्यसैले वास्तविक रूपमा आफ्नो परिश्रम गरेर उत्पादन गर्ने किसान र मजदुर दुवै शोषित भएका हुन्छन् । किसानलाई समेत समेटेर मात्र न्यायपूर्ण समाज स्थापना गर्न सकिन्छ ।
विश्वबाट साम्यवाद पलायन हुँदै जानुका कारण : पहिलो कारण हो, दक्षिणपन्थी अवसरवादका आधारमा साम्यवादको दुरुपयोग । यसमा माक्र्सवादले अगाडि सारेको पुँजीवादविरुद्धको वर्गसंघर्षलाई निष्प्रभावी बनाउने, सर्वहारा श्रमजीवी वर्गको राज्यसत्तामा उपस्थिति र सहभागितालाई अस्वीकार गर्ने, पुँजीवादी व्यवस्थामा सुधार गरेर समाजवाद स्थापना गर्न सकिने मान्यताका आधारमा साम्यवादी सिद्धान्तलाई तहसनहस बनाउने गरिन्छ । वर्गसंघर्ष र क्रान्तिलाई अनिवार्य मानिँदैन । दलभित्र समूह र उपसमूह निर्माण हुँदै जान्छन् ।
सोभियत संघमा स्टालिनपछि सत्ता र पार्टीमा खु्रस्चेभ नेतृत्वमा आए । खु्रस्चेभले स्टालिनका योगदानलाई नामेट पारेर वर्ग समन्वयका आधारमा कम्युनिस्ट पार्टीलाई सञ्चालन गर्ने दृष्टिकोण अगाडि सारे । सन् १९६० मा विश्वका कम्युनिस्ट पार्टीहरूको सम्मेलनमा खु्रस्चेभले सर्वहारा वर्गको मात्र होइन, सम्पूर्ण जनताको राज्य, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण समाजवादको पक्षको कार्यदिशा अवलम्बन गरेपश्चात् माओले विरोध गर्दै माक्र्सवादी लेनिनवादी सिद्धान्त र आदर्शबाट कम्युनिस्ट पार्टी सञ्चालन गर्नुपर्ने धारणा राखे । कम्युनिस्ट आन्दोलनमा चीन र खु्रस्चेभको संशोधनवादी धार प्रस्ट भयो । यसबाट कम्युनिस्टहरूमा विभाजनको रेखा कोरियो । कम्युनिस्ट राजनीतिको विचलनको प्रारम्भबिन्दु पनि यही बन्न पुग्यो ।
कम्युनिस्ट शासकहरू व्यक्तिगत स्वार्थ र सत्तालिप्सामा लिप्त हुँदै गए । निजी सम्पत्तिको अन्त्य गर्ने यसको सिद्धान्तलाई सामुदायिक सम्पत्तिमा परिणत गरी पुँजीवादतर्फ उन्मुख हुने प्रवृत्ति देखा प¥यो । पुँजीवादका अवगुण र साम्यवादी सिद्धान्तलाई तोडमोड गर्दै विकृत साम्यवादको प्रयोग हुँदै गयो । अबको साम्यवादले क्रमशः सम्पत्ति राज्यकेन्द्रित नगरी समुदाय र उदार साम्यवादका नाममा व्यक्तिले पनि निजी सम्पत्ति राख्ने अभ्यास हुन थालेको छ । सामूहिक प्रयास, सहकार्य र साझेदारीलाई ग्रहण गरिएको देखाई यसका सर्वमान्य सिद्धान्तमा समझदारी गरिएको छ । धर्म, संस्कृति, कुरीति र अन्धविश्वासलाई अन्त्य गर्ने अर्थपूर्ण अभ्यासबाट विश्वभरका साम्यवादी पछि हट्दै गएका छन् ।
आफ्नो वास्तविक गन्तव्यबाट विचलित साम्यवाद यतिखेर सत्तामा पुग्ने र स्वार्थसिद्ध गर्ने माध्यम बनेको छ । साम्यवादी शासन राजनीतिक अस्तित्व रक्षाका लागि आस्था र सिद्धान्तलाई जनतालाई दिग्भ्रमित बनाउने सन्दर्भका रूपमा लिनुपर्ने अवस्था छ । कम्युनिस्टहरू विश्वभर फुट परस्त राजनीतिमा अव्यस्त हँुदै गएका छन् । खु्रस्चेभले प्रारम्भ गरेको विभाजनको रेखालाई अघि बढाउने काम माओ त्से तुंगले गरे । उनले कम्युनिस्ट सोभियत संघसँग दूरी बढेपछि अमेरिकासँग गठजोड गर्दै अमेरिकी प्रशिक्षण, प्रविधि, सूचना, स्रोत, साधन, हातहतियारसमेत प्राप्त गर्ने गरी सम्झौता गरे । तत्कालीन अमेरिकी राष्ट्रपति निक्सन र माओ मिलेर सोभियत संघविरुद्ध रणनीतिक घेराबन्दी गर्दै विघटनको अवस्थासम्म पुर्याए । त्यस बखतको चीन साम्यवादीहरूले साम्राज्यवादी र पुँजीवादी मुलुकका रूपमा कडा आलोचना गरिँदै आएको अमेरिकाको असली रक्षाकवच बन्दै उसैको निर्देशनमा कार्य गर्न उद्यत् देखिन्थ्यो । ख्रुस्चेभ र माओले अघि सारेको फुटपरस्त नीतिलाई आज विश्वभर बचेका साम्यवादीले अवलम्बन गर्दै आएका छन् ।
आधुनिक विश्वमा कम्युनिस्ट शासनमा रहेका प्रमुख देशहरू चीन, क्युवा, रसिया र उत्तर कोरिया हुन् । चीनबाहेक कुनै पनि कम्युनिस्ट देशले लोकतान्त्रिक देशका तुलनामा प्रगति गर्न सकेका छैनन् । सुशासन त साम्यवादी देशमा कल्पनाभन्दा टाढाको विषय हुने नै भयो । मान्छे स्वभावैले स्वतन्त्रता चाहन्छ । यसको अभावमा भएका भौतिक विकास र समृद्धिको विषय गौण मानिन्छ । चीनमा उदार साम्यवादका कारण प्रगति हुँदै गएको अवस्था छ । कट्टर कम्युनिस्ट देशहरू पछि पर्दै गएका छन् । प्रतिनिधि उदाहरणका रूपमा दक्षिण कोरियाको तुलनामा उत्तर कोरियाको अवस्था हेर्नु सान्दर्भिक हुन्छ ।
नेपालमा साम्यवादीहरूको शासन : नेपालका साम्यवादी शक्तिहरू कमजोर बनेका छन् । ०६२, ६३ सालको आन्दोलनमा साम्यवादी आन्दोलनका आधारमा गणतन्त्रमा नपुगिने स्पस्ट अडान राखेका, देशमा गणतन्त्र सम्भव नहुने तर्क राख्दै यसैका पक्षमा खुलेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विशुद्ध षड्यन्त्रमा लिप्त हुदै अत्यन्त अविश्वसनीय पात्रका रूपमा दुईतिहाइ बहुमतनजिकका प्रधानमन्त्री हुँदाहुँदै पनि सत्ताबाट बाहिरिनुपरेको छ । देशका सम्मानित राष्ट्रपतिलाई समेत आफूअनुकूल प्रयोग गर्दै ओलीजीले यस पदको प्रतिष्ठा र गरिमामा पनि दाग लगाइदिनुभयो ।
सत्ता प्राप्ति र यसलाई निरन्तरता दिने अर्जुन दृष्टि मात्र ओलिजीमा देखियो । यसले गर्दा सधैँ फुटपरस्त राजनीति गर्दै आएका नेपालका कम्युनिस्ट वर्तमान समयमा मूलतः उहाँकै कारण आलोचित र विवादित मात्र होइन, झन्डै दुईतिहाइनिकट बहुमत गुमाएर प्रतिपक्षमा खुम्चिएका छन् । ओलीले माधव नेपाल, झलनाथ खनालजस्ता नेता तथा आफ्नै सहयात्रीलाई समेत पार्टी छाडेर नयाँ पार्टी खोल्न बाध्य पार्नुभएको छ । ओलीजीकै कारण नेपालको साम्यवादी आन्दोलन तहसनहस हुँदै गएको छ । उहाँलाई लोकतान्त्रिक शक्तिले नभई व्यक्तिगत अभीष्ट पूरा गर्न नसकेको पीडाका कारण आफ्नै दलका सगोत्री ‘कमरेड’हरूले कमजोर बनाएका हुन् । ओलीजीको एक्लै हिँड्ने सोखसमेत यसका लागि जिम्मेवार छ ।
कम्युनिस्टहरूले एकले अर्कालाई लगाउँदै आएका आरोप र गालीगलोज अत्यन्त अशोभनीय छन् । आन्तरिक गुटबन्दीलाई मलजल गर्न रणनीति तय गर्न सिपालु ओलीजीका कारण देशको लोकतन्त्र बिस्तारै खतराउन्मुख हुँदै छ । साम्यवादी दलहरू अस्तित्व रक्षाको लडाइँमा तल्लीन हुनुपर्ने स्थिति छ । ओलीजीको कार्यकालमा माफिया, भ्रष्ट, दलालहरूलाई मात्र लोकतन्त्र आएको टिप्पणी सुनिन्थे । भ्रष्टाचार व्याप्त छ, कानुनको समान प्रयोगको सन्दर्भ कल्पनामा सीमित बन्दै गएको छ । संघीयताको मूल मर्मविपरीत सिंहदरबारले नै शासन गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन, देश बिस्तारै मुठभेडको अवस्थामा पुगिराखेको छ । यस स्थितिमा नेपालमा अप्रत्यासित रूपमा ठूलो शक्तिका रूपमा उदाएको साम्यवादी दलहरू पुनः टुक्रा–टुक्रामा विभाजित भएका छन् ।
यही प्रवृत्तिले निरन्तरता प्राप्त गर्दै जाँदा नेपालमा कम्युनिस्ट सिद्धान्तमा आधारित राजनीतिले आफ्नो गन्तव्य निर्धारण गर्न नसकी कमजोर बन्दै जाने अवस्था छ । त्यसैले कम्युनिस्टबीच एकता नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत आवश्यक छ । समयमै एक हुन नसक्ने हो भने विश्व परिवेशमा साम्यवादीहरू पलायन भएजस्तै नेपालमा पनि इतिहासमै सीमित हुने अवस्था आउने त होइन ? किनकि आपसी कलह र द्वन्द्वलाई मलजल गर्दै व्यक्तिगत स्वार्थका आधारमा दल फुटाउँदै आएका साम्यवादीहरू २०१५ सालकै निर्वाचनको अवस्थामा अथवा चार स्थानमा मात्र सीमित हुन पुगे आश्चर्य मान्नुपर्ने अवस्था छैन । यदि कांग्रेसले आफ्नो सिद्धान्तनिष्ठ राजनीति गरेमा साम्यवादीको पतन अवश्यम्भावी छ ।
अन्त्यमा, हरेक तानाशाहले अतिरञ्जित आत्मविश्वासका कारण गल्ती गर्दै जान्छन् । त्यसै खाल्डोमा खसेर पुरिन्छन् । संसारका तानाशाहहरूको पतन यसैगरी भएको छ । तर, हाम्रो राष्ट्रियताको भावनाले ओतप्रोत भएका कुशल रणनीतिकार भनिएका ओलीजीमा अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफर्सनको ‘साहस भएको एउटा मानिस आफैँमा बहुमत हो’ भन्ने उक्ति चरितार्थ भएको जस्तो लाग्छ । तर त्यो साहस राष्ट्रको समृद्धिका दिशामा अभिमुख होस् भन्ने जनचाहनालाई मूर्त रूप दिन नसक्नु समस्या हो ।
(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)