अन्यायविरुद्ध म्यानमारमा देखिएको नागरिक एकता

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

गत फेब्रुअरी १ मा भएको सैन्य कूपछि अधिनायकवादविरुद्ध म्यानमारका जनताले लामो लडाइँ लडिरहेका छन्। फाँसीवादको विरुद्धमा लामो समयदेखि लड्दै, दमित अल्पसंख्यकको पक्षमा लामो समयदेखि वकालत गर्दै आएको अभियन्ताका हिसाबले मलाई लाग्छ कि संहारकारी राजनीतिक ध्रवीकरण र हामीलाई दमन गर्ने सैन्य प्रयासविरुद्ध एउटा राष्ट्रका रूपमा अहिले हामी सबै एकै ठाउँमा उभिएका छौँ। 
फाँसीवादविरुद्धको क्रान्ति कस्तो थियो र कस्तो देखिनेवाला थियो भन्ने विषयमा सैन्य कूपछिका आठ महिनामा मेरो आफ्नै दृष्टिकोणमा परिवर्तन आएको छ। सन् २०१५ देखि २० सम्मको आङ साङ सुकी नेतृत्वको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को पाँचवर्षे शासनकालामा प्रजातान्त्रिक मूल्यमान्यता र मानवअधिकारका मापदण्डरूप्रति सरकारले गरेका उपेक्षा र जनजातिहरूको राष्ट्रियता रहेको क्षेत्रमा शान्ति, सुव्यवस्थाको वातावरण निर्माण गर्न उक्त सरकार असफल भएकाले मैले त्यसविरुद्ध आवाज बुलन्द गर्न कटीबद्ध भएर लागेँ। मैले त अझ एनएलडीलाई भारी मात्रामा विजयी बनाएको सन् २०२० को नोभेम्बरको निर्वाचनलाई पनि अस्वीकार गरेको थिएँ । 

जब कू भयो, सुरुमा म कसको पक्षमा उभिने भन्ने विषयमा दोधारमा परेँ। सेनाले सत्ता हत्याउना साथ बिथोलिनुका साथै म  क्रोधित भएको थिएँ। मैले पछिल्लो समय अल्पसंख्यक, राजनीतिक प्रतिपक्षी र अभियन्ताहरूमाथि एनएलडी सरकारले गरेको विभेदकारी व्यवहारलाई तत्काल बेवास्ता गरेर एनएलडीको पक्षमा उभिनुपर्छ भनेर सोच्न सकिनँ। तर, यो कू एनएलडी र सेनाबीचको राजनीतिक मुद्दा मात्र थिएन। अन्ततः मैले यो आममानिसहरूको भावना र चाहनालाई बलपूर्वक दमन गर्ने दुष्प्रयास भएकाले यसको प्रतिरोध गर्नैपर्छ भन्ने निर्णय लिएँ।

फेब्रुअरी ६ देखि सुरु भएको कूविरुद्धको प्रदर्शनदेखि मार्चको दोस्रो हप्तासम्म भएका विरोध प्रदर्शनहरूमा म सहभागी भएँ। त्यसपछि जुन्ता शासनले मेरो नाम गिरफ्तारी गर्नुपर्नेहरूको सूचीमा राख्यो र मेरो घर तथा कार्यालयमा छापा हान्यो । मेरो परिवार र म बल्लतल्ल उम्किन सफल भयौँ। हाम्रो जीवन खतरामा छ भन्ने थाहा पाएपछि मेरी श्रीमती र बच्चाहरूले देश छाडे र मैले जातीय सशस्त्र संगठनले नियन्त्रण गरेको क्षेत्रमा शरण लिएँ। 
एनएलडी शक्तिमा हुँदा अल्पसंख्यकको आत्मनिर्णय र अधिकारका पक्षमा उभिएकाले दुईपटकसम्म मुद्दा खेप्नुपरेकाले मैले मेरो देशमा शोषणमा परेका अल्पसंख्यकहरूलाई बुझेको छु भन्ने विश्वास मलाई थियो। तर, उनीहरूको गाउँमा बस्दै गर्दा मैले आममानिसका कथा व्यथा सुनेर उनीहरूको दैनन्दिनका संघर्षहरूलाई अझ गहिराइमा बुझ्ने मौका पाएँ र उनीहरूप्रतिको मेरो बुझाइ कति सतही रहेछ भन्ने महसुस पनि गरेँ। यद्यपि, गृहयुद्धबाट प्रभावित क्षेत्रमा सामान्य खेती किसानी गर्ने परिवारहरूको अवस्थाबारे मलाई सामान्य जानकारी भने थियो ।  त्यस्ता क्षेत्रहरूमा बच्चाहरू घण्टौँ हिँडेर विद्यालय जानुपर्ने बाध्यतामा हुन्छन्  र बिरामी हुँदा सामान्य क्लिनिकमा जान पनि दुई–चार दिन लाग्छ। युद्धले समुदायमा पारेको समग्र प्रभावलाई आफैँ त्यस क्षेत्रमा गएर अनुभव लिनेकाम निकै कठिन र अनुमान गरेको भन्दा ज्यादै भिन्न थियो।  

अल्पसंख्यकहरूले विगत लामो समयदेखि सैन्य शासनबाट दुर्व्यवहार भोग्दै आएको तथ्य बर्मेली बहुसंख्यकले अन्ततोगत्वा बुझेका छन्। 

सैन्य कू भएयता सैन्य सरकार र सशस्त्र विद्रोही समूहहरुबीचको देशैभरि भएको लडाइँबाट दुई लाख तीस हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । कतिपयले सेनाको हवाई तथा अत्याधुनिक हातहतियारद्वारा गरिएको आक्रमणलाई छल्दै भाग्दै गरेका छन्। मैले त्यस्ता झडपहरूलाई नजिकबाट देखेको छु। यसका साथै मैले आधारभूत आवश्यकता पूर्तिका लागि संघर्षरत मानिसहरूले भरिएका  विस्थापित शिविरहरूको अवलोकन पनि गरेको छु। यस्ता अभावहरू म्यानमारका जातीय अल्पसंख्यकहरूका लागि नौलो भने होइन। वास्तवमा, बर्मेली सेनाहरूले यस्ता समुदायमाथि दशकौँदेखि ज्यादती गर्दै आइरहेका छन्। उनीहरूले त्यस्ता समुदायमाथि लुटपाट गर्ने, उनीहरूको गाउँ नै जलाइदिने, मनपरि पक्राउ गर्ने जस्ता हर्कतहरू गर्दै आएका छन्। मलाई आश्रय दिनेहरूले बताएअनुसार अल्पसंख्यक जातीय समुदायहरूले बलिया घरहरू खासै बनाउँदैनन् किनभने उनीहरूलाई थाहा छ कि उनीहरू जुनसुकै वेला पनि भाग्नुपर्ने हुन्छ। 

विगत एक दशकभन्दा लामो समयदेखि अल्पसंख्यकको पक्षमा वकालत गर्दै आए पनि उनीहरू सँगसँगै बसेपछि मात्र मैले थाहा पाएँ कि सशस्त्र प्रतिरोध उनीहरूको एक मात्र विकल्प हो। जसरी मेरो दृष्टिकोणमा परिवर्तन आएको छ त्यसरी नै राष्ट्रिय प्रतिरोध आन्दोलनले पनि नयाँ दिशा लिएको छ। 
बहुसंख्यक बर्मेलीहरूको बसोबास रहेको मुख्य सहरका प्रदर्शनकारीहरूले सुरुवाती चरणमा सेनालाई निर्वाचनको परिणाम स्वीकार गर्न, सुकी र निर्वाचित अधिकारीहरूको रिहा गर्न र अविलम्ब संसद् बैठक बोलाउन माग गरेका थिए। तर, जब सेनाले सहरी जनतालाई आतंकित गर्न सुरु गर्यो, यसले अन्य अल्पसंख्यक समुदायमाथि गरिएको दमनलाई देख्न सक्ने गरी बहुसंख्यक जनताको आँखा खोलिदियो। परिणामत, प्रदर्शनकारीहरूले आफ्ना मागहरूलाई विस्तृत बनाए । 
रोहिंग्या समुदायजस्ता गैर–बर्मेली अल्पसंख्यकप्रति सेनाले गरेको ज्यादतीप्रति आफूहरूले सुरुवाती चरणमा बेवास्ता गरेको स्वीकार गर्दै अधिकांश बर्मेली बहुसंख्यकले आत्मालोचना गरे र अल्पसंख्यकहरूको न्यायका लागि आह्वान पनि गरे।  
जातीय सशस्त्र संगठनहरूले जब देश छाडेर भाग्दै गरेका असन्तुष्ट जमातलाई बचाउन र शासन सत्ताविरुद्ध जेहाद छेड्ने कार्यको नेतृत्व गरे, तब सहरी युवापंक्तिले अल्पसंख्यकहरूको राजनीतिक संघर्षलाई बुझ्ने मौका पाए। 

मार्च महिनाको अन्त्यसम्म आइपुग्दा मुख्य प्रतिरोधी समूहहरूले सेनाले बनाएको संविधानको खारेजी र सबैखाले जनजाति राष्ट्रियताहरूले लामो समयदेखि माग गर्दै आइरहेको अधिकारको प्रत्याभूतिसहितको संघीय लोकतन्त्रको स्थापनाका लागि जोडदार ढंगले आवाज उठाए। केही अपवादबाहेक बाँकी सबै मानिसहरूमा जुन्ता शासनलाई परास्त गर्ने एउटा मात्रै विकल्प सशस्त्र प्रतिरोध नै हो भन्ने बुझाइ बढ्दै गयो। त्यसैले, उनीहरूले जातीय सशस्त्र संगठनमा आबद्ध हुन सुरु गरे र नयाँ नागरिक प्रतिरक्षा बल र सहरी गुरिल्ला आन्दोलनहरू सुरु गरे। 

निर्वाचित सांसदहरू, अभियन्ता र निर्वासनमा रहेका नागरिक समाजका सदस्यहरूले जुन्टा सरकारविरुद्ध काम गर्नका लागि मे ५ मा राष्ट्रिय एकता सरकार (एनयुजी) को गठन गरे। एनयुजीले जनता प्रतिरक्षा बल को गठन गर्यो र सशस्त्र सर्घषमा होमिएका प्रतिरोधी समूहहरूलाई ‘सेन्ट्रल कमान्ड’अन्तर्गत ल्याउने घोषणा गर्यो। त्यसैगरी सेप्टेम्बर ७ मा एनयुजीले सैन्य जुन्टाविरुद्ध देशव्यापी रूपमा जनताको प्रतिरक्षा युद्धको घोषणा गर्यो। यसले ‘संघीयतासहितको शान्तिपूर्ण राष्ट्र निर्माणका लागि अनिवार्य क्रान्ति’मा सहभागी हुन देशभैरका नागरिकहरूलाई आग्रह पनि गर्यो ।  

यस्तो अवस्थामा अब हामीले हाम्रो क्रान्तिको यात्रामा एउटा कठिन मोडको सामना गर्नुपर्नेछ । र, म हामीले बर्मेली प्रतिरोधी समूह र जातीय राष्ट्रियताहरूबीच विश्वास र संवादलाई निरन्तरता दिन सकेनौँ भने आमजनताको सामर्थ्य र एकता खलबलिने त होइन भनेर चिन्तित छु। क्रान्ति सफल पार्नका लागि हामीले बर्मेली बहुसंख्यकलाई मात्र नभई देशभित्रका अन्य अल्पसंख्यकहरूको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने साझा लक्ष्य तय गर्ने प्रयासमा निरन्तर लाग्नुपर्छ। 

म्यानमारका विविध जातीय समुदायसँगको सम्बन्ध र संवादको निरन्तरता साथै गैरबर्मेलीहरूलाई नेतृत्वदायी भूमिका प्रदान गर्न एनयुजीले आफ्नो सबै शक्ति लगाउनुपर्छ । र, जनता प्रतिरक्षा बल जातीय सशस्त्र संगठनहरूसँग उनीहरूको राजनीतिक लक्ष्यप्रति पूर्ण प्रतिबद्ध भई जोडिनुपर्छ । यसका साथै, रोहिंग्या समुदायजस्ता विगतका सरकारहरूद्वारा शोषण र दमनमा पारिएका र अमानवीय व्यवहार गरिएका अन्य अल्पसंख्यक समुदायहरूप्रति राष्ट्रिय रूपमा क्षमा माग्ने प्रक्रिया सुरु गर्न पनि  एनयुजीले तत्परता देखाउन जरुरी छ।  
स्वतन्त्रता, न्याय र समानतामा आधारित नयाँ संघीय लोकतन्त्रको निर्माण गर्न बर्मेली बहुसंख्यकले एउटा समावेशी ‘प्लाटफर्म’ बनाउनुपर्छ र सबै जातीय समुदायसँग मिलेर अघि बढ्नुपर्छ। 

(मानवअधिकारकर्मी थेत स्वे विनको अलजजिरामा प्रकाशित लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्। )

सुझावित समाचार