औषधिको विवेकपूर्ण या चिकित्सकीय परामर्शअनुरूप प्रयोग गर्नुपर्नेमा त्यसको बेवास्ता गर्दा यहाँ औषधि खान नपाएर भन्दा औषधि खाएर मर्ने वा शरीरमा नकारात्मक असर पर्नेहरूको संख्या बढी छ
भनिन्छ, थोरै खाए अमृत, धेरै खाए विष । हरेक चिजलाई सही तरिकाले प्रयोग गर्न सके अमृत समान हुन्छ, विवेकपूर्ण प्रयोग गर्न नसकिए विष नबन्ला भन्न सकिन्न ।
हामी सबैले बुझेको विषय हो– औषधिविना उपचार सम्भव छैन । यही उपचार गर्ने औषधिसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् ‘फर्मासिस्ट’ अर्थात् औषधिविज्ञ । स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवं संवेदनशील क्षेत्र हो फार्मेसी, तर विडम्बना नेपालमा यस्तो हुन सकेन । कानुन छ, तर कारबाही हुँदैन । भनिन्छ नि, नेपालको कानुन दैवले जानून् । नियम बन्छ, तर कार्यान्वयन हुँदैन । जे बन्छ, त्यो कागजमा मात्र सीमित हुन्छ । सबै क्षेत्र अस्तव्यस्त भएपछि कसरी हुन्छ विकास ? यसको जिम्मेवार को ? कसले गरिदिने यिनको अनुगमन ? अनि टाउकामा हात राखेर भन्न बाध्य बनाइन्छ, बिग्रिएको घरको भत्किएको चाला ।
विभिन्न अध्ययनलाई हेर्ने हो भने यहाँ औषधि खान नपाएरभन्दा औषधि खाएर मर्ने वा शरीरमा नकारात्मक असर पर्नेहरूको संख्या बढी पाइन्छ । कारण, औषधिको विवेकपूर्ण प्रयोग नहुनु, विनाचिकित्सकीय परामर्श प्रयोग गरिनु नै हो । आमजनमानसमा पैसा तिरेर औषधि किनेर खान पाउनु आफ्नो अधिकार हो भन्ने भ्रम पाइन्छ । परिणामस्वरूप चिकित्सकको सल्लाहविनै औषधिको खोल देखाएर, नाम भनेर, मोबाइलमा म्यासेज वा फोटो देखाएर फार्मेसीमा औषधि लिन आउनेको संख्या उल्लेख्य पाइन्छ । उनीहरूसँग चिकित्सकको पूर्ण सिफारिस नहुँदा सो औषधिको प्रयोग बिरामीका लागि आवश्यक हो वा होइन भन्ने नै सुनिश्चित हुँदैन ।
यति मात्र नभई प्रेस्क्रिप्सनविना बिक्री–वितरण गर्न नहुने कानुनी प्रावधानलाई अवलम्बन गर्दै विनाप्रेस्क्रिप्सन बिक्री–वितरण नगर्दा औषधि क्रेता झर्किने, झगडा गर्न तम्सिने तथा ‘मैले मागेपछि दिनोस् न, के फरक पर्छ ? औषधि मेरा लागि हो, मैले खाने हो, तपाईंलाई के मतलब ! असर गर्छ त मलाई गर्छ’ भन्नेजस्ता तर्क पेस गर्दै औषधि व्यवसायीलाई नै अप्ठ्यारो पार्ने किसिमका अभिव्यक्ति राख्नेहरू पनि हुन्छन् ।
अझ भनौँ, कतिपय बिरामी या तिनका आफन्त स्वास्थ्यकर्मीको सल्लाह लिन खोज्दैनन् वा दिएका सुझाबलाई समेत बेवास्ता गर्छन् । जसका कारण आफ्नो स्वास्थ्यलाई जोखिममा पारिरहेका हुन्छन् । हामी चिकित्सकको सल्लाहबिनै आफूखुसी वा हचुवाका भरमा औषधि प्रयोग गर्छाैं । आफ्नो घर वा छिमेकको व्यक्तिलाई बिरामी पर्दा ल्याएको औषधि आफूलाई पनि त्यस्तै समस्या भएको त हो नि, किन जँचाउनुप¥यो, अनि किन सल्लाह लिइराख्नुप¥यो भन्छौँ र प्रयोग गर्छौं । त्यो औषधि आफूले प्रयोग गर्नुहुन्छ कि हुँदैन, त्यसको प्रयोगले आफ्नो स्वास्थ्यमा नराम्रो असर पो गर्छ कि ? भन्नेजस्ता कुरामा खासै ध्यान दिँदैनौँ । जसका कारण हाम्रो शरीरमा सामान्यदेखि जटिल समस्यासमेत नआउला भन्न सकिँदैन ।
अनावश्यक एन्टिबायोटिकको प्रयोग गर्नु, औषधि पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नुजस्ता विभिन्न कारणले दिन–प्रतिदिन औषधिले काम गर्न छाड्ने नेपाललगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ ।
बच्चा जन्मेदेखि नै हाई डोजको एन्टिबायोटिक्स प्रयोग गर्ने त संस्कार नै बनिसकेको छ । ‘मेरो बच्चालाई एन्टिबायोटिक नचलाई सन्चै हुँदैन, प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? आमा–बाबुलाई थाहै छैन । औषधिको अन्धाधुन्ध प्रयोग गर्दै जाने हो भने औषधिले बिस्तारै काम गर्न छाड्दै जाने र नयाँ प्रभावकारी औषधि बन्न नसकेको खण्डमा स्वास्थ्य क्षेत्रमा संकटकाल नआउला भन्न सकिँदैन । यसतर्फ फर्मासिस्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी, उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ ।
विनादर्ता फार्मेसी सञ्चालन गरिनु, दर्ता भएकाको पनि आफ्नो लाइसेन्स नहुनु, औषधि बिक्री–वितरण गर्दा फर्मासिस्ट उपस्थित नहुनुजस्ता थुप्रै अवैधानिक गतिविधि सञ्चालन भइराख्दा र विभिन्न कानुन हुँदाहुँदै समेत औषधि व्यवस्थाको जिम्मेवारी लिएर बसेको औषधि व्यवस्था विभाग ‘म पिटेझैँ गर्छु, तँ रोएझैँ गर् भनेजस्तै गरेर बसेको छ । यो लाचारीपन कहिलेसम्म हाबी रहने ? फार्मेसीलगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस् ।
औषधिको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्यजस्ता कुरा भुल्नु हुँदैन । उपचारका क्रममा हरेक औषधिको आ–आफ्नै सेवन तथा प्रयोग विधि हुन्छन्, तर विडम्बना ! त्यो औषधि कतिवेला, कसका लागि, कति मात्रामा, कसरी सेवन गर्ने भन्नेजस्ता स्तरीय निर्देशनलाई समेत पालना नगरी आ–आफ्नै तरिकाले जसरी मन लाग्यो, त्यसैगरी प्रयोग गर्ने परिपाटी बढ्दै गएको पाइन्छ । जसको प्ररिणामस्वरूप स्वास्थ्य क्षेत्रमै ठूलो संकट नआउला भन्न सकिन्नँ । त्यसकारण औषधिको सही र विवेकपूर्ण प्रयोगतर्फ सम्बन्धित सम्पूर्ण निकायले समयमै ध्यान पुर्याउनु जरुरी छ । (पाठक भरतपुर केन्द्रीय अस्पतालको फार्मेसीमा कार्यरत छन्)