फर्किइन् एमसिसी उपाध्यक्ष सुमार - ‘समयको आकस्मिकता बुझिदिनुस्’

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

 मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को कम्प्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष फातिमा जेड सुमारले यथाशीघ्र एमसिसी सम्झौता संसद्बाट पारित हुनुपर्ने बताएकी छिन् । चारदिने नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलनमा सुमारले ‘समयको आकस्मिकता’ बुझेर तत्काल संसद्बाट पारित गर्ने प्रक्रियामा जान नेपाल सरकारलाई सुझाब दिइन् । 

‘मैले शीर्ष नेताहरूलाई स्पष्ट रूपमा भनेकी छु कि समयको आकस्मिकतालाई बुझिदिनुस्, म एमसिसी कार्यान्वयनका लागि दबाब दिन आएकी होइन, वास्तविकता बुझाउन आएकी हुँ,’ सुमारले भनिन्, ‘सरकारले चाहेको हो भने एमसिसी अघि बढाओस् । हाम्रा लागि होइन, नेपाली जनताका लागि नेपालले यो परियोजनामा कुर्नुपर्ने कारण छैन ।’ प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेता, सांसद, व्यापारी, नागरिक समाजका सदस्य तथा महिला सांसदसँग छलफल गर्दा एमसिसी पारित हुनेमा आफू विश्वस्त रहेको बताइन् । 

सुमारले आफू राजनीतिक व्यक्ति नभएको र सरकारलाई दबाब दिन वा समय तोक्न नआएको प्रस्ट पार्दै महामारीको समयमा पाएको सहायतालाई नेपालले गुमाउन नहुने सुझाब दिइन् । उनले भनिन्, ‘नेपालले महामारीको यो समयमा पाएको आर्थिक विकासको अवसरलाई नगुमाओेस् भन्न आएकी हुँ । हरेक पक्षसँग भएका छलफलबाट उत्साहित भएकी छु ।’

नेपालमा एमसिसीबारे गलत सूचना फैलिएको भन्दै उनले आफ्नो चारदिने बसाइमा भ्रम निवारण गर्ने प्रयास गरेको उल्लेख गरिन् । ‘मैले सबैलाई यसबारेको भ्रम चिर्ने प्रयास गरेँ । सबै पक्षले एमसिसीलाई नेपालको रुचि मात्र नभएर आर्थिक विकासको अवसरका रूपमा लिएको बताउनुभएको छ,’ सहायताबारे स्पष्ट भइसकेपछि त्यसलाई अगाडि बढाउन ढिला गर्न नहुने बताउँदै सुमारले भनिन्, ‘मैले शीर्ष नेताहरूलाई ‘मेसेज अफ अर्जेन्सी’ बताएँ । यो ‘अर्जेन्सी’ हाम्रा लागि होइन, नेपालका लागि हो ।’ 

सम्झौतामा हस्ताक्षर भएको चार वर्षमा पनि एमसिसी अघि नबढ्दा रोजगारी, विकास र सुरक्षित सडकका लागि नेपाली जनताको आकांक्षामा असर परेको उनको भनाइ थियो । ‘म आशावादी छु किनभने यो तपाईंहरूको भविष्य हो, जनताको जीवन हो भनेका छौँ,’ सुमारले भनिन्, ‘यो आर्थिक सहायता होइन, सहायतामा स्वार्थ हुन्छ । एमसिसी आर्थिक सहायता होइन, जनताको जीवन हो ।’ उनले एमसिसीमा सैन्य पक्ष शून्य रहेको, नेपालको संविधानभन्दा माथि नरहेको पनि बताइन् । उनले भनिन्, ‘यति मात्र होइन, एमसिसीले सरकारले भनेअनुसार काम गर्छ । एमसिए नेपालले परियोजना कार्यान्वयन गर्छ ।’ 

 एमसिसी  पारित नभए के हुन्छ ? 
पत्रकार सम्मेलनमा निकै भावनात्मक रूपमा प्रस्तुत भएकी सुमारलाई सञ्चारकर्मीले एमसिसी पारित नभए नेपाल–अमेरिका सम्बन्धमा के असर गर्छ भनी प्रश्न गरे । त्यसमा सुमारले निकै परिपक्व जवाफ दिँदै ७० वर्ष पुरानो नेपाल–अमेरिका सम्बन्धको आधार एमसिसी मात्र नभएको बताइन् । ‘साझा मूल्यमा आधारित हामीबीच विशेष साझेदारी रहँदै आएको छ,’ सुमारले भनिन्, ‘हाम्रो ऐतिहासिक र विशेष सम्बन्धको ७० वर्षमा एमसिसी समग्र सम्बन्धको एउटा पाटो मात्रै हो । एमसिसी पारित नभए पनि हाम्रो साझा मूल्यमा आधारित सम्बन्धमा फरक पर्दैन ।’ 

बिहीबार युरोप, एसिया–प्रशान्त तथा ल्याटिन अमेरिका हेर्ने डेपुटी उपाध्यक्ष जोनाथन बु्रक्ससहित आएकी सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जसपा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर तथा नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारी, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाललाई भेटिन्् । नेपाल सरकारले एमसिसी मुख्यालयलाई पठाएको एघारबुँदे प्रश्नको जवाफ दिएको भोलिपल्ट उनी काठमाडौं ओर्लिएकी थिइन् ।

सुझावित समाचार