९/११ को प्रत्येक वर्षगाँठले अमेरिकामा स्वतन्त्रता र सुरक्षाबीच सन्तुलन कसरी गर्ने भन्ने बहसको सिर्जना गर्छ । तर, ती बहसहरूमा धार्मिक अल्पसंख्यकहरूको नागरिक स्वतन्त्रतामा बाधा पार्न नश्लले खेल्ने भूमिकाबारे विमर्शको सधैँ अभाव खट्कने गरेको छ । अहिले मुस्लिमहरू निसानामा छन् । एक शताब्दीअघि यहुदी र क्याथोलिकहरू निसानामा पर्ने गर्थे ।
नश्लीयकरणको लिपि अहिले पनि उस्तै छ । पहिलो, धार्मिक अल्पसंख्यकलाई सञ्चारमाध्यमहरूमा र सरकारी कर्मचारीका बीच बेइमान पाँचौँ स्तम्भको रूपमा बदनाम गरिएको छ । एंग्लो सेक्सन प्रोटेस्टेन्ट अमेरिकी जीवनशैलीका लागि खतराका रूपमा धार्मिक अनुयायीहरूलाई प्रतिबिम्बित गरिएको छ । र अन्तमा, राजनीतिक विचारधाराका रूपमा पुनःनामकरण गरेर धर्मलाई धर्मको परिधिबाट निष्कासित गरिएको छ ।
पछिल्लो दुई दशकमा सञ्चारमाध्यमहरूले मुस्लिमलाई आतंककारीका रूपमा चित्रण गरेकाले अमेरिकीहरू प्रलयको दिन आउँछ भनेर विश्वास गर्न विवश छन् । मुस्लिम डाक्टर, शिक्षक, व्यवसायी, वकिल र अन्य कामदारहरूले अमेरिकी समाजलाई गरेको योगदानबारे समाचार लेख्ने तथा व्याख्या गर्ने सञ्चारमाध्यमहरू नगण्य छन् । वास्तवमा अलाबामा विश्वविद्यालयले सन् २०१८ मा गरेको एक अध्ययनले अमेरिकामा सन् २००६ देखि २०१५ सम्म गैरमुस्लिमद्वारा गराइएका आतंकवादी हमलाको तुलनामा मुस्मिलहरूद्वारा गराइएका आतंकवादी हमलालाई सञ्चारमाध्यमहरूले तीन सय ५७ प्रतिशत कभर गरेका थिए ।
राजनीतिज्ञहरूले मुस्लिम समुदायको कडा निगरानी, निर्वासन तथा अभियोजन गर्ने अधिकार दिएर सञ्चारमाध्यमहरूले गरेको मुस्लिमहरूको बदनामी तथा अपमानलाई वैधानिकता दिएका छन् । बुस प्रशासनको ‘नेसनल सेक्युरिटी इन्ट्री–एक्जिट सिस्टम’द्वारा गरिएको विशेष पञ्जीकरण होस् वा ओबामा प्रशासनको ‘भायोलेन्ट एक्स्ट्रिमिज्म’ कार्यक्रमका माध्यमबाट होस्, रिपब्लिकन र डेमोक्रेटिक दुवै प्रशासनले अमेरिकी जनतालाई एउटै सन्देश दिएका छन्–मुस्लिमहरू अमेरिकाको आन्तरिक सुरक्षा चुनौती हुन् ।
डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय अभियानका दौरान जेनोफोबिया (विदेशीदेखि डराउने) र ‘इस्लामोफोबिया’लाई नै पछ्याएको देखिन्छ । सन् २०१६ को मार्चमा उनले घोषणा नै गरे कि ‘मलाई लाग्छ इस्लामले हामीलाई घृणा गर्छ... यहाँ एक जबरजस्त घृणा छ । त्यसैले हामी निकै सजग र सावधान हुन जरुरी छ ।
हामी अमेरिका र गैरमुस्लिमहरूप्रति घृणाको भाव भएका मानिसहरूलाई अमेरिका आउन दिन सक्दैनौँ ।’ त्यसपछि २०१७ को जनवरीमा ह्वाइटहाउस आउनेबित्तिकै ट्रम्पले राष्ट्रपतीय अभियानमा गरेको वाचालाई तुरुन्तै कार्यान्वयन गरे र मुस्लिममाथि प्रतिबन्ध लगाए । धार्मिक स्वतन्त्रतालाई एक आधारभूत मूल्य भएको झ्याली पिट्ने समाजमा मुस्लिमहरूका विरुद्धमा हुने भेदभावको समर्थन हुनु विरोधाभास त हो नै, यसका अलावा धार्मिक अल्पसंख्यकलाई नश्लीय समूहका रूपमा व्यवहार गरिन्छ भने त्यस्तो दुव्र्यवहारले अश्वेत अमेरिकी, अमेरिकी आदिवासी र अन्य नश्लीय अल्पसंख्यकप्रतिको भेदभावलाई पनि यसले उजागर गर्छ ।
मेरो पुस्तक ‘दी रेसियल मुस्लिम : ह्वेन रेसिजम क्वासेज रिलिजियस फ्रिडम’मा उल्लेख गरे जस्तै नश्लवाद भौतिक स्वरूपमा मात्र सञ्चालित हुँदैन । धार्मिक पहिचान पनि विभेदीकरणको कारक बन्न सक्छ । तर, अमेरिकामा श्वेतपन र क्रिस्चियानिटी (प्रोटेस्टेन्ट) बीचको सम्बन्धले गैरप्रोटेस्टेन्ट कित्ता र धर्मका अनुयायीहरूलाई ऐतिहासिक रूपमा नश्लीयकरण गरेको छ । एउटा समूह जति श्वेतपन र प्रोटेस्टेन्टवादबाट टाढा जान्छ, त्यसलाई उति नै कम विशेषाधिकार प्रदान छ ।
विगत २० वर्षदेखि अमेरिकामा मुस्लिमहरूको प्रणालीगत रूपमा नश्लीयकरण गरिएको छ र तिनीहरूको नागरिक स्वतन्त्रतामाथि अंकुश लगाइएको छ
त्यसैले जब सन् १८८० र १९२४ को बीचमा दक्षिणी र पूर्वी युरोपियन आप्रवासीहरू दशौँ लाखको संख्यामा अमेरिका प्रवेश गरे, तब तिनीहरूले आफूहरूलाई नश्लीय अनिश्चितताको स्थितिमा पाए । त्यसरी जाने यहुदी र क्याथोलिकहरूले आजन्म श्वेत भए पनि आफूहरूलाई उत्तर युरोपियन प्रोटेस्टेन्टहरूभन्दा तल्लो र अश्वेत, आदिवासी अमेरिकी र एसियनहरूभन्दा माथिल्लो तहको अर्थात् सामाजिक रूपमा ‘बिचोबीच’को नश्लमा परिणत भएको पाए ।
सन् १९२० को दशकमा आएकोे ‘क्लु क्लक्स क्लान’ नामक शक्तिशाली कानुनले क्याथोलिकहरूको विद्यालय, विदेशमा जन्मिएका पादरी र वैदेशिक भाषामा गरिने सेवाले एंग्लो–प्रोटेस्टेन्ट राष्ट्रिय पहिचानलाई चुनौती दिएको भन्दै क्याथोलिकहरूको निन्दा गर्यो । केवल आफ्नो धर्मको अभ्यासले प्रोटेस्टेन्टहरूमा क्याथोलिकहरू व्याक्तिगत स्वतन्त्रता समाप्त पार्ने षड्यन्त्र गरिरहेका छन् भन्ने शंका पैदा गर्यो । श्वेत रैथानेवादीहरूले रोमन क्याथोलिक चर्चले दिएको शिक्षा उदारवादको स्व–शासनको सिद्धान्तसँग असंगत रहेकाले त्यस्तो शिक्षा अमेरिकी प्रजातन्त्रका लागि खतरा भएको आरोप लगाए । यस्ता षड्यन्त्र सिद्धान्तहरू ९/११ पछि मुस्लिमहरूलाई निसाना बनाएर उत्पत्ति भएका ‘सरिया’विरुद्धको अभियानहरूमा प्रतिबिम्बित हुन्छन् ।
अहिले ‘इस्लामोफोबिया’ भए जस्तै विगतमा खुला ‘एन्टि–सेमिटिजम्’ पनि मूलप्रवाहमा थियो । बीसौँ शताब्दीको सुरुवाततिर सञ्चारमाध्यमहरूले यहुदीहरूलाई वंशवादी, विखण्डनकारी, पराश्रयी, सन्की, वक्रगामी र बोल्सेभिकवादका प्यादा भनेर वर्णन गरे । सन् १९२० को दशकमा जब यहुदीको जनसंख्या ३० लाखभन्दा बढीको हाराहारीमा पुग्यो, तब श्वेत प्रोटेस्टेन्ट रैथानेवादीहरूले यहुदीहरू ‘जुडाइज्ड मंगोलहरू’ र ‘टर्की मूलका खजार’ हुन् भनेर धर्मशास्त्रमा आधारित नश्लवादको बीज रोपिदिए ।
यहुदीहरूलाई उभ्रिएका आँखा, फैलिएका कामुक ओठ, झुकेको नाक र जनावरको जस्तो च्यापु भएको भनेर सञ्चारमाध्यमहरूले अतिरञ्जित ढंगले चित्रण गर्नु बीसौँ शताब्दीको मध्यसम्म आम थियो । सन् १९३८ सम्म आइपुग्दा यहुदीहरूको नश्लीयकरणले युरोपमा यहुदीहरूमाथि भइरहेको उत्पीडनको कारण उनीहरू आफैँ हुन् भन्नेमा ५४ प्रतिशत अमेरिकी विश्वास गर्थे ।
२०१७ मा आइपुग्दा निकै तीव्र गतिमा आठ दशक बितेको छ । प्यु रिसर्च सर्वेक्षणका अनुसार अहिले करिब ५० प्रतिशत अमेरिकीले मुस्लिमहरू मूलधारको अमेरिकाको अंग होइनन् भन्नेमा विश्वास गर्छन् भने करिब ४८ प्रतिशतले मात्र मुस्लिमप्रति सहृदयता प्रस्तुत गर्छन् ।
मुस्लिमहरूको नश्लकृत पहिचान र क्रिस्चियानिटीको नाममा भएका ऐतिहासिक हिंसाका बाबजुद शान्ति, सभ्यता, दान तथा क्षमासहित क्रिस्चियानिटीसँग जोडिएका अमेरिकीहरूबीच निकै कठोर भिन्नता छ । क्रिस्चियानिटीलाई सामान्य व्यवहार गरिन्छ, तर इस्लामलाई खतराका रूपमा चित्रण गरिन्छ । इस्लामको त्यस्तो चित्रण मुस्लिमविरुद्धको प्रणालीगत विभेदलाई वैधानिकता प्रदान गर्ने एक तेस्रो कारणबाट सुरु हुन्छ, इस्लामलाई एक हिंस्रक राजनीतिक विचारधारमा वर्गीकरण ।
बर्सेनि गरिने सुरक्षा तथा स्वतन्त्रताका यस्ता बहसमा धर्मको नश्लीयकरणले विशेषगरी मुस्लिमहरूलाई कसरी हानि पु¥याउँछ र धार्मिक स्वतन्त्रतालाई कसरी नामेट पार्छ भन्ने विषयलाई समावेश गरौँ । यसो हुँदा मात्रै हामी अमेरिकी इस्लामोफोबियाको अन्त्य गर्न सक्छौँ ।
(अलजजिराबाट)